सिक्किममा तिमी चिया बगानपछि दोस्रो ठूलो चिया बगान बन्ने मार्गमा पारखा; सांसद लेप्चाले गरे स्थलगत निरीक्षण

पारखा, १७ अप्रिल: सिक्किममा तिमी चिया बगानपछि दोस्रो ठूलो चिया बगानको रूपमा स्थापित हुने मार्गमा नाथाङ-माचोङ निर्वाचन क्षेत्रअन्तर्गत पर्ने लिङ्के-पारखा अघि बढिरहेको छ। यहाँ चिया खेती अघिबाटै सुरु भइसकेको छ भने अब चिया प्रशोधन इकाई (Processing Unit) वा कारखाना पनि सुरु हुने भएको छ।

यसै सन्दर्भमा आज भारत-चीन सिमानासँग जोडिएको नाथाङ–माचोङ निर्वाचन क्षेत्रका विभिन्न स्थानहरूमा राज्यसभा सांसद दोर्जी छिरिङ लेप्चाले स्थलगत भ्रमण गर्दै चिया कारखाना स्थापनाको सम्भावना बारे जानकारी लिएका छन्।

यस निर्वाचन क्षेत्रअन्तर्गत पर्ने लिङ्के -पारखा जीपीयूमा चिया खेती अघिबाटै सुरु भइसकेको छ। पारखा चिया उत्पादक कल्याण बोर्डका अनुसार लिङ्के–पारखा ग्राम पञ्चायत इकाईमा हालसम्म १४ एकड क्षेत्रफलमा चिया खेती र उत्पादन सुरु भइसकेको छ भने दीर्घकालीन लक्ष्य अनुसार १०० एकडमा विस्तार गर्ने योजना रहेको रहेको छ।

यो पनि पढ्नुहोस् : पारखा गाउँमा व्यापक चिया खेती सुरु; उत्पादकले पाइरहेका छन् सरकार र राज्यसभा सांसदको सहयोग

विकासोन्मुख चिया क्षेत्रलाई समर्थन गर्न समुद्री सतहदेखि लगभग ५,५०० फिटको उचाइमा करिब साढे तीन एकड क्षेत्रफलमा चिया प्रशोधन इकाइ निर्माण गर्ने प्रस्ताव गरिएको छ। आगामी तीन वर्षभित्र यो कारखाना निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

सांसद डीटी लेप्चाले आज सम्बन्धित अधिकारीहरू र बोर्डका सरोकारवालाहरूसँग संयुक्त रूपमा स्थल निरीक्षण गर्दै कारखाना स्थापनाका लागि उपयुक्त स्थानको पहिचान गरेका छन्। उनले लिङ्के–पारखा जीपीयूअन्तर्गत पर्ने साफुङ वार्ड लगायत क्षेत्रमा प्रशोधन इकाइ स्थापनाका लागि उपयुक्त स्थानको रहेको बताएका छन्। विभागलाई जुलाई महिनाको पहिलो हप्ताभित्र डीपीआर तयार गरिसक्ने निर्देशन दिइएको पनि उनले जानकारी गराएका छन्। संसदमा आफूले चिया खेती विकास सम्बन्धि कुरा उठाइसकेको र सम्बन्धित विभागबाट लिखित आश्वासन पाइसकेको पनि उनले बताएका छन्। आगामी जुलाईमा बस्ने संसद सत्रमा फेरि यो कुरा उठाउने उनले बताएका छन्। पारखाको चिया खेतीलाई तिमी चिया बगानपछि सिक्किमको दोस्रो ठूलो बगानको रूपमा स्थापित गर्ने लक्ष्य राखेको पनि उनले जानकारी गराएका छन्।

उक्त पहलले सिमावर्ती क्षेत्रमा कृषि उद्यमशीलता प्रवर्द्धन गर्नुका साथै स्थानीय मानिसहरूको आत्मनिर्भरतामा योगदान पुर्‍याउने र पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्‍याउने उद्देश्य राखिएको छ।

परिचय

Leave a Reply

Your email address will not be published. Required fields are marked *