हेडलाइन

बर्फुङ निर्वाचन क्षेत्रमा सीएपीको क्षेत्र स्तरीय समन्वय सभा सम्पन्न

बर्फुङ, ८ जनवरी: सिटिजन एक्सन पार्टी–सिक्किमले बर्फुङ निर्वाचन क्षेत्र स्तरीय समन्वय सभा पार्टीको नाम्ची जिल्लाका अध्यक्ष डीबी स्टीफन गुरुङको अध्यक्षतामा बर्फुङमा सम्पन्न गरेको छ। पार्टीको नीति र सिद्धान्तलाई गाउँ–गाउँसम्म पुर्‍याउने, सङ्गठन विस्तार गर्ने तथा पार्टीलाई थप सुदृढ बनाउने विषयमा सभामा विस्तृत छलफल गरिएको बताइएको छ।

सभालाई बर्फुङ निर्वाचन क्षेत्रका पार्टी एसीईसी अध्यक्ष ताराकुमार लिम्बू, युवा अध्यक्ष समीर राई, सीईसी उपाध्यक्ष सन्जु राई, पार्टीको जनजाति कल्याण परिषदका उपाध्यक्ष ओङ्देन लेप्चा, महासचिव (प्रशासन) रबिन राई तथा जिल्ला कार्यकारिणी समितिका अध्यक्ष डीबी स्टीफन गुरुङलगायत अन्यले सम्बोधन गरेका थिए।

अध्यक्षीय सम्बोधनका क्रममा डीबी स्टीफन गुरुङले राज्यमा भइरहेको कथित आर्थिक अनियमितताबारे जनतालाई जानकारी हुँदाहुँदै पनि डरका कारण आवाज उठाउन नसकिरहेको अवस्था रहेको उल्लेख गर्दै सिटिजन एक्सन पार्टी–सिक्किम नागरिकको पक्षमा निरन्तर आवाज उठाउँदै आएको र आगामी दिनमा अझ सशक्त रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरे। उनले युवाहरूको क्षमतामाथि नेपोटिजम हावी भइरहेको आरोप लगाउँदै आलोचना गरे भने कथित पीडितको न्यायका लागि जुनसुकै शक्तिसँग पनि लड्न पार्टी तयार रहेको बताए।

सत्ताधारी एसकेएम पार्टीले “गो ब्याक” को नारा, गुण्डागर्दी तथा जनसभातिर धम्की दिने गरेको आरोप लगाउँदै यस्ता कुराले सीएपीको सुधार र परिवर्तनको अभियानलाई रोक्न नसक्ने उनले बताए। सिक्किमको वर्तमान र भविष्य जोगाउन पार्टी अन्तिम साससम्म लडिरहने उनले घोषणा गरे।

सभामा बर्फुङ निर्वाचन क्षेत्रका पूर्व प्रत्याशी सोनाम डडुल लेप्चा, नाम्ची जिल्लाका सचिव आरपी गुरुङ, पार्टीको विद्यार्थी कल्याण परिषदका अध्यक्ष सहदेव छेत्री, पार्टीको कृषि कल्याण परिषदका अध्यक्ष हरि राई, नारी परिषदकी महासचिव मारिया राई, लगायतको उपस्थिति रहेको थियो।

परिचय

Leave a Reply

Your email address will not be published. Required fields are marked *