हेडलाइन

उत्तर सिक्किमको नागा-टुङ सडक पुनः सञ्चालनमा

गान्तोक, १ जनवरी: सीमा सडक संगठन (बिआरओ) ले उत्तर सिक्किमको नागा-टुङ सडक खण्ड औपचारिक रूपमा पुनः सञ्चालनमा ल्याएको छ। सन् २०२३ अक्टोबरमा आएको हिमताल विस्फोट बाढी (ग्लेसियल लेक आउटबर्स्ट फ्लड) का कारण गम्भीर रूपमा क्षतिग्रस्त भएको यो सडक पुनः सञ्चालनमा आउँदा स्थानीय बासिन्दा र यात्रुहरूलाई ठूलो राहत मिलेको छ।

बाढीपछि महिनौँसम्म अवरुद्ध बनेको यस महत्वपूर्ण सडक मार्ग पुनः निर्माण गर्न बिआरओले कठिन भौगोलिक अवस्था र प्रतिकूल मौसमबीच निरन्तर काम गरेको थियो। बिआरओले करिब ८ किलोमिटर एकल लेन सडक पुनः निर्माण गर्नुका साथै रिचु क्षेत्रमा १८० फिट लामो ट्रिपल डबल रिइन्फोर्स्ड एक्स्ट्रा वाइड बेली पुल पनि निर्माण गरेको छ।

अधिकारीहरूका अनुसार अस्थिर भिरालो जमिन, बारम्बारको वर्षा, भूस्खलन र जमिन धसिने क्षेत्रका बीच अत्यन्तै चुनौतीपूर्ण अवस्थामा परियोजना सम्पन्न गरिएको हो। सडक पुनः सञ्चालनसँगै स्थानीय बासिन्दा, सुरक्षा निकाय तथा आर्थिक गतिविधिका लागि यो मार्ग पुनः जीवनरेखा बनेको छ।

यस सडक खुल्दा उत्तर सिक्किममा यात्रा समय घट्ने, स्वास्थ्य र शिक्षामा पहुँच सहज हुने र पर्यटन गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। अधिकारीहरूले विशेषगरी रिचु पुल आसपास सवारी साधन चलाउँदा गति सीमा र ट्राफिक निर्देशन पालना गर्न आग्रह गरेका छन्।

कठिन र जोखिमपूर्ण परिस्थितिमा रातदिन खटेर काम गर्ने बिआरओका कर्मचारीहरूको समर्पणप्रति स्थानीयवासीहरूले प्रशंसा व्यक्त गरेका छन्। निरन्तर प्रयासका कारण छः महिनाभित्र सडक यातायातका लागि पुनः खुलाउन सम्भव भएको बिआरओले जनाएको छ।

परिचय

Leave a Reply

Your email address will not be published. Required fields are marked *