पारखा गाउँमा व्यापक चिया खेती सुरु; उत्पादकले पाइरहेका छन् सरकार र राज्यसभा सांसदको सहयोग

पाकिम, २५ अगस्ट: भारत–चीन सीमामा पर्ने नाथाङ माचोङ निर्वाचन क्षेत्रअन्तर्गत पारखा गाउँमा व्यापक रूपमा चिया खेती सुरु भएको छ। एक महिनाअघि क्षेत्र विधायक पामिन लेप्चाले यसको आरम्भ गरेकी थिइन्। त्यसैगरी आइतबार पूर्व विधायक तथा वर्तमान राज्यसभा सांसद दोर्जी छिरिङ लेप्चाले उक्त क्षेत्रको भ्रमण गरी स्थानीयहरूलाई चिया खेतीमा सहभागी हुन प्रोत्साहित गरेका छन्। अहिलेसम्म ४० परिवारले ३४ ऐकर जमिनमा १ लाख ३६ हजार बिरुवा रोपेका छन्। सांसद लेप्चाले स्थानीयहरूलाई थप सहभागी हुन अपिल गरेका छन्।

सांसद लेप्चाले सांसद कोषबाट उक्त क्षेत्रमा चिया उद्योग स्थापना गर्ने घोषणा पनि गरेका छन्। आइतबार  सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले भारत–चीन सीमावर्ती क्षेत्रमा बसोबास गर्ने गाउँका जनताको अर्थतन्त्र उकास्न र रोजगारीका अवसर सिर्जना गर्न भाइब्रेन्ट भिलेजअन्तर्गत विभिन्न विकास कार्यक्रम थालेको बताए। उक्त क्षेत्रमा बसोबास गर्ने जनताको जमिनको हकको मुद्दा हालै संसदमा उठाइसकेको र काम सुरु भइसकेको बताए । उनले भारत–चीन सिमाना मुनि पर्ने क्षेत्रमा मोबाइल सञ्जालको राम्रो कनेक्टिभिटीका लागि काम सुरु गरिएको पनि बताए ।

स्थानीय अनुकूल वातावरणलाई ध्यानमा राखेर २०१४-मा परिक्षणका रूपमा सुरु गरिएको चिया खेती फाइदाजनक हुने देखिएपछि यसै वर्षदेखि नाथाङ माछोङ निर्वाचन क्षेत्रका मानिसहरूले व्यवसायिक चिया खेती सुरु गरेका हुन्। यस निर्वाचन क्षेत्रअन्तर्गत पारखा गाउँका मानिसहरूले टि ग्रोवर्स वेल्फर बोर्ड गठन गरेर यस वर्ष ४० परिवारलाई चिया खेतीमा प्रोत्साहित गरेका छन्।

नाथाङ माछोङमा चिया खेतीलाई व्यवसायिक बनाउन सिक्किम सरकारबाट पूर्ण सहयोग हुने मुख्यमन्त्रीबाट आश्वासन पाएको स्थानीय मानिसहरूले बताएका छन्। क्षेत्र विधायक पामिन लेप्चा र राज्यसभा सांसद डीटी लेप्चाबाट लगातार प्रोत्साहन पाएका कारण चिया खेतीमा उत्साही बनेको टि ग्रोवर्स वेल्फर बोर्डका उपाध्यक्षले बताएका छन्। अहिले चियाका विरुवा किन्नदेखि लगेर रोप्ने सहयोग पनि सरकारबाट भइरहेको छ। क्षेत्रका मानिसहरू चिया खेतीबारे धेरै उत्साहित देखिएपछि आइतबार राज्यसभा सांसद डीटी लेप्चाले मानिसहरूसँग अन्तरक्रिया गरेर खेती प्रवर्द्धनका लागि आफ्नो पक्षबाट पनि भरपूर सहयोग दिने बताएका हुन्। 

परिचय

One thought on “पारखा गाउँमा व्यापक चिया खेती सुरु; उत्पादकले पाइरहेका छन् सरकार र राज्यसभा सांसदको सहयोग

  1. एक दमै स्वागत योगय पहल ।यसै गरि राज्याका अरु छेत्रहरुमा पनि धेरै जमिन बाझिएको छ जसमा चिया खेति गरनु सके राम्रो आमदानी र पर्यटन छेत्रमा परिवर्तन गरनु सकिने थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *