प्रथम नरबहादुर दाहाल स्मृति पुरस्कार लेखनाथ छेत्रीको ‘फुलाङ्गे’ उपन्यासलाई

सुकुना, ७ सेप्टेम्बर: सुकुना साहित्यिक सांस्कृतिक संस्थानले वरिष्ठ साहित्यकार नरबहादुर दाहालको कृति र कीर्तिलाई सदैव अमर राख्न उनको जन्मदिन तथा पुण्यतिथिलाई केन्द्रित गरी साहित्यकार नरबहादुर दाहाल स्मृति पुरस्कार प्रथमपल्ट युवा सर्जक लेखनाथ छेत्रीलाई उनको फुलाङ्गे उपन्यासका लागि प्रदान गरिने निश्चित गरेको छ। यो पुरस्कार युवा सर्जकको सर्वश्रेष्ठ कृतिलाई प्रदान गरी उनीहरूलाई साहित्य क्षेत्रमा अझ प्रोत्साहित गर्ने उद्देश्य सुकुना साहित्यिक सांस्कृतिक संस्थानको रहेको कुरो संस्थानका साहित्य विभागका सचिव मेघनाथ छेत्रीले जानकारी गराए।

धेरै वर्ष अघिदेखि सुकुनामा बसोबासो गरी आफ्ना अतुलनीय साहित्यिक योगदानले सुकुनाको नामलाई सधैँ सुनाम गरेका नरबहादुर दाहालका कारणले सुकुना साहित्यिक तीर्थको रुपमा रहेको कुरा स्मरण गर्दै उनको प्रथम पुण्य तिथीलाई केन्द्रित गरी सेप्टेम्बर महिनाको अन्तिम सप्ताह सो पुरस्कार प्रदान गर्ने उद्देश्य राखिएको छ। सुकुना साहित्यिक सांस्कृतिक संस्थानको पहलमा साहित्यिक सचिव मेघनाथ छेत्री र नरबहादुर दाहाल स्मृति पुरस्कार चयन समितिका संयोजक राजा पुनियानीको विशेष सक्रियतामा बितेका दस महिनाअघिदेखि पुरस्कार चयन प्रक्रियालाई अघि बढाउने काम गरिएको थियो। यसमा सन् २०१९-देखि २०२३-सम्म प्रकाशित भएका अधिकतम चालिस वर्षसम्मका भारतीय नेपाली युवा सर्जकद्वारा नेपाली भाषामा लेखिएका कृतिहरूलाई विभिन्न चरणका विज्ञ जुरीहरूद्वारा अध्ययन एवम् मूल्याङ्कन गरी अन्तिम तीनजना जुरीसमक्ष आईपुगेका श्रेष्ठ तीनवटा कृतिको मूल्याङ्कनपछि सर्वश्रेष्ठ कृतिको रुपमा लेखनाथ छेत्रीकृत उपन्यास फुलाङ्गे चयनित भएको कुरो चयन समितिका संयोजक राजा पुनियानीले जानकारी दिए।

 

राजा पुनियानीले पुरस्कार चयन प्रक्रियाबारेमा पनि जानकारी दिएका थिए। जुरीहरूले अति निष्पक्ष रूपमा चयन प्रक्रियालाई पूरा गरेको कुरो मेघनाथ छेत्रीले बताए। उनले पुरस्कार चयन प्रक्रियामा सहयोग पुर्‍याउने सम्पूर्ण जुरीहरूप्रति कृतज्ञता प्रकट गरे।

लेखनाथ छेत्रीलाई आगामी २८ सेप्टेम्बर २०२४-को दिन सुकनामा सम्पन्न हुने सुकुना साहित्यिक सांस्कृतिक संस्थानको रजत जयन्तीको समापन समारोहको उपलक्ष्यमा प्रथम नरबहादुर दाहाल स्मृति पुरस्कार प्रदान गरिने कुरो संस्थानका सभापति सूर्यमणि शर्मा र मूलसचिव जेबी बस्नेतले जानकारी दिएका छन्। संस्थानले यसरी नरबहादुर दाहालको स्मरणमा प्रत्येक वर्ष नरबहादुर दाहाल स्मृति पुरस्कार प्रदान गरिने निर्णय लिएकोमा संस्थानप्रति परिवारको पक्षमा छिरीङ दाहालले आभार प्रकट गरे।

उक्त पुरस्कारमा दिइने नगद राशी एघार हजार एक सय एघार रुपियाँ साथै सम्मान पत्र नरबहादुर दाहालका पुत्र युवराज दाहालको परिवारको पक्षबाट दिइने निर्णय लिइएको कुरा संस्थानको तर्फबाट मूलसचिवले जानकारी दिए। स्मरण रहोस्, सुकुना साहित्यिक सांस्कृतिक संस्थान स्थापना भएको पच्चीस वर्ष पूरा हुँदैछ। यस वर्ष रजत जयन्ती रहेकोले संस्थानको रजत जयन्ती स्मारिका पनि प्रकाशित गरी आगामी २८ सेप्टेम्बरको दिन सम्पन्न हुने नरबहादुर दाहाल स्मृति पुरस्कार अलङ्करणसँगै उक्त स्मारिका पनि विमोचन गरिने निश्चय गरिएको कुरा संस्थानका मूल सचिव जेबी बस्नेतले बताएका छन्।

परिचय

Leave a Reply

Your email address will not be published. Required fields are marked *