दार्जिलिङ, ६ फरवरी: चलिरहेको अन्तरिम बजेट सत्रमा पनि गोर्खाहरूले न्याय नपाउने स्पष्ट रहेको बताउँदै हाम्रो पार्टीका अध्यक्ष अजय एड्वार्डसले भाजपाले गोर्खाहरूलाई लिएर गरेका सङ्कल्पहरू हावा मिठाई भएको उल्लेख गरे। “केन्द्रमा भाजपा गठबन्धनसरकारको पाँच वर्षको कार्यकाल पूरा हुन केही दिन मात्र बाँकी छ। हालै केन्द्र सरकारले अन्तरिम बजेट संसदमा पेश गर्यो, यो सत्र समाप्त हुन अब केवल तीन दिन बाँकी छ। बितेको १५ वर्षदेखि भाजपामाथि आस्था र भरोसा गर्दैआएका पहाडबासी केन्द्रको भाजपा सरकारले यसपटक गोर्खाहरूलाई न्याय दिनेछ भन्ने आशामा बसेका थिए, तर यसचोटि पनि गोर्खाहरूले न्याय नपाउने स्पष्ट छ”, हाम्रो पार्टी प्रमुख एड्वार्डसले भने।
अबको बाँकी तीन दिनभित्र गोर्खाहरूलाई लिएर कुनै पनि बील पेश हुने सम्भावना नरहेको उनले बताए। यसलाई उनले अत्यन्तै दुखद् भनेका छन्। विगतका चुनाउहरूमा भाजपाका शीर्ष नेताहरूले पहाडबासी गोर्खालाई ठूल्ठूला सपना देखाएको, स्थायी राजनीतिक समाधान गरिदिने र छुटेका ११ जात-गोष्ठीलाई जनजातिको दर्जा दिने वाचा गरेको, चिया श्रमिकहरूको निम्ति न्यूनतम ज्याला पारित गरी लागू गर्ने वचन उनीहरूको ‘सङ्कल्प पत्र’ (चुनाउ घोषणा-पत्र) मार्फत दिएको तर केन्द्रमा उनीहरूको बहुमतको सरकार हुँहाहुँदै पनि आफ्नो वचन पूरा नगरेको हाम्रो पार्टीको आरोप छ। “तीनपटक गोर्खाहरूको भोटमा उनीहरूको उम्मेद्वारले जितेर सांसद बनी सरकारमा पुगेको भए तापनि यतिञ्जेल गोर्खाहरूको निम्ति केही नगर्नु दुर्भाग्यपूर्ण हो”, हाम्रो पार्टी प्रमुख एड्वार्डसले यस्तो आशय व्यक्त गरेका छन्।
हाम्रो पार्टी अध्यक्ष अजय एड्वार्डसले २००७ मा केन्द्रमा रहेको तत्कालीन कङ्ग्रेस गठबन्धन सरकार कालमा छैटौँ अनुसूचीको बील स्मरण गरे। तीन-तीनजना सांसद दिइसक्दा पनि भाजपाले तिनीहरूको वाचा पूरा नगरेकोमा उनले भाजपाको सङ्कल्पलाई ‘हावा मिठाई’ भनेर औंल्याए।