कालेबुङमा बलात्कार विरोधी सचेतना जुलुस सम्पन्न

कालेबुङ, ३० अगस्ट: कालेबुङमा बलात्कारका घटनाहरूको विरोधमा जनकल्याण समितिको पहलमा सचेतना जुलुसको आयोजना भएको छ। यस जुलुसमा शिक्षक, विद्यार्थी, युवा जमात तथा विभिन्न सङ्घ-संस्थाका प्रतिनिधिहरूको व्यापक सहभागिता देखिएको थियो।

जुलुस डम्बर चोकबाट सुरु भएर १० माइल फाटक हुँदै कालेबुङ सहर परिक्रमा गरी कालेबुङ थानामा पुगेर समापन भयो। समापनको क्रममा थानामा नागरिक सुरक्षाका लागि विभिन्न मागहरूसहित एउटा ज्ञापनपत्र प्रस्तुत गरिएको थियो।

 

जुलुसले समाजमा महिलाहरू र नाबालिगहरूको सुरक्षा सुनिश्चित गर्नुपर्ने विषयलाई गम्भीर रूपमा उठायो। साथै, हाल कालेबुङ जिल्ला अदालतको पोक्सो सेलमा चलिरहेको एउटा महत्त्वपूर्ण मुद्दामा दोषीलाई कडा सजायको माग पनि गरिएको छ।

समितिका सभापति हेम्कान्त भण्डारीका अनुसार, कालेबुङमा पोक्सो मामिलाहरूको सङ्ख्या बढ्दै गएकोले समाज सचेत हुन र कानुनी प्रक्रियालाई बलियो बनाउन माग गर्दै यो जुलुसको आयोजना गरिएको हो। हालै मात्र ९ वर्षीय नाबालिगमाथि भएको यौन दुर्व्यवहारको मामिलामा पनि दोषीलाई कडा सजाय दिनुपर्ने माग राखिएको छ।

समितिले आगामी दिनमा यस्ता गतिविधिहरूलाई निरन्तरता दिँदै महिला सुरक्षाका लागि बलियो कदम चाल्न आग्रह गरेको छ।

परिचय

Leave a Reply

Your email address will not be published. Required fields are marked *