गान्तोक, २१ सेप्टेम्बर: रिक्जिङ नोर्बु दोर्जी भोटियाले सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ)-को प्राथमिक सदस्यता र सबै जिम्मेवारीबाट राजीनामा दिएका छन्।
पार्टी अध्यक्षलाई सम्बोधन गरिएको राजीनामा पत्रमा उनले पार्टीको उपाध्यक्ष, प्रवक्ता, विद्यार्थी फ्रन्ट इन्चार्ज (पाकिम, गान्तोक र मङ्गन जिल्ला) तथा युवा इन्चार्जको पदबाट राजीनामा दिएको उल्लेख गरेका छन्। यो निर्णय लामो समयको आत्ममन्थनपछि लिएको उनले उल्लेख गरेका छन् हो। एसडीएफमा प्रवेश गर्ने उद्देश्य जनताको सेवा गर्ने, युवाहरूको आवाज उठाउने र न्याय तथा लोकतन्त्रको पक्षमा उभिने रहेको उनले बताएका छन्। “मैले लडेँ, बोलेँ र कठिन बाटोमा पनि दृढतापूर्वक उभिएँ। यस यात्राका लागि म पार्टी र नेतृत्वप्रति सधैं आभारी रहनेछु,” उनले लेखेका छन्।
भोटियाले सिक्किमको राजनीतिक परिस्थितिमा परिवर्तन भइरहेको बताउँदै समाजलाई अहिले बलियो आवाज, नयाँ विचार र साहस चाहिएको बताएका छन्। “अब मेरो भूमिका फरक दिशामा छ, जहाँ म आफ्ना जनताका लागि अझ प्रभावकारी र अर्थपूर्ण योगदान दिन सक्छु,” उनले राजीनामा पत्रमा उल्लेख गरेका छन्।
भोटियाले एसडीएफ अध्यक्षलाई आगामी जन्मदिनको शुभकामना दिँदै उनको दीर्घायु र स्वास्थ्य जीवनको कामना गरेका छन्। उनले यो राजीनामा अन्त्य नभई नयाँ सुरुवात भएको बताउँदै आफ्नो प्रतिबद्धता उही रहेको र सिक्किमको सेवा गर्ने, आफ्ना जनताको पक्षमा बोल्ने र उज्यालो भविष्यका लागि समर्पित रहने बताएका छन्।