पाकिम, ८ सेप्टेम्बर: आज सरमसा उद्यानमा राज्यस्तरीय सामुहिक तीज उत्सव भव्यताका साथ सम्पन्न भयो। पारम्परिक एवम् सांस्कृतिक पोशाकमा हजारौँ महिलाहरूको उपस्थिति रहेको सामुहिक राज्य स्तरीय तीज उत्सवमा सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिको रूपमा उपस्थित थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री प्रेमसिंह तामाङले, सम्पूर्ण सिक्किमेली नारीहरूलाई तीजको हार्दिक बधाई एवम् शुभकानमा व्यक्त गरे। मुख्यमन्त्रीले आफ्नो सम्बोधनमा, प्रथम कार्यकालको पाँच वर्षमा सिक्किमे जनताको पक्षमा महत्त्वपूर्ण कार्यहरू सफलरूपमा गरेको बताए। सन् २०१९ मा जनताले सत्तामा पुर्याएपछि, कोभिडको वैश्विक महामारीको संकटलाई झेलेर विभिन्न चुनौतीहरूलाई पार गर्नमा जनताले पुर्याएको योगदानलाई स्मरण गरे। त्यसपछि सरकारले राज्यवासीको हितमा अनेकौँ योजनाहरू आरम्भ गरेर नारीहरूका निम्ति योजनाका प्रत्यक्ष एवम् परोक्ष लाभहरू सुनिश्चित गरेको ठहर गरे।
मुख्यमन्त्री तामाङले सिक्किममा प्रत्येक चाडपर्वलाई कुनै धर्म र जातिमा सीमित नराखेर यसलाई अझै फराकिलो बनाउँदै साम्प्रदायिक सद्भावनालाई बढावा दिएको बताए। राज्य सरकारले प्रत्येक समुदायमाथि समान दृष्टि राखेर सबैलाई सदैव एकै स्तर प्रदान गर्दै कार्य गरिरहेको, जसको फलस्वरूप विभाजनको राजनीतिलाई सधैका लागि अन्त्य गरेको बताए। मुख्यमन्त्रीले आफ्नो सम्बोधनमा प्रत्येक पर्वहरू सिक्किमेका चाडहरू हुन् भन्ने परम्परा स्थापना गर्नुपर्ने विचारधारा साझा गरे।
उनले हालमा राज्यमा १७ जना महिलाहरू विभागीय सचिवको प्रतिष्ठित पदमा कार्यरत रहेको र निकट भविष्यमा थप चार जना सचिवको पदमा पदोन्नति हुने जानकारी गराउँदै, राज्यमा नारीले पाएको यो महत्त्वपूर्ण उपलब्धिप्रति हर्ष प्रकट गरे। निकट भविष्यमा प्रत्येक जिल्लाबाट स्वयं सहायता समुहका दुई-दुईजना नारीहरूलाई प्रतिनिधिको रूपमा सरकारमा प्रतिष्ठित पद प्रदान गरिने मुख्यमन्त्रीले आश्वासन पनि दिए।
दोस्रो कार्यकालमा सरकारको नारा सुनौलो, समृद्ध एवम् सामर्थ्य सिक्किमको लक्ष्यलाई आत्मसात गर्दै अघि बढ्ने उनले आह्वान गरे। सिक्किमका नारीहरूमा अपार सम्भावना रहेको र भविष्यमा अझै क्षमतावान बन्दै जाने उनले विश्वास व्यक्त गरे। उनले सन् २०२६-मा सिक्किममा विधानसभा समष्टिको सिमाङ्कन हुने जनाउँदै सन् २०२९-को सिक्किम विधान सभा निर्वाचनमा महिलाहरूको सहभागिता अझै बढेर जाने सङ्केत पनि दिए।
सामुहिक राज्यस्तरीय तीज उत्सव २०२४-को मुख्य आकर्षण राज्यस्तरीय तीज नृत्य प्रतियोगितामा जङ्गु समष्टिले विजय प्राप्त गरेर नगद राशि दस लाख रुपियाँको पुरष्कार जित्न सफल भएको छ। यसरी नै दोस्रो स्थान प्राप्त गर्ने स्यारी समष्टिलाई नगद राशि सात लाख र तेस्रो स्थान ओगट्न सफल याङथाङ समष्टिलाई नगद राशि पाँच लाख रुपियाँसहित प्रमाण पत्र मुख्यमन्त्री तामाङले प्रदान गरे।
आयोजन समितिकी अध्यक्ष एवम विधायक राजकुमारी थापाले आफ्नो सम्बोधनमा सिक्किमको इतिहास मै प्रथम पटक सामुहिक राज्यस्तरीय तीज उत्सव आयोजन गरिएको बताइन्। वर्तमान सरकारले राज्यका नारीहरूको दक्षतामाथि विश्वास गरेर महत्वपूर्ण जिम्मेवारी र सहयोग प्रदान गरिरहेको उनले उल्लेख गरिन्। थापाले मुख्यमन्त्री प्रेमसिंह तामाङको परिकल्पनामा आरम्भ भएका मेरो रुख मेरो सन्तती, आमा सशक्तिकरण योजना, बहिनी योजना, वात्सल्य योजना समेत अनेकौँ राजनीतिक एवम् सामाजिक पहलहरूमाथि प्रकाश पारेकी थिइन्।
कार्यक्रममा एककेएम नारी शक्तिको तर्फबाट मुख्यमन्त्री तामाङलाई अभिनन्दन जनाइएको थियो भने मुख्यमन्त्री तामाङको हातबाट सिक्किम विधानसभाकी प्रथम महिला अध्यक्षा कलावती सुब्बा र वर्ष २०२४-मा राष्ट्रिय शिक्षक पुरष्कारले सम्मानित मोर्डन उच्च माध्यमिक विध्यलयकी शिक्षक याङकिला लामालाई पनि अभिनन्दन पत्र प्रदान गरियो।
कार्यक्रममा सिक्किम विधानसभा अध्यक्ष, सिक्किम विधान सभा उपाध्यक्ष, मन्त्री परिषद, कार्यक्रमकी प्रमुख संरक्षक एवम् नाम्ची सिंगीथाङ समष्टिकी पूर्व विधायक कृष्ण राई, विधायकगण, जिल्ला पञ्चायत अध्यक्ष, उपाध्यक्ष, गान्तोक नगर निगमका मेयर, उप मेयर, पार्षदहरू, विभिन्न जीपीयूका पञ्चायतहरूसँगै सिक्किमको ६ वटै जिल्लाबाट ठूलो सङ्ख्यामा भेला भएका महिलाहरूको सहभागिता रहेको थियो।
आईपीआरबाट प्राप्त जानकारीको साथ तयार पारिएको रिपोर्ट