सिक्किमले जनायो देशव्यापी ‘सेवा पख्वाडा’ अभियानमा सहभागिता

गान्तोक, १७ सेप्टेम्बर: प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिन तथा विश्वकर्मा जयन्तीको अवसरमा सुरु गरिएको देशव्यापी सेवा पख्वाडा अभियानमा आज सिक्किमले पनि सहभागिता जनाएको छ। उक्त कार्यक्रम स्वर्ण जयन्ती मैत्रेय मञ्जरी उत्सव प्लाजामा आयोजित गरिएको थियो। कार्यक्रममा राज्यपाल ओमप्रकाश माथुर र मुख्यमन्त्री प्रेमसिंह तामाङसहित अन्यको उपस्थिति रहेको थियो।

सेवा पख्वाडा १७ सेप्टेम्बरदेखि २ अक्टोबरसम्म मनाइनेछ, जसमा सार्वजनिक सेवा र सामाजिक कल्याणमुखी गतिविधिहरू समावेश हुनेछन्। सिक्किममा पनि स्वास्थ्य शिविर, सरसफाइ अभियान, जनचेतना कार्यक्रम, भिन्न रूपमा क्षमतावान व्यक्तिहरूलाई सहयोग, म्याराथन, खेलकुद तथा सांस्कृतिक कार्यक्रमजस्ता गतिविधिहरू सञ्चालन गरिनेछ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पीएस तामाङले प्रधानमन्त्री नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना व्यक्त गरे। उनले प्रधानमन्त्रीको नेतृत्वले भारतको अन्तर्राष्ट्रिय प्रतिष्ठा बढाएको र देशको प्रत्येक कुनामा विकास पुर्‍याएको बताए। सेवा पख्वाडा ‘अन्त्योदय’ अर्थात् अन्तिम व्यक्तिसम्म विकास पुर्‍याउने दृष्टिकोणको प्रतिविम्ब भएको उल्लेख गर्दै सिक्किम यस राष्ट्रिय प्रयासमा गर्वका साथ सहभागी भएको मुख्यमन्त्रीले बताए।

यस अवसरमा विभिन्न कल्याणकारी योजना पनि सुरु गरियो, जसअन्तर्गत ३१ हजारभन्दा बढी आमाहरूलाई सिक्किम आमा सशक्तिकरण योजनाअन्तर्गत वित्तीय सहयोग प्रदान गरियो। यसका साथै, भिन्न रूपमा क्षमतावान नागरिक, सरसफाइ कर्मचारी तथा ग्राम पञ्चायतलाई सहयोग, आयुष्मान भारत कार्ड, डि–स्लजिङ्ग सवारीसाधन, र सिक्किम अर्बन गरिब आवास योजनाअन्तर्गत घर वितरण गरियो। ‘स्वस्थ महिला, सशक्त परिवार’ अभियान पनि सुरु गरिएको छ भने राष्ट्रिय पोषण महिना र प्रधानमन्त्री टीबी–मुक्त भारत कार्यक्रमलाई राज्यव्यापी रूपमा अघि बढाइने घोषणा गरिएको छ।

त्यसैगरी प्रधानमन्त्री विश्वकर्मा योजना पनि सिक्किममा कार्यान्वयन गरिएको छ, जसअन्तर्गत परम्परागत सीपयुक्त कारीगरहरूलाई दर्ता, उपकरण, अनुदानमा ऋण र रोजगारीका अवसर उपलब्ध गराइनेछ।

विश्वकर्मा जयन्तीको अवसरमा मुख्यमन्त्रीले श्रमिक, कारीगर र दक्ष जनशक्तिलाई शुभकामना दिँदै उनीहरूको योगदानले देशको आधारभूत संरचना र विकासलाई मजबुत बनाएको बताए। उनले आजको दिनलाई ‘दुई गुणा उत्सव’ भन्दै प्रधानमन्त्रीको नेतृत्व र श्रमिकहरूको योगदान दुवैलाई सम्मान गर्ने दिन भएको बताए।

अन्त्यमा मुख्यमन्त्रीले सबैलाई ‘टिम सिक्किम’को रूपमा एकताबद्ध भई विकसित भारतको साझा दृष्टिलाई साकार पार्न आह्वान पनि गरे।

परिचय

Leave a Reply

Your email address will not be published. Required fields are marked *