रणभूमि पर्यटन सूचीमा सिक्किमको डोकलाम, छोला र नाथुला : अक्टोबरदेखि डोकलाम पर्यटकका लागि खुल्ने

गान्तोक, ३० अगस्ट: भारत सरकारको रणभूमि पर्यटन गन्तव्य पहलअन्तर्गत घोषणा गरिएको १०० नयाँ पर्यटकीय स्थलमा सिक्किमका तीनवटा महत्त्वपूर्ण स्थल नाथुला, छोला र डोकलाम पनि समावेश छन्। नाथुला अघिबाटै पर्यटकहरूका लागि खुल्ला छ भने अब सरकारले छोला र डोकलाममा पनि पर्यटन प्रवेशको अनुमति दिने भएको छ। विशेषगरी भारत–चीन–भुटानको त्रिजङ्क्सन (Tri-Junction) क्षेत्रमा अवस्थित डोकलामलाई पर्यटकका लागि खोल्ने निर्णय अत्यन्तै महत्वपूर्ण मानिएको छ। यो क्षेत्र आगामी अक्टोबरको पहिलो हप्तादेखि पर्यटकका लागि आधिकारिक रूपमा खुला हुनेछ।

डोकलाम ऐतिहासिक दृष्टिले पनि महत्त्वपूर्ण छ। सन् २०१७ मा भारत र चीनबीच सैन्य तनाव यही क्षेत्रमा भएको थियो। यसलाई पर्यटकीय गन्तव्यको रूपमा चयन गर्नु शान्तिपूर्ण सहकार्यतर्फको कदमका रूपमा पनि हेरिएको छ भने यसले व्यापक ध्यान आकर्षण गर्ने अपेक्षा गरिएको छ।

भर्खरै सिक्किमका पर्यटन क्षेत्रका सरोकारवाला सदस्यहरूले डोकलामको सम्भाव्यता अध्ययनका लागि क्षेत्रीय भ्रमण गरेका थिए। उक्त क्रममा पर्यटन क्षेत्रसँग सम्बन्धित मदन गुरुङले बढ्दो पर्यटक सङ्ख्यालाई व्यवस्थापन गर्न आवश्यक पूर्वाधार सुधारमा काम गरिनुपर्ने बताए। उनले कुपुपदेखि डोकलामसम्मको बाटोमध्ये केही खण्ड राम्रो अवस्थामा रहेको तर करिब १२–१३ किलोमिटर लामो साँघुरो खण्डमा तत्काल मर्मत आवश्यक भएको बताएका छन्।

गुरुङले डोकलामको भौगोलिक विशेषता र रणनीतिक महत्त्वले पर्यटकलाई अद्वितीय र स्मरणीय अनुभव दिने बताएका छन्। यस क्षेत्र खुल्दा सिक्किमको पर्यटन उद्योगलाई ठूलो लाभ हुने र इतिहास तथा भू–राजनीतिक महत्वप्रति चासो राख्ने धेरै पर्यटक आकर्षित हुने अपेक्षा गरिएको छ।

यसै क्रममा, सैलेश प्रधानको नेतृत्वमा मदन गुरुङ, रितेज छेत्री, गोपाल छेत्री, राज प्रधान लगायतको टोली डोकलाम पुगेको थियो। भ्रमणका क्रममा उनीहरूले सेनाका अधिकारीहरूसँग भेट गरी सुरक्षासम्बन्धी नियम र दिगो पर्यटन सुनिश्चित गर्न आवश्यक प्रोटोकलबारे जानकारी लिएका थिए।

डोकलाम पर्यटकका लागि खुल्न लागेको यस निर्णयसँगै सिक्किमको पर्यटन क्षेत्र अझै विस्तार हुने, पूर्वाधार सुदृढ हुने र स्थानीय अर्थतन्त्रका लागि नयाँ अवसरहरू सिर्जना हुने आशा गरिएको छ।

परिचय

Leave a Reply

Your email address will not be published. Required fields are marked *