सीएपीको केन्द्रीय कार्यकारिणी समितिको बैठक सम्पन्न; १४ सेप्टेम्बरसम्ममा नयाँ अध्यक्षको नाम घोषणा गरिने

गान्तोक, ७ सेप्टेम्बर: सिटिजन एक्सन पार्टी-सिक्किमले आज केन्द्रीय कार्यकारिणी समितीको बैठक अदमपुलस्थित पार्टी मुख्यालयमा पार्टी अध्यक्ष भरत बस्नेतको अध्यक्षतामा सम्पन्न गर्‍यो। बैठकमा मुख्य संयोजक गणेशकुमार राई, संस्थापक अध्यक्ष एलपी काफ्लेलगायत समस्त केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरूको उपस्थिति रहेको थियो। सभामा पार्टीले पार्टीको “कार्यकर्ता मार्गदर्शन”को विधिवत विमोचन गरेको छ भने आजदेखि पार्टीको सदस्यता नविकरण पनि सुरु गरेको छ।

सिटिजन एक्सन पार्टीका वर्तमान अध्यक्ष भरत बस्नेतले २०२४-को चुनाव परिणामको जिम्मेवारी लिदै दिएको राजीनामालाई पार्टीले शनिबार भएको सभासम्म स्थगित गरेको थियो भने सभामा पार्टी अध्यक्षले नयाँ अध्यक्षका लागि सम्भावित तीनजनाको नाम प्रस्तावित गरेका छन्। पार्टीले आगामी १४ सेप्टेम्बर २०२४-सम्म नयाँ अध्यक्षको घोषणा गर्ने पार्टीका प्रमुख निर्वाचन अधिकारी एचबी राईले सभालाई जानकारी गराए।

 

सभामा पार्टीका मुख्य संयोजक गणेश राईले सम्बोधन राख्दै अब सिक्किमे नागरिकको सरोकारको निम्ति सबै कार्यकर्ता र नेता एकजुट हुनुपर्ने बताए। यसरी नै पार्टी अध्यक्ष भरत बस्नेतले पार्टीको अग्रगमनको निम्ति सबै नेताकार्यकर्ता पार्टीको संवैधानिक निर्देशन र सिद्धान्त अनि कार्यक्रमको आधारमा अघि बढ्न निर्देशन दिए। उनले सिटिजन एक्सन पार्टी बाहेक अब सिक्किममा विपक्षी पार्टी नभएको जस्तै स्थिति भएको र पार्टीले सशक्त विपक्षी पार्टीको भूमिका निर्वाह गर्नुपर्ने बताए। पार्टीकी प्रवक्ता वीणा शर्माले एउटा प्रेस विज्ञप्ति जारी गर्दै उक्त जानकारी गराएकी छन्।

परिचय

Leave a Reply

Your email address will not be published. Required fields are marked *