हेडलाइन

एसआरएम युनिभर्सिटीका सहायक प्राध्यापकविरुद्ध कथित बलात्कारको आरोप, विश्वविद्यालयले गर्‍यो निलम्बित

गान्तोक, २० डिसेम्बर: गान्तोक सदर पुलिस थानाले कथित बलात्कार प्रकरणमा एसआरएम विश्वविद्यालय, सिक्किमका एकजना सहायक प्राध्यापकविरुद्ध मुद्दा दर्ता गरेको छ।

पुलिसकाअनुसार उक्त मुद्दा सदर पुलिस थानाअन्तर्गत भारतीय न्याय संहिता (बीएनएस), २०२३ को धारा ६३ र ६४(१) अनुसार दर्ता गरिएको हो। एफआईआरअनुसार हाल गान्तोकमा बस्दै आएकी पश्चिम सिक्किमकी २१ वर्षीया एकजना छात्राले सामाजिक सञ्जालमार्फत अभियुक्तसँग चिनजान भई केही दिन संवाद भएको बताएकी छन्। उनले अभियुक्तले पटकपटक भेट्न दबाब दिएको, सुरुमा सार्वजनिक स्थानमा भेट्ने आग्रह गरे पनि अभियुक्तको पेशागत हैसियतमा विश्वास गरी ६ डिसेम्बर २०२५ मा लिङ्दिङ, गान्तोकस्थित उनको कोठामा भेटेको बताएकी हुन्।

पीडिताले भेटका क्रममा अभियुक्तले दुर्व्यवहार गर्दै अनुचित रूपमा छोएको तथा आफ्नो स्पष्ट विरोधका बाबजुद जबरजस्ती बलात्कार गरेको आरोप लगाएकी छन्। घटनापछि उनी गहिरो मानसिक आघात र त्रासको अवस्थामा त्यहाँबाट भाग्न सफल भएको बताइएको छ। सामाजिक बदनामीको डर, अभिभावकीय सहयोगको अभाव र जारी परीक्षाका कारण पुलिसमा ढिलो उजुरी गर्नुपरेको पीडिताले उल्लेख गरेको पुलिसले जनाएको छ। हाल उक्त घटनाको अनुसन्धान जारी रहेको छ।

यसैबीच, एसआरएम विश्वविद्यालय, सिक्किमले प्रेस विज्ञप्ति जारी गर्दै विश्वविद्यालय परिसर बाहिर घटेको बताइएको उक्त कथित घटनाबारे जानकारी प्राप्त भएको जनाएको छ। विश्वविद्यालयले सम्बन्धित निकायसँग पूर्ण सहकार्य गर्ने र कानुनअनुसार आवश्यक सबै सहयोग प्रदान गर्ने स्पष्ट पारेको छ। यसका साथै, कानुनी प्रक्रिया टुङ्गो नलागेसम्म सम्बन्धित व्यक्तिलाई सबै जिम्मेवारीबाट तत्काल निलम्बन गरिएको विश्वविद्यालयले जनाएको छ। विश्वविद्यालयले कानुन र शैक्षिक समुदायबाट अपेक्षित नैतिक मापदण्डविरुद्धको कुनै पनि आचरणप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्दै आएको पनि दोहोर्‍याएको छ।

परिचय

Leave a Reply

Your email address will not be published. Required fields are marked *