कालेबुङ, ३१ अगस्ट: कालेबुङमा लगातार रूपमा नाबालिगमाथि यौन दुर्व्यवहारका घटनाहरू अघि आएपछि जिल्लाको माहौल तनावग्रस्त बनेको छ। नागरिक समाजले छोरीचेलीको सुरक्षाका लागि सडकमा आवाज उठाउँदै गर्दा, नाबालिगहरूको एक समूहले समाजमा उनीहरूलाई हेर्ने दृष्टिकोणमा परिवर्तनको आवश्यकता रहेको बताएको छ।
पत्रकारद्वारा सोधिएको प्रश्नमा ती नाबालिगहरूले भने, “छोटो लुगा लगायो भन्दैमा मानिसहरूले गलत विचारले हेर्नु गलत हो। यो सोचाइमा परिवर्तन ल्याउन जरुरी छ।” हालैका यौन दुर्व्यवहारका घटनाहरूले उनीहरूको दिनचर्यामा भय र असुरक्षा थपेको बताउँदै ती किशोरीहरूले घरबाट बाहिर निस्कन समेत डर लागेको बताए।
“अहिले बजारमा एक्लै जानुपर्दा हामी डराएर हिँड्नुपर्छ। हाम्रा अभिभावक पनि चिन्तामा रहन्छन्, र हामीलाई हरेक मानिस शंकाको नजरले हेरिरहेको जस्तो लाग्छ,” उनीहरूले भने। “आफ्नै केटा साथीहरू प्रति पनि शंका लाग्न थालेको छ। समाजले हामीलाई मानसिक रूपले प्रताडित बनाइरहेको छ,” उनीहरूले थपे।
उनीहरूको भनाइमा समाजमा छोरीचेलीहरूको सुरक्षाका लागि सबैभन्दा पहिला दृष्टिकोण परिवर्तन हुनुपर्नेछ। “जबसम्म हामीलाई गलत दृष्टिकोणबाट हेरिन्छ, तबसम्म हामी सुरक्षित महसुस गर्नेछैनौँ। लुगा लगाउने तरिकाको आधारमा गलत धारणाले हाम्रो अस्तित्वलाई नै खतरामा पार्छ,” नाबालिगहरूले जोड दिए।
नागरिक समाजले पनि यस कुरामा जोड दिँदै छ कि महिलाहरूको सुरक्षाका लागि समाजको सोचाइमा परिवर्तन आउन आवश्यक छ।