हेडलाइन

भाजपा सिक्किमद्वारा सिङ्ताममा राज्यस्तरीय सङ्गठनात्मक कार्यशाला आयोजना

गान्तोक, ७ जनवरी: भारतीय जनता पार्टी, सिक्किम प्रदेशले सिङ्ताममस्थित पार्टी कार्यालयमा राज्यस्तरीय सङ्गठनात्मक कार्यशाला आयोजना गर्‍यो, जसमा राज्यभरिका वरिष्ठ नेता तथा पार्टी पदाधिकारीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा आसामका पूर्व लोकसभा सांसद डा राजदीप रोय, राष्ट्रिय प्रवक्ता सरदार आरपी सिंह, प्रदेश अध्यक्ष डीआर थापा साथै राज्य पदाधिकारी, मोर्चा पदाधिकारी, जिल्ला अध्यक्ष, महासचिव तथा मण्डल अध्यक्षहरू उपस्थित थिए।

कार्यशालालाई सम्बोधन गर्दै डा राजदीप रोयले सङ्गठनको विभिन्न तहमा गठन र सञ्चालनका विषयमा मार्गदर्शन गर्दै जिम्मेवारीको स्पष्ट बाँडफाँड, समन्वय प्रणाली र सामाजिक कार्यक्रममार्फत पार्टीको तृणमुल तहसम्म पहुँच मजबुत बनाउनु पर्नेमा जोड दिए। प्रदेश अध्यक्ष डीआर थापाले सिक्किममा भाजपा सङ्गठनको निरन्तर विस्तारको चर्चा गर्दै मोदी सरकारका प्रमुख पहलहरू, विशेषगरी विकसित भारत – रोजगार तथा आजीविका ग्यारेन्टी मिशन (ग्रामीण) योजनाको महत्व औंल्याए। उनले उक्त योजनाबारे जानकारी जनतासम्म पुर्‍याउन पार्टी कार्यकर्ताहरू सक्रिय हुनुपर्ने र राज्यमा पार्टीको उपस्थिति थप सुदृढ बनाउन सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिए।

राज्य उपाध्यक्ष भरत दुलालले सिक्किममा भारतीय जनता पार्टीको इतिहास र क्रमिक विकासबारे प्रकाश पारे भने राष्ट्रिय प्रवक्ता सरदार आरपी सिंहले भारतको विविध सामाजिक संरचनाबीच सांस्कृतिक एकता र सद्भावको आवश्यकता औंल्याए। उनले समसामयिक राजनीतिमा सामाजिक सञ्जाल, परम्परागत सञ्चारमाध्यम तथा भाजपा आईटी विभागको भूमिका, प्रभावकारी सञ्चार, धारणा निर्माण र गलत सूचना प्रतिकारमा रहेको रणनीतिक महत्त्वसमेत उल्लेख गरे।

भाजपा सिक्किमको प्रचार शाखाद्वारा जारी प्रेस वक्तव्यअनुसार, कार्यशालाले पार्टी कार्यकर्ताहरूबीच सङ्गठनात्मक संरचना थप सुदृढ गर्ने र प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा समावेशी विकासका लक्ष्यहरू अघि बढाउने प्रतिबद्धता पुनः सुदृढ गर्ने मञ्चको रूपमा काम गरेको बताइएको छ।

परिचय

Leave a Reply

Your email address will not be published. Required fields are marked *