गान्तोक,२१ सेप्टेम्बर: सिक्किमका संसद डा इन्द्रहाङ सुब्बाले आज नयाँ दिल्लीमा रेल राज्यमन्त्री रवनीत सिंह बिट्टुसँग भेट गरी सिक्किममा रेल सम्पर्क सम्बन्धी विषयमा छलफल गरेका छन्।
डा सुब्बाले मल्ली-देन्ताम प्रस्तावित रेल लिंकको फाइनल लोकेसन सर्वे (FLS)-को विषयमा जानकारी गराएका थिए। यो सर्वेक्षण, रेलमन्त्री अश्विनी वैष्णवलाई गरेको अघिल्लो अनुरोधपछि मन्त्रालयले स्वीकृत गरेको हो। यो परियोजना पहुँच सुधार र क्षेत्रको सामाजिक–आर्थिक विकासका लागि महत्त्वपूर्ण रहेको भन्दै उनले सर्वेक्षण छिट्टै सम्पन्न गर्न राज्यमन्त्रीको पहल आवश्यक भएको बताए।
भेटवार्तामा रेल लाइनको प्रगति र सिक्किमको पहिलो रेल स्टेशन बन्न लागेको रम्फू स्टेशनको विषयमा पनि छलफल गरिएको बताइएको छ। संरचनात्मक डिजाइन पूरा भइसकेको भए पनि डा सुब्बाले स्टेशनको डिजाइनमा केही परिमार्जन गरी यसले सिक्किमको संस्कृति, परम्परा र पहिचान झल्काउनुपर्ने अनुरोध गरेको बताइएको छ।
अन्त्यमा, डा सुब्बाले रेल राज्यमन्त्री बिटटुलाई सिक्किम भ्रमण गर्न निमन्त्रणा दिँदै रेल सम्पर्कको प्रगति प्रत्यक्ष अवलोकन गर्न र जनताको आकांक्षालाई बुझ्न आग्रह गरेका थिए।