नयाँ दिल्ली, २ सेप्टेम्बर: तेलंगाना र आन्ध्र प्रदेशमा लगातार दोस्रो दिन पनि भारी वर्षा भइरहेको छ। जसका कारण अहिलेसम्म लगभग २७ जनाको मृत्यु भएको छ भने बाढीका कारण धेरै क्षेत्र प्रभावित बनेका छन्।
भारी वर्षाका कारण रेल र बस सेवा प्रभावित भएका छन्। दुवै राज्यमा बाढी प्रभावित क्षेत्रबाट मानिसहरूलाई उद्धार गरेर राहत शिविरमा लगिएको छ। नेसनल डिजास्टर रेस्पोन्स फोर्सका २६ टोली खटाइएको बताइएको छ।
प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रीय गृहमन्त्री अमित शाहले आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडू र तेलंगानाका मुख्यमन्त्री रेवन्त रेड्डीसँग कुरा गर्दै उनीहरूलाई केन्द्रबाट सबै सम्भव सहयोग गर्ने आश्वासन दिएका छन्। तेलंगानाका राजस्व मन्त्री पोंगुलेटी श्रीनिवास रेड्डीले धेरै सावधानी अपनाए तापनि तेलंगानामा धेरै जनधनको क्षति भएको जानकारी दिएका छन्।
तेलंगानाको महबुबाद र खम्मन जिल्लामा बाढीमा कम्तीमा तीनजना डुबेको आशङ्का गरिएको छ। मुख्यमन्त्री रेवन्त रेड्डीले आपतकालीन बैठक बोलाएका छन्। तेलंगाना र आन्ध्र प्रदेशका धेरै क्षेत्रमा आज पनि भारी वर्षा जारी रहने अनुमान गरिएको छ।
आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडूले विजयवाडा सहर र आसपासका बाढी प्रभावित क्षेत्रहरूको मध्यरातमा भ्रमण गरेका थिए। कृष्ण नदीको बाढीको प्रकोप तेस्रो दिन पनि जारी रहँदा सुरक्षा चिन्ताको बाबजुद पनि उनी करिब ३ बजेसम्म मैदानमा थिए।
आन्ध्र प्रदेशमा १,११,२५९ हेक्टरमा कृषि बाली र ७ हजार ३६० हेक्टरमा बागवानी बाली प्रभावित भएको छ। आइतबार राज्यभर २८.५ सेन्टिमिटरभन्दा बढी वर्षा रेकर्ड गरिएको थियो।
मुख्यमन्त्री नायडूले राज्यका वर्षा प्रभावित मानिसहरूलाई सहयोग गर्न राज्य सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन्।
विभिन्न सञ्चार माध्यम र एजेन्सीहरूको इन्पुटबाट तयार पारिएको रिपोर्ट