बर्मेक, १८ सेप्टेम्बर: नाम्ची जिल्लाको बर्मेकस्थित कलेज अफ् हर्टिकल्चरले सिक्किम सरकारको बागवानी विभागसँगको सहकार्यमा विश्व बाँस दिवस २०२५ को अवसरमा राज्यस्तरीय कार्यशालाको आयोजना गर्यो। कार्यक्रम नेशनल बेम्बो मिसनको वित्तीय सहयोगमा सम्पन्न भएको थियो। यस कार्यशालामा विधायक तथा सल्लाहकार लोकनाथ शर्मा मुख्य आतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा विभिन्न बोर्डका अध्यक्षहरू, पद्मश्री जोर्डन लेप्चा, स्थानीय जनप्रतिनिधि, विद्यार्थी र शिक्षकहरूको उपस्थिति थियो।
कार्यक्रममा कम्पेन्डियम प्रकाशन तथा बाँसका शिल्पकारहरू पद्मश्री जोर्डन लेप्चा, कुलबहादुर लिम्बू, फुर्बा तामाङ र लाक्पा भोटियालाई सम्मान जनाइएको थियो। यसका साथै एचएसएस, गान्तोकका सचिव डा टीकाप्रसाद शर्माले “सिक्किमका बाँस स्रोत : स्थिति र उपयोग” विषयमा व्याख्यान प्रस्तुत गरेका थिए। सिक्किमका विभिन्न समुहहरूले कलेज परिसरमा बाँसका उत्पादनहरू स्टलमार्फत प्रदर्शन पनि गरेका थिए।
आफ्नो सम्बोधनमा विधायक लोकनाथ शर्माले भारतजस्तो विशाल देशमा बाँसको उपयोगिता र त्यसका उत्पादनहरूको माग अत्यधिक रहेको बताउँदै विद्यार्थीहरूलाई पुस्तकमा मात्र सीमित नभई व्यावहारिक जीवनमा पनि हर्टिकल्चरलाई अपनाउन प्रेरित गरे।
कलेजका डिन डा एके पाण्डेले स्वतन्त्रताको ७५ वर्षपछि भारतले खाद्यान्न उत्पादन र त्यसको निर्यातमा उल्लेखनीय प्रगति गरेको भए तापनि तीव्र शहरीकरण, बढ्दो जनसङ्ख्या र जलवायु परिवर्तनका कारण प्राकृतिक स्रोतमा दबाब बढिरहेको बताए। उनले जलवायु परिवर्तनलाई विश्वकै सबैभन्दा ठूलो चुनौतीको रूपमा चित्रित गर्दै बाँसले यसको समाधानमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे। उनले केही प्रजातिको बाँस एक दिनमै तीन मिटरसम्म बढ्ने र ठूलो मात्रामा कार्बन डाइअक्साइड सोस्ने क्षमता राख्ने बताए। यसरी नै बाँसको टुसा, जरादेखि पातसम्म सबै भाग उपयोगी हुने, खाद्य उत्पादन, भ्यालु एडिसन र भूकम्प प्रभावित क्षेत्रका लागि वातावरणमैत्री आवास निर्माणमा उपयुक्त हुने बताए। उनले बाँसबाट बायो–फ्युल उत्पादनसमेत सम्भव रहेको उल्लेख गर्दै बाँसलाई आधुनिक “कल्पवृक्ष” का रूपमा व्याख्या गरे।
कृषक कल्याण बोर्डका अध्यक्ष पदम शर्माले बाँस जन्मदेखि मृत्युसम्म मानव जीवनसँग जोडिएको र हिमाली समुदायको जीवनमा यसको विशेष महत्त्व रहेको बताए। उनले सिक्किमले अझै पनि कार्बन नियन्त्रण कायम राखेको स्मरण गराए। उनले जर्मनीले स्टेवियाको अन्तर्राष्ट्रिय व्यापार गरिरहेको उदाहरण दिँदै सिक्किममा स्टेवियालाई फूड स्वीटनरको रूपमा प्रवर्द्धन गर्न सकिने बताए। डल्ले खोर्सानी र एभोकाडो जस्ता बाली खेती गर्नुपर्ने र डल्ले खोर्सानीको मूल्य निर्धारण गर्नुपर्ने सुझाव पनि दिए।
पद्मश्री जोर्डन लेप्चाले बाँससम्बन्धी ज्ञान विस्तार गर्न यस्ता कार्यशालाहरू नियमित रूपमा आयोजना हुनुपर्नेमा जोड दिए।
ईफ्कोका अध्यक्ष राजकुमार बस्नेतले राष्ट्रिय बाँस अभियान सन् २००६ मा सुरु भएको स्मरण गर्दै बाँस उत्पादन र व्यापारमा चीनको वर्चस्व रहेको बताए। उनले बाँसलाई “हरियो सुन” र “२१औँ शताब्दीको टिम्बर” का रूपमा व्याख्या गर्दै बाँसबाट मफलर, सारी, शाल जस्ता उत्पादन बन्ने उल्लेख गरे। उनले बाँसका पातबाट बायोफ्युल एथानोल उत्पादन गर्न सकिने र चिनियाँ मोसो प्रजातिका बाँसको एउटा टुसाले एउटा परिवारलाई एक हप्तासम्म खान पुग्ने बताए। उनले सिक्किममा पाइने स्थानीय बाँस अत्यन्तै टिकाउ र मूल्यवान रहेकोमा जोड दिए।
कार्यशालामा बाँसलाई नवाचार, आजीविका प्रवर्द्धन र जलवायु परिवर्तन न्यूनीकरणका लागि दीगो स्रोतका रूपमा प्रवर्द्धन गर्नुपर्ने विषयमा जोड दिइएको थियो।