सिक्किमको राजनीतिले पेवा पालेको र मज्जाले हुर्काएको “झोले” शब्दको अर्थ खोज्दै थिएँ। चोक्टा नेताले खाइहाल्छ, उब्रेको झोल थुरुप-थुरुप पार्नेलाई झोले भनेको होला भन्ने थ्योरी बनाउँदै थिएँ। म गलत ठहरिएँ। बबुरो थ्योरी कोक्रोमै निसासिएर मर्ने भो। भर्खरै सिक्किमका राजनीति गर्ने दुईजना व्यक्तिहरू – डीबी ठटाल र मदन सेन्चुरीले आफ्ना विपक्षी व्यक्तिहरूको खिल्ली गर्दै “एक जमानामा मेरो झोला बोक्ने मान्छे” भन्ने बयान दिएपछि “झोले”-को अर्थ मेरो बोधो मगजभित्र स्वाट्ट छिर्यो। अलिक ज्ञानी भएको जस्तो लागिरहेको छ।
छ वर्षको नानीले छ किलो गह्रौँ खाता-किताब अनि आजकल त स्मार्ट फोन पनि खाँदी-खाँदी हालेको झोला बोकेर स्कुल जाने देशमा दुईवटा बाघले खाइनसक्ने भुँडेहरूलाई झोला बोक्ने झोले चाहिने। यो देशको नानी बलियो कि नेता? आफ्नो झोला आफै बोक्ने नानी जिम्मेदारी कि आफ्नो झोला धरि अरूलाई बोकाउने नेता? यस्ता कमजोर वा कामचोरले दिने नेतृत्वको व्याख्या गरेर समय खेर नफालौँ। सिधै गाँठी कुरा गरौँ – कहाँबाट आयो झोले राजनीति अनि किन डंका पिटीपिटी झोले प्रवृत्तिको खुल्ला प्रचार गर्दैछन् एकदुईजना फुर्के नेताहरू? ‘नेता’ शब्द पनि जतासुकै चलाउँदा शब्दकोशले मानहानी मुद्दा थोप्ने हो कि? डराएँ है म!
उहिले असभ्य जमानामा “म ठूलो हुँ” भनी देखाउनु पाउनु जीवनको परमलक्ष्य हुन्थ्यो अनि आफू अरूभन्दा ‘ठूलो’ भएको प्रमाणित गर्न सानाहरूलाई आफ्नो भारी बोकाउने चलन थियो। खानदानीहरूले गरिब-दु:खीलाई भारी बोकाउने एउटा अमानवीय चलन सिक्किममा पनि राज शासन कालमा लछ्याप्रै थियो। कताकता त गरिबहरूले धनीहरूलाई ढाड़मा बोकेर पनि यताउता लैजाने चलन समेत थियो। आज पनि यो प्रथा कायम रहनु यो हाम्रो सांस्कृतिक विरासत हो।
उनीहरू अहिले पनि झोला बोकाउनुलाई प्रतिष्ठाका प्रतीक र ओहदा प्रदर्शनको साधन मान्छन्। उनीहरूको तर्क यही कि – “म ठूलो मान्छे हुँ किनभने मैले एक जमानामा कसैलाई झोला बोकाएको थिएँ वा अहिले कसैलाई झोला बोकाउँदैछु”। नेतृत्व वा योगदानबारे दिने प्रमाण यही नै हुनु दुर्भाग्यपूर्ण कुरो हो। कुनै नेताको महानता ‘उसको आसेपासेको जमात कत्रो छ’, त्यसमा आधारित हुनु – यो हाम्रो दुर्भाग्य हो कि हाम्रो सोचअनुसारको भाग्यै हो, त्यो मलाई थाहा भएन। कसैलाई हाम्रो राजनीतिको स्तर भएन भन्ने गुनासो छ भने – “मासु-भात खाइयो, नेता यस्तो पाइयो” भन्ने नारा कुर्लेर गलल हाँस्दै भँड़ास निकालेर सन्चो हुनु पाइन्छ। त्यति अधिकार त अहिलेसम्म बाँचेकै छ।
समाज बिस्तारै सभ्य र शिक्षित हुँदै र यस्ता प्रथाहरू थोत्रो बन्दै गए। मानव जीवनको गरिमा सबैले बुझ्दै गए। तेज रफ्तारमा विकसित हुने उन्नत दुनियाँमा सबैले आफ्नो काम आफ्नै हातले गर्छन्। तर विकसित हुनु ओल्याङटोल्याङ गर्दै पछौटेपनमै रमाउने समाजमा झोला बोकाउने प्रथा हिउँदोमा बोसो थालमा टाँसिएको जस्तै बसेको छ ल्याप्पै। सरकारी दफ्तरमा अलिक माथिको ‘अफिसर’ भएपछि गाडीको ढोका खोलिदिने, गाडीदेखि दफ्तरसम्म झोला बोकिदिने, डेस्क पुछिदिने, तातोपानी तताएर मुखैको तल्तिर लगेर टक्राइदिने, टोइलेट धोइदिने, पर्दा खोलिदिने अनि बन्द गरिदिने सहयोगी चाहिन्छ। यी सब गरिदिने कोही नभए आफ्नो ओहदा बढेको कसरी थाहा पाउने? पछौटे समाजमा ओहदा बढेपछि हाम्रो शारीरिक फुर्ति र सक्रियता कसरी घट्छ, सो शोधको विषय हो। तर शोध गरेर ठूलो मान्छे भइगइयो भने फेरि झोला बोक्ने एउटा झोले चाहिहाल्ला! बरु चुपो लागेर बसिरहौँ।
फुर्के खालके नेताहरूले सार्वजनिक रूपमै अनि छुप्पे खालके नेताहरूले चाहिँ दुईचारजना गुप्त दर्शकहरूको बीचमा सुट्टुकै “त्यो मेरो झोला बोक्ने हो नि” भन्दै गजक्क पर्न पाउनु नेतागिरीको हकको कुरा होला। उनीहरू अहिले पनि झोला बोकाउनुलाई प्रतिष्ठाका प्रतीक र ओहदा प्रदर्शनको साधन मान्छन्। उनीहरूको तर्क यही कि – “म ठूलो मान्छे हुँ किनभने मैले एक जमानामा कसैलाई झोला बोकाएको थिएँ वा अहिले कसैलाई झोला बोकाउँदैछु”। नेतृत्व वा योगदानबारे दिने प्रमाण यही नै हुनु दुर्भाग्यपूर्ण कुरो हो। कुनै नेताको महानता ‘उसको आसेपासेको जमात कत्रो छ’, त्यसमा आधारित हुनु – यो हाम्रो दुर्भाग्य हो कि हाम्रो सोचअनुसारको भाग्यै हो, त्यो मलाई थाहा भएन। कसैलाई हाम्रो राजनीतिको स्तर भएन भन्ने गुनासो छ भने – “मासु-भात खाइयो, नेता यस्तो पाइयो” भन्ने नारा कुर्लेर गलल हाँस्दै भँड़ास निकालेर सन्चो हुनु पाइन्छ। त्यति अधिकार त अहिलेसम्म बाँचेकै छ।
अर्को कुरो हाम्रो समाजमा मेरिटोक्रेसी (meritocracy) अथवा योग्यताको आधारमा सरकार र नोकरशाही चयन गरिने तन्त्रबारे हाम्रो सोच के छ, सो पनि बाहिर आउँदैछ। मेरिटोक्रेसी शब्दको हाम्रो आफ्नै भाषामा मौलिक शब्द नहुनु पनि बढो खेदको कुरो छ। योग्यता भएको व्यक्तिको रूपमा खड़ा हुनुभन्दा झोला बोक्न इच्छुक समर्थक र झोला बोकाउनुसक्ने नेता नै सफल हुने प्रणाली चलिरहेको छ र नै झोलेगिरीको यति ठूलो चर्चा भइरहेछ। ‘नारा लगाऊ, नोकरी लैजाऊ’ मन्त्र पनि झोलेगिरीकै देन हो। नेताको वरिपरि झिँगा धपाउने, राल-सिंगान पुछ्नलाई चाहिने रुमाल-सुमल बोकिदिने, भएभारको मीठोमीठो कुरा गरेर नेताको अचाहिँदो हौसला बढ़ाइदिने, पोलझोस गरेर टीम डायनामिकलाई चालू राख्नेहरू त योग्यताका आधारमा चयन नगरिएका भए पनि ठीकै छ। तर प्रशासनका महत्त्वपूर्ण पदहरूमा पनि योग्यतालाईभन्दा झोला बोकाइलाई आधार बनाएर मन्त्री, नोकरशाहीको चयन गरिए, यो राज्यको जनताको पिँढीगत दुर्भाग्य (generational misfortune) हाम्रो लोन भन्दा घातक हुने छ।
झोले संस्कृतिको एउटा गतिलो कुप्रभाव के छ भने नेताहरूको दमनकारी प्रवृत्ति र आलस्यपन झन्झन् बढ्दै जाँदैछ। लाटासिधा समर्थकहरूले राम्रै मनले नेताको झोला बोकिदिएपछि नेताको हेप्ने र आफ्नो जिम्मेवारी वा काम अरूलाई अह्राउने आदतले मलजल पाउँदै जान्छ। यहाँ दुईवटा उखानहरू लागू हुन्छन्। हेप्ने किसिमको नेताका लागि ‘औँला दिँदा डुँडुल्ना निल्छ’ भन्ने कुरा ठ्याक्क मिल्छ। आज झोला बोक, भोलि म्याडको शप्पिङ झोला बोक, पर्सि के बोक, निकर्सि के बोक। झोलेबाट प्रोमोशन भएर कुम्लेसम्म उक्लाइदिन सक्छन् यस्ता नेताहरूले। अल्छे नेतालाई लागू हुने उखान हो – ‘जति सुँगुर मोटायो, उति खोर साँगुरो’। सबै काम अरूलाई खटाएर बसिरहने नेताको अकर्मण्यता जसोतसो सरकारी खर्चले पाल्न सक्ला तर यस्ता नेताको अहम (ego) सानो खोरमा आँटदैन। यस्ता नेताहरू आफ्नो चेम्बर र गाडीमा अटस-पटस भएर बसेको देख्दै उकुसमुकुस होइन्छ, उनीहरूबाट केही कामको आस कसरी गर्नु ! उनीहरूको अफिस र कुर्सीलाई घातात्मक रूपमा बढाउनुपर्ने हुन्छ, जसको दीर्घकालीन र प्रतिकूल असर जनतामाथि नै पर्ने हो।
सबै कुराको दोष नेताहरूमाथि नै थोपेर पनि हुँदैन। कति त गर्वसाथ झोला बोकेर नै पेटपाला पनि गरिरहेका छन्। झोला बोक्नु पाएकै आधारमा लुम्रेझुम्रेलाई धम्काउन पनि पाएका छन्। यस्तो असरदार पद पाउनुमा पनि होडबाजी (Competition) होला। तर कति झुसेमुसेहरूले त निष्ठावान बनी इमान्दारीपूर्वक नेताको झोला बोकिरहेछन्। बेइमानी, चोरी वा भ्रष्टचार गरेर घर चलाउनुभन्दा लाटासिधाले नेताको झोला बोकेर जीवन धान्दै होला। भन्नु केही छैन। तर यस्ता सोझा, गरिब-दु:खीको यस्तो मजबुरीको फाइदा उठाएर उनीहरूमाथि यस्तो अमानवीय शब्दले उपहास गर्नु एक किसिमको अन्याय हो। नेताहरूले आफ्नो भाषामा धेरै सुधार ल्याउनु नितान्त आवश्यक छ। यति उमेरमा पुगेर कैयौँ चुनाउहरू देखेपछि बेइमान नेता र इमान्दार नेतामा एउटा फरक देखेको छु। बेइमान नेताको चुनावअघिको र चुनावपछिको भाषामा आकास-पातालको फरक आउँछ। भोट माग्नु जाँदा ‘जनता मेरो आमा-बाबु, दाजु-भाइ दिदी-बहिनी’ हुन् भनेर साक्खै पर्ने आफन्त पो हो कि जस्तो बनाउँछन्। भोट जितेपछि ‘मेरा आसेपासे, झोलेहरू हुन्’ भन्ने किसिमको धाँक लगाउँछन्। भोट जितेपछि यसरी बेइमानी बाहिर निस्किन्छ। के सोचेका हुन्छन् ती नेताहरूले कोनी- उस्तैलाई छेउ पर्नु दिँदैनन्। उहिलेका राजाहरूकै अवतार भएँ भन्ठान्दो हो। राजतन्त्रले हद पार गरेर प्रजातन्त्र ल्याएको हो भन्ने कुरो अर्को चुनाउसम्म भुलिहाल्छन्। भुल्न त के भुल्थे तर ‘यी झोलेहरूले के नै गर्लान्’ भन्ने धृष्टता गर्दो हो। चङ्खे फुर्के नेताहरूले सिधै ‘झोले’ भनिहाल्दैनन् तर बारम्बार गर्जन्छन्, थर्काउँछन्, धम्काउँछन् – जनतालाई तर्साउँने सबै उपाय लगाउँछन्। क्रोधित नेता र त्रासित नेता बस्नुपर्ने प्रणाली परातन्त्र हो तर झोले सोचले ‘प्रजातन्त्र’ नै हो भनेर मानिरहेको हुन्छ।
जनतालाई झोला बोकाउने नेताहरू होइन, जनताप्रतिको जिम्मेवारीको झोला बोक्ने नेताहरू हुनुपर्ने हो। त्यसका लागि सिक्किमे जनताको सोचमा आधारभूत परिवर्तन आउनुपर्छ। सरकारलाई सहुलियत दिने, नोकरी दिने, खर्च-पानी दिने, हर्जा टारिदिने दाता ठान्नु नै सिक्किमको साँचो प्रगतिमा ठूलो बाधा बनेको छ। सरकारले नोकरी होइन नोकरीको मौका दिनुपर्छ। जनतालाई सहुलियतमा भर पर्ने होइन तर आफ्नै सीप, दक्षता, क्षमता, योग्यता आदिमा भर पर्न सक्ने माहोल सृष्टि गर्नुपर्छ। जनताको खर्च र हर्जा टारिदिने होइन स्वाभिमान जोगाएर गरिखाने सम्भाव्यताले लटरम्म भएको राज्य बनाउनुपर्छ। सिक्किममा जनता भीआईपी कोलोनी र मिन्तोकगाङ धाउने होइन आफ्नो कर्मस्थल धाउने दिन आउनुपर्छ। झोले राजनीतिले ती लक्ष्य हासिल गर्न सकिन्छ भन्नु एक दिन तम्बोला पनि ओलम्पिकमा सामेल होला अनि हाम्रो राज्यले पनि स्वर्ण पदक जित्ला भन्नुसरह हो।