कोहिमा, गान्तोक, मुम्बई महिलाहरूका लागि सुरक्षित शहर; पटना, जयपुर सबैभन्दा असुरक्षित : नारी इन्डेक्स २०२५

गान्तोक, ३१ अगस्ट: कोहिमा, विशाखापट्टनम, भुवनेश्वर, ऐजवल, गान्तोक, ईटानगर र मुम्बई महिलाका लागि देशका सबैभन्दा सुरक्षित शहरका रूपमा पाइएका छन् भने पटना, जयपुर, फरीदाबाद, दिल्ली, कोलकाता, श्रीनगर र राँची सबैभन्दा असुरक्षित पाइएका छन्। यो विवरण नारी २०२५ नामक महिला सुरक्षा सूचकाङ्क र वार्षिक प्रतिवेदनमार्फत सार्वजनिक गरिएको हो।

२८ अगस्ट २०२५ मा सार्वजनिक गरिएको सूचकाङ्कअन्तर्गत ३१ शहरका १२,७७० महिलामाथि गरिएको सर्वेक्षणमा देशको समग्र सुरक्षा स्तर ६५ प्रतिशतमा राखिएको छ। शीर्ष स्थानमा परेका शहरहरूमा लैङ्गिक समानता, नागरिक सहभागिता, प्रभावकारी सुरक्षा व्यवस्था र महिला–मैत्री पूर्वाधार बलियो रहेको पाइयो भने तल परेका शहरहरूमा कमजोर संस्थागत प्रतिक्रिया, परम्परागत पितृसत्तात्मक सोच र पूर्वाधार अभावलाई मुख्य कारण देखाइएको छ।

प्रतिवेदनअनुसार १० महिलामध्ये ६ ले आफ्नो शहरमा सुरक्षित महसुस गर्छन् भने ४० प्रतिशतले आफूलाई असुरक्षित वा कम सुरक्षित महसुस गर्ने पाइएको छ। विशेषगरी रातको समयमा सार्वजनिक यातायात र मनोरञ्जनस्थलमा सुरक्षा अनुभूति निकै कम हुने देखियो। शैक्षिक संस्थाहरू दिनको समयमा सुरक्षित मानिए पनि रातमा वा क्याम्पसबाहिर अवस्था फरक देखिएको हो।

कार्यस्थलको सन्दर्भमा ९१ प्रतिशत महिलाले आफू सुरक्षित महसुस गरे पनि आधाभन्दा बढीलाई आफ्नो कार्यस्थलमा यौन उत्पीडन विरुद्धको नीति बारे स्पष्ट जानकारी थिएन। केवल एक चौथाई महिलाले मात्र उजुरीमा अधिकारले प्रभावकारी कारबाही गर्छ भन्ने विश्वास गरेको देखियो।

प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्रिय महिला आयोगकी अध्यक्ष विजय रहतकरले महिलाको सुरक्षा केवल कानून–व्यवस्था होइन, शिक्षा, स्वास्थ्य, रोजगार, र स्वतन्त्र गतिशीलता जस्ता जीवनका सबै पक्षसँग सम्बन्धित रहेको बताइन्। उनले महिलाले असुरक्षित महसुस गर्दा आफूलाई सीमित गर्नुपर्ने अवस्थाले व्यक्तिगत मात्र नभई देशकै विकासलाई असर पार्ने जनाइन्।

रहतकरले शारीरिक, मानसिक, वित्तीय र डिजिटल सुरक्षा सबै क्षेत्रमा मजबुत सुरक्षा आवश्यक रहेको बताउँदै साइबर अपराध, व्यक्तिगत तथ्याङ्क दुरुपयोग र मानसिक उत्पीडनविरुद्ध कडा कदम चाल्नुपर्ने आवश्यकता औंल्याइन्। साथै, महिला प्रहरी र सार्वजनिक यातायातमा महिला चालकको उपस्थिति जस्ता पहलले विश्वास बढाएको उनको भनाइ थियो।

उनले महिला हेल्पलाइन, स्मार्ट सिटीहरूमा सिसिटिभी जडान, रेल स्टेशन र बसपार्कमा सुरक्षा नेटवर्क विस्तारलाई सकारात्मक कदमको रूपमा प्रस्तुत गरिन्। तर, समाजले पनि समान जिम्मेवारी लिनुपर्ने भन्दै उनले हेल्पलाइन प्रयोग गर्ने, सचेतना अभियानमा साथ दिने र सार्वजनिक स्थल सफा राख्ने काममा नागरिकहरूले पनि योगदान दिनुपर्नेमा जोड दिइन्।

यो नारी सूचकाङ्क Pvalue Analytics, The NorthCap UniversityJindal Global Law School ले तयार पारेको हो भने प्रकाशन Group of Intellectuals and Academicians (GIA) ले गरेको हो।

परिचय

Leave a Reply

Your email address will not be published. Required fields are marked *