गान्तोक, १२ जनवरी: सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम)- को १४औँ स्थापना दिवसलाई लिएर आज गान्तोकको मनन केन्द्रमा दोस्रो समन्वय बैठक सम्पन्न भयो। एसकेएम अध्यक्ष एवम् मुख्यमन्त्री प्रेमसिंह तामाङको सभाध्यक्षतामा आयोजित बैठकमा स्थापना दिवस समारोहको तयारी, अहिलेसम्म भएका कार्यहरू तथा आगामी दिनमा गर्नुपर्ने व्यवस्थापनसम्बन्धी विषयमा विस्तृत छलफल गरिएको छ।
एसकेएम प्रवक्ता विकास बस्नेतद्वारा जारी प्रेस विज्ञप्तिअनुसार, बैठकमा पार्टीका केन्द्रिय कार्यकारिणी सदस्यहरू, मन्त्री तथा विधायकहरू, जिल्ला र समष्टिस्तरीय समितिका प्रतिनिधिहरू, सल्लाहकार, अध्यक्षहरू, ओएसडी तथा पार्टीको भातृ सङ्गठनका प्रतिनिधिहरूको व्यापक उपस्थिति रहेको थियो। बैठकमा पार्टीका सेक्रेटेरी जेनरल अरुणकुमार उप्रेतीले १४औँ स्थापना दिवसलाई लिएर हालसम्म भएको तयारीबारे जानकारी दिए। उनले समारोहका लागि गठित विभिन्न समिति, भातृ सङ्गठन तथा व्यक्ति विशेषलाई दिइएका जिम्मेवारीबारे सभालाई अवगत गराए।
बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष प्रेमसिंह तामाङले १४औँ स्थापना दिवसलाई सफल बनाउन सबै तहका कार्यकर्तालाई सामूहिक र समर्पित भावनाका साथ काम गर्न आह्वान गरेका छन्। उनले पार्टी स्थापनाकालदेखि सरकार गठनपछिसम्म एसकेएमले निरन्तर जनमुखी नीति तथा पहलमार्फत राज्यको विकास र जनकल्याणका लागि काम गर्दै आएको बताए। उनले यस वर्षको स्थापना दिवस “जन आन्दोलनदेखि जनसरकार” नाराका साथ मनाइने घोषणा गरेका छन्। स्थापना दिवस विशेष हुने उल्लेख गर्दै उनले यस समारोहमा व्यापक जनसहभागिता रहने र यसले पार्टी तथा जनताबीचको गहिरो सम्बन्धलाई प्रतिबिम्बित गर्ने बताए।
मुख्यमन्त्री तामाङले एसकेएम सरकारले विगत ६ वर्ष ७ महिनाको अवधिमा गरेका उल्लेखनीय कार्यहरूको जानकारी दिँदै पार्टी सधैँ गरीब तथा निमुखा जनताको पक्षमा उभिएको बताएका छन्। उनले गरीब जनताको कल्याण, सेवा–सुविधा र संरक्षण पार्टीको प्राथमिकता रहने स्पष्ट पारेका छन्। यसका साथै, १४औँ स्थापना दिवसपछि निकट भविष्यमै पाँचदिने पार्टी सम्मेलन आयोजना गरिने घोषणा पनि उनले गरेेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
बैठक पार्टी मुख्यालयका महासचिव पवन गुरुङको सञ्चालनमा सम्पन्न भएको थियो।