सिक्किममा पैसाको कुरा नहुनु त कुरै छैन। अहिलेघडी करिब २२ हजार नयाँ सरकारी कर्मचारीहरूले छ महिनादेखि पैसा (तलब) नपाएको कुरा निक्कै ‘ठूलो कुरा’ भएको छ – मिडियामा होइन, खुल्ला बातचितमा होइन, चिनाजानाहरूको कानेखुसीमा, अफिसतिर होइन, घर-घरमा – चार भित्ताभित्र बन्द ढोकापछाडि।
पैसाको टुमटुमले फिटिफिटी परिरहेको बेला फेरि अर्को पैसाको कुरो निस्केर लुते-लाङ्ग्राहरूलाई तिरिखिरी पारिरा’छ- हालैमा जारि भएको मोटर भेहिकल विभागको सूचनाले। अब वाहनको कर बढ्ने भएको छ। कर बढ्नु सवाभाविक प्रक्रिया हो। तर यो कर वृद्धि ढाड भाँचिने गरी अर्थात् १००% भन्दा पनि बढी भएकोले अहिले एकदुईजना टाठोबाठोहरू बोल्न थालेका छन् अनि मौन जनताको कानेखुसीको डेसिबल (ध्वनिको सापेक्ष तीव्रता) बढेको छ। अझ ‘अन्य करहरू पनि लगाइने अरे’ भन्ने होहल्लाले जनताको मौनतालाई कुतकुती लगाउँदै छ। जनता कुतकुती थाम्न नसकेर हाँस्ने हुन् कि रुने हुन् वा रिसाउने हुन्, सो समाचार मिडियाले त कुन्नि, समयले चाहिँ पक्का ब्रेक गर्नेछ।
वाहनमाथि लाग्दै गरेको करबारे चर्चा गर्दा तीन विषयहरूलाई केलाउनुपर्ने हुन्छ – समय, रकम (मात्रा), अनि औचित्य।
समय – मौकामा चौका हान्नु खेलको मन्त्र हो तर अनिकालमा बिउ जोगाउनु जीवन कला हो। वाहन अर्थात् गाडी सिक्किमे जनताको जीवनमा आधाको एक अंश भएको छ भने आधाको कमाई खाने भाँडो। कोभिड महामारीको भारीले लाराकलुरुक पारेको जनतालाई आर्थिक रूपमा अलिकति उठ्ने मौका दिने बेलामा झन् वाहन कर बढाएर उठ्नै नदिनु यो समयको माग होइन। झन् साह्रो गाडीबाटै कमाई खानेहरू त तीनचार सालदेखि पर्यटनमा आएको आकस्मिक गिरावटले व्यापारिक अर्थमा न मरिजानु न गरिखानु भइरहेको समयमा कर बढाएर “लु मर” भनेको जस्तै भएन र? समयको कुरो गर्दा जतिबेला सिक्किमभरि नै सडकहरू अलपत्र छन्, गाडी त परै जाओस् बाँदरले पनि ‘होस्, यो सड़कभन्दा त भिरैभिर भएर उफ्रिनु सुरक्षित हुन्छ” भन्ला कि जस्तो छ। जसोतसो गाडी उफार्दै लैजाउँला, तर ती खाल्डै-खाल्डा र ढुङ्गा-मुड़ाले भरिएका सडकहरूले गाडीलाई गर्ने क्षति, सम्बन्धित बढ्दो मर्मती खर्च, चालक र यात्रीहरूले भोग्नुपर्ने थप हतासा, झन्झट, अचाहिँदो थकान आदिमाथि यति थुप्रो कर। सडक दुर्घटनामा मर्नेहरूको सङ्ख्यामा सिक्किमले देशमै पहिलो स्थान हासिल गरेको बेला सडक मर्मतीका लागि छुट्याइने बजेटको रकम र यो बढेको वाहन कर – यी दुईको कुनै हिसाब मिलेकै छैन। यस्तो कर वृद्धि यतिबेला किन? कसलाई केको हतार, कसलाई केको हतार, कोनि कसलाई कोनि केको हतार जस्तो देखिएन र?
कुनै सर्वेक्षण र अध्ययन नगरी ह्वात्तै कर बढाउँदा, यसले राज्यको अघिबाटै निस्तेज भइसकेको आर्थिक गतिशीलतामा अझै अवरोध मात्र होइन तर कालान्तरमा अर्थतन्त्रको विस्तार र जीवनस्तर सुधारमा असुधारनीय क्षति समेत गर्न सक्छ। यस्तो अर्थ नीतिले धनी र गरिबको आर्थिक विभेद र असमानतालाई अझ बढाउँदै लानेछ, जसले राज्यमा धनीहरूको हैकमलाई बढावा दिनेछ। यसले आत्मनिर्भर बन्न कडा मिहिनेत गरिरहेका केही युवा उद्यमीहरूलाई निरुत्साहित पनि गर्नेछ, जो सिक्किमका लागि बढो दुर्भाग्य हुनेछ। “बरु अस्थायी (MR /Ad Hoc) भए पनि एउटा सरकारी नोकरीमा झुण्डिनैपर्ने रहेछ” भन्ने सिक्किमेली अवधारणालाई बल मिल्नेछ।
रकम वा मात्रा – करको रकम वा मात्रा हेर्दा यस्तो लाग्छ कि सिक्किमे नागरिकको हरदर आय १०० प्रतिशत बढेको छ। जतिबेला विश्वमै मानिसहरूको आय घटेको छ, बेरोजगारीले हद नाघेको छ, झन् सिक्किम राज्यमा त आत्मा हत्या गर्नेहरूको सम्पूर्ण सङ्ख्यामा बेरोजगारीको कारणले यस्तो कदम चाल्नेहरू २५ प्रतिशतभन्दा बढी भएको खबर आइरहेको बेला यस्तो रकम करको रूपमा थोपेर ‘गाडी किनेर जीविका चलाउँ कि भनेर सोच्दै गरेका बेरोजगार युवाहरूलाई किन तर्साएको? यति बिघ्न रकम कतिजनाले तिर्ला भन्ने आशा गर्नु? कुनै सर्वेक्षण र अध्ययन नगरी ह्वात्तै कर बढाउँदा, यसले राज्यको अघिबाटै निस्तेज भइसकेको आर्थिक गतिशीलतामा अझै अवरोध मात्र होइन तर कालान्तरमा अर्थतन्त्रको विस्तार र जीवनस्तर सुधारमा असुधारनीय क्षति समेत गर्न सक्छ। यस्तो अर्थ नीतिले धनी र गरिबको आर्थिक विभेद र असमानतालाई अझ बढाउँदै लानेछ, जसले राज्यमा धनीहरूको हैकमलाई बढावा दिनेछ। यसले आत्मनिर्भर बन्न कडा मिहिनेत गरिरहेका केही युवा उद्यमीहरूलाई निरुत्साहित पनि गर्नेछ, जो सिक्किमका लागि बढो दुर्भाग्य हुनेछ। “बरु अस्थायी (MR /Ad Hoc) भए पनि एउटा सरकारी नोकरीमा झुण्डिनैपर्ने रहेछ” भन्ने सिक्किमेली अवधारणालाई बल मिल्नेछ।
सिक्किममा बाँचेखुचेका उद्यमीहरू पनि सरकारी नोकरीतिर हाम फालेर खाँटी सिक्किमेहरूले राज्यको व्यापार धन्दा वा निजी क्षेत्रबाट सम्पूर्ण रीतिले हात धुने निश्चित देखिँदैछ। सबैले हात नधुए पनि नयाँ युवाहरू यतातिर हात लगाउने सम्भावना पूरै घट्ने छ।
औचित्य – यो कर वृद्धिको औचित्य के हो, सो सरकारले नै नबताए अरूले त अड्कल काट्ने मात्र हो। राज्य बिजेपीको हालको प्रेस वार्तामा एकजना पत्रकारले घुमाएर सोधिरहेको प्रश्नले ‘कर वृद्धिले राज्यको रेभिन्यु बढाउँछ होइन’ भन्ने तर्क दिइरहेको थियो। त्यो प्रश्न “खुट्टाको हड्डी निकालेर हातमा लगाउँदा शरीर बलियो हुन्छ होइन” भनेको जस्तो सुनिँदै थियो। आर्थिक सम्पन्नतामाथि चाहिँदो कर लगाउँदा राज्यको रेभिन्यु बढ्छ अनि त्यो वृद्धिले फाइदा गर्छ। आर्थिक रीतिले लरखराइ रहेको जनताले दिएको करले चल्ने सरकार नेपालको सरकार जस्तो हुन्छ – जनताको कमाइमा सरकारको खर्च टार्ने। पहिला सरकारले सबै सुबिधा उपलब्ध गराउनुपर्छ। त्यसका लागि पुँजी लगानी (Capital Investment) गरेर राज्यमा कमाइ खाने उपायहरू र त्यससम्बन्धित पूर्वाधारहरू निर्माण र त्यसको देखरेख गर्नुपर्यो। उदाहरणका लागि पर्यटनको क्षेत्रमा बलियो र राम्रो बाटोघाटो विश्वस्तरीय पर्यटन स्थलहरू र व्यापार गर्नका निम्ति सहजता (ease of doing business) उपलब्ध गराउनुपर्ने हुन्छ। तब ट्याक्सीमाथि बिस्तारै कर बढाउन मिल्छ। नेपालमा के भइरहेछ – सरकारले नागरिकलाई देशमा रोजगारको अवसर दिन सकेको छैन अनि नेपाली नागरिकहरूले वैदेशिक रोजगारीद्वारा कमाएको रेमिटेन्सले देश चलाउँदै छ त्यहाँको सरकारले। सिक्किमले त्यही सिखो गर्न खोजेको त होइन के ? बाटोघाटो अस्तव्यस्त छोडिदिने, पर्यटन लथालिङ्ग अनि चालकहरूले दुखसुख जीवन धान्ने प्रयास गरिराख्दा कर बढाएर रेभिन्यु बढाउने। यो अर्थ नीति देखेर रुनु कि हाँस्नु? सिक्किमको यो सालको बजेट हेरौँ – प्रतिबद्ध व्यय (Committed Expenditure) अर्थात् राज्यको कर्मचारीहरूलाई दिने तलब, भत्ता, पेन्सन र राज्यले लिएको लोन वा ऋणको ब्याज तिर्ने रकममा प्रायः सबै बजेट खर्च हुँदैछ। पुँजी लगानी (Capital Investment) अर्थात् सम्पत्ति अधिग्रहण, पूर्वाधार विकास, प्रौद्योगिकी उन्नयन, परियोजना विस्तार, र दीर्घकालिक लाभ गर्ने कुनै पनि कामका लागि एकदमै कम पुँजी राखिएको छ।
खराब कर नीतिहरू र सरकारको उच्च कर्जा लिने नीति – यी दुई गलत निर्णयहरू मिलेर राज्यको अर्थ तन्त्रमा व्यापक कुअसर पार्ने छ, जस्तै आर्थिक ठहराव, बढ्दो महँगाइ, कम व्यापारिक लगानी, उद्यमशीलतामाथि दवाब, र बढ्दो सार्वजनिक ऋण। सरकारले कर नीतिलाई नसच्याए आउँदो दिनमा सिक्किमले घट्दो सार्वजनिक सेवाहरू, घट्दो वित्तीय लचकता, लगानीकर्ताको घट्दो आत्मविश्वास, र बढ्दो आर्थिक असमानताको सामना गर्नुपर्ने हुन्छ। सिक्किमलाई एक विश्वस्तरीय आर्थिक सल्लाहकार चाहिन्छ भनेर केही महिनाअघि एउटा लेख लेखेको थिएँ, सो कुरो फेरी दोहोर्याउँछु।