डा हरिप्रसाद छेत्रीको पुस्तक ‘आत्मकथा’ लोकार्पित

गान्तोक, २५ अगस्ट: डा हरिप्रसाद छेत्रीद्वारा लिखित ‘आत्मकथा’ पुस्तक आज ६ माइल, तादोङस्थित हर्कमाया कलेज अफ एजुकेसनको प्रेक्षागृहमा आयोजित एक कार्यक्रमबीच विमोचन भयो। कार्यक्रममा मुख्य अतिथिको रूपमा राज्यको शिक्षा विभागका मन्त्री राजु बस्नेत उपस्थित थिए भने विशिष्ट अतिथिको रूपमा पद्मश्रीले सम्मानित वरिष्ठ साहित्यकार सानु लामा उपस्थित थिए।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मुख्य अतिथि मन्त्री राजु बस्नेतले लेखक हरिप्रसाद छेत्रीलाई बधाई एवम शुभकामना दिए। यसरी नै उनले सिक्किम क्रान्तिकारी मोर्चा २०१९-मा सरकारमा आएपछि मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्वमा विभिन्न क्षेत्रमा विकास भएको उल्लेख गरे। उनले उदाहरण दिँदै सिक्किम विश्वविद्यालयको धेरै वर्षसम्म पनि आफ्नो स्थायी क्याम्पस नरहेको र अहिलेसम्म पनि किरायाको घरमा सञ्चालन हुँदै आइरहेको जानकारी गराए। तर एसकेएम पार्टी सरकारमा आएपछि याङगाङमा सिक्किम विश्वविद्यालयको क्याम्पसको निर्माण कार्य युद्धस्तरमा चलिरहेको र अहिले केही  विभाग त्यहाँ चल्न थालेको अवगत गराए। अबको केही महिनामा नै क्याम्पसको निर्माण कार्य पूरा हुने सम्भावना पनि व्यक्त गरे। मुख्यमन्त्री तामाङले राज्यको बागडोर सम्हाल्न केही विलम्ब भएको भन्दै यदि पहिला नै मुख्यमन्त्री तामाङले राज्यको बागडोर सम्हालेको भए अहिलेसम्म राज्य धेरै अघि बढिसकेको हुन सक्ने उनले दाबी गरे।

कार्यक्रममा पद्मश्रीले सम्मानित वरिष्ठ साहित्यकार सानु लामाले आत्मकथा लेख्नको निम्ति लेखक इमान्दार हुनुपर्ने विचार व्यक्त गरे। पुस्तक तयार गर्नका निम्ति लेखकसँग आँट र जाँगर पनि हुन आवश्यक रहेको उनले बताए। लेखकले आत्मकथा लेख्दा आफूले जीवनमा भोगेका राम्रा र नराम्रा दुईवटै पक्षलाई समेट्न आवश्यक रहेको बताउँदै यदि लेखकले आफ्नो नराम्रो पक्ष पुस्तकमा उल्लेख गर्न नसके पुस्तक अधुरो रहने उनले मन्तव्य प्रकट गरे। आत्मकथा लेखन क्षेत्रमा सिक्किम धेरै पछाडि रहेको पनि उनले उल्लेख गरे। सिक्किमबाट थौरे व्यक्तिहरूले मात्र आत्मकथा लेखेको उनले जानकारी गराए।

डा हरिप्रसाद छेत्री एक प्रतिष्ठित शिक्षाविद्, पूर्व सरकारी अधिकारी, र सामाजिक अभियन्ता हुन्, जसको योगदान सिक्किम राज्यको ग्रामीण विकास र शिक्षा क्षेत्रमा महत्वपूर्ण छ। पिता डम्बरसिंह छेत्री र माता हर्कमाया छेत्रीका छोरा, डा छेत्री आफ्नो जीवनभर शिक्षा र समाजसेवामा समर्पित रहेका छन्। उनले ६४ वर्षको उमेरमा समाजशास्त्रमा पीएचडी गरे र विभिन्न विश्वविद्यालयहरूबाट शैक्षिक उपाधिहरू प्राप्त गरे। सरकारी सेवामा उनले सन् १९७१-मा कृषि अधिकारीका रूपमा आफ्नो यात्रा सुरु गरेका थिए भने सन् २००१-मा ग्रामीण विकास संस्थानका निर्देशकको पदबाट अवकाश लिएका हुन्।

डा छेत्रीले गान्तोकमा भानुभक्त आचार्यको मूर्ति स्थापना, डम्बरसिंह कलेज र हर्कमाया कलेजको स्थापना, र हिमालयन फार्मासी संस्थानको स्थापना जस्ता कामहरूमा योगदान दिएका छन्।

सामाजिक नेतृत्वमा, उनी लायन्स क्लब गान्तोकका चार्टर अध्यक्ष, पिपल्स फोरमका महासचिव र भारत स्काउट्स एन्ड गाइड्सका नेतृत्वमा सक्रिय रहे। उनलाई सिल्भर एलिफ्यान्ट पुरस्कार र अन्तर्राष्ट्रिय गोल्ड स्टार मिलेनियम अवार्डजस्ता प्रतिष्ठित पुरस्कारहरूले सम्मानित गरिएको छ।

कार्यक्रममा पुस्तकको निरूपणात्मक मन्तव्य डा टेकबहादुर छेत्री र प्रकाशकीय मन्तव्य राजा पुनियानीले राखेका थिए। कार्यक्रममा महाविद्यालयका विद्यार्थीहरूले गीत र नृत्य पनि प्रस्तुत गरेका थिए भने कविहरूले कविता पाठ गरेका थिए।

 

परिचय

Leave a Reply

Your email address will not be published. Required fields are marked *