भारतीय जनता पार्टीकी सांसद तथा अभिनेत्री कंगना रनौतले किसान आन्दोलनबारे दिएको अभिव्यक्तिबाट पार्टीले आफूलाई अलग गरेको छ।
भाजपाले कंगना रनौतलाई कडा निर्देशन दिँदै भविष्यमा यस्तो अभिव्यक्ति नदिन पनि चेतावनी दिएको छ। ‘किसान आन्दोलनबारे भाजपा सांसद रनौतले दिएको बयान पार्टीको विचार होइन,’ भाजपाको केन्द्रीय मिडिया विभागले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ।
‘भाजपा रनौतको भनाइसँग असहमति व्यक्त गर्दछ। रनौतलाई न त पार्टीको नीतिगत मुद्दामा बोल्ने अनुमति छ न त अधिकार नै छ,’ विज्ञप्तिमा भनिएको छ। पार्टीले अभिनेत्रीलाई भविष्यमा त्यस्तो कुनै पनि अभिव्यक्ति नदिन निर्देशन दिएको बताइएको छ।
तीनवटा कृषि कानुनलाई लिएर किसान आन्दोलनका क्रममा कंगना रनौतले बोलेका कुराहरूलाई लिएर विवाद भएको थियो। हालैको एक अन्तर्वार्तामा किसान आन्दोलनमाथि प्रश्न उठाउँदै उनले शीर्ष नेतृत्व बलियो नभएको भए किसान आन्दोलनका क्रममा पन्जाब बंगलादेशमा परिणत हुने बताएकी थिइन्।