एसडी ढकालले मञ्चको दुरुपयोग नगरुन्

नेपाली साहित्य परिषद्, सिक्किमको भवनमा आयोजित कुनै एउटा कार्यक्रममा नेपाली भाषा परामर्श समिति एवम् सिक्किम सरकारका मुख्यमन्त्रीका सचिव महोदय श्रीमान एसडी ढकाल (शङ्करदेव ढकाल)-ले नेपाली विभाग सिक्किम विश्वविद्यालयका बारेमा दिएको मन्तव्यको खण्डन गर्दै म यहाँ प्रतिउत्तरस्वरूप केही लेख्दैछु। यो लेख मेरो नितान्त व्यक्तिगत लेख वा प्रतिक्रिया हो।

ढकालज्यूले आजमात्र होइन यस्ता विभिन्न मञ्चमा उभिएपछि आफ्नो विषयका विपरीत नेपाली विभाग, सिक्किम विश्वविद्यालयलाई कटाक्ष गर्दै, आलोचना (होइन) निन्दा गर्दै विभिन्न प्रकारका आधारहीन एवम् अज्ञानले पूर्ण विचारहरू प्रकट गरेको खबर नपाएका हौइनौँ। सिक्किम विश्वविद्यालयको नेपाली विभागले यसबारे प्रतिक्रिया गर्छ होला तर यहाँ म एकजना नेपाली भाषा साहित्यको गुरुबाउ, नेपाली विभाग सिक्किम विश्वविद्यालयको सहायक प्राध्यापक भएकाले गर्दा यति प्रतिक्रिया दिनु म मेरो धर्म र कर्तव्य ठान्छु। यदि तपाईँको घरमा कुनै फाल्टो मान्छे आएर, तपाईँका घरका बारेमा, घरका नियम नीतिका बारेमा, आचरण, कार्यप्रणालीका बारेमा आधारहीन कुरा गर्दै, गाली गर्दै जान्छ भने के तपाईँ चुपचाप बाटो लाग्नु हुन्छ? जुन पद र स्थानले मलाई परिचय दिएको छ, सम्मान दिएको छ, जीविका आर्जनका लागि सहयोग गरिरहेको छ त्यस संस्थानका बारेमा कसैले कुरै नबुझी गाली गर्छन् भने उसको अज्ञानतामा प्रकाश पार्नु मेरो धर्म हो। कतिलाई आफ्नो धर्म बोध हुँदैन होला त्यो उनीहरूको विषय हो। तर मलाई यस्ता कुरा सहन हुँदैन।

 

श्री एसडी ढकालले सार्वजनिक रूपमा दिएको मन्तव्य मेरो विभागका लागि भएकाले मेरो प्रतिक्रिया त्यसैमाथि मात्र हो। सम्भवतः उनले मलाई नै भन्न खोजेका हुन् भन्ने मेरो अनुमान पनि छ। विभाग त यहाँ फित्कौली भयो। मेरै नाम गरेर लेख्दा पनि केही थिएन महोदय। सामाजिक सञ्जालमा मलाई सिक्किम विश्वविद्यालयको नेपाली विभागले भाषाबारेमा लेख भनेर आधिकारिक निर्देश दिएको होइन। कोरोना कालमा व्याकरण पढेर बस्दा सिकेका कुराहरू साझा गर्दै आएको हुँ। यो नित्य चलिरहने छ।

सिक्किम विश्वविद्यालयको भाषा अनि साहित्य सङ्कायले एउटा कार्यक्रममा ढकालज्यूलाई निमन्त्रण गरेको थियो। त्यस कार्यक्रममा पनि माननीय राज्यपाल महोदय अनि माननीय कुलपति महोदयका अघाडि यस्तै असान्दर्भिक कुरा गरेर नेपाली विभागले पञ्चम वर्ण चलाउँदैन, वर्णहरू हटाउँदैछ, थोप्ला लगाउँदैन जस्ता कुरा गरेका थिए। त्यस मञ्चमा ती कुराहरूको कुनै सन्दर्भ नै थिएन। उनलाई त्यस समय सिक्किम सरकारको मुख्यमन्त्रीका सचिवका रूपमा आमन्त्रण गरिएको थियो। उनले त्यस क्षण सिक्किम सरकारले नेपाली र अन्य स्थानीय भाषाका लागि के कस्ता कार्य गर्दैछन्, भावी योजनाहरू केके छन् साथै भाषा र संस्कृतिको संरक्षणका लागि सिक्किम सरकार कति गम्भीर छ भन्ने तथ्यहरू राख्न सक्थे। यसबारेमा उनको एउटै शब्द पनि निस्केन। नेपाली भाषाले भारतीय संविधानमा मान्यता दिलाउनाका लागि सिक्किमको भूमिका कस्तो छ भन्नेबारे प्रकाश पार्न सक्थे तर ढकालज्यूलाई नेपाली विभागको बदनाम गराउनु बाहेक अरू केही कुरा आएन। चियाको अवकासमा मैले माननीय कुलपति महोदयका अघाडि नै तपाईँलाई तपाईँका सबै कुरा आधारहीन र तथ्यहीन छ भनेर भनेकै थिएँ। तपाईँलाई त्यस कार्यक्रममा परामर्श समितिको संयोजकका रूपमा निमन्त्रण गरिएको थिएन। सिक्किम सरकारका मुख्यमन्त्रीको सचिवका रूपमा निमन्त्रण गरिएको थियो तर मञ्च र माइक देख्यो कि तपाईँलाई कुन्नि के हुन्छ पञ्चम वर्ण र थोप्ला अनि थोप्ला छैन भने साहित्य अकादमी पुरस्कार दिन्नँ भन्ने रिकर्ड सुरु भइहाल्छ। ढकालज्यू तपाईँले यसरी गरिमामय मञ्चको दुरुपयोग गर्नु उचित देखिँदैन। उचित होइन पनि।

सिवि. नेपाली विभागले तल थोप्ली लगाउँदैन वर्ण हटायो भन्नु भएछ। यो त तपाईँको मुर्खता नै हो भन्छु। हामीले वर्ण कतै पनि हटाएका छैनौँ। हामी भन्दैछौँ थोप्ली लागेको ड ढ -संध्वनि हुन्। यी वर्ण होइनन्। वर्णको वर्गमा यी पर्दैनन्। मेरो कुरा विश्वास लाग्दैन भने भाषाविज्ञानका पुस्तकहरू पढ्न सक्नु हुन्छ नि होइन र? महोदय यी संध्वनि हुन्। यसर्थ थोप्ला नलगाई लेख्दा शब्द वा भाषा गलत हुँदैन भनेका हौँ। यी नेपाली भाषाका वर्ण होइनन्। हामीले ठुलो ऋ लेख्न छाड्यौँ त कसैले थाहा पाएन। किन लेख्न छोड्यो भन्छ र कसैले? भन्दैन नि, किनभने त्यो हामीलाई आवश्यक थिएन। अब, थोप्ली लगाएर लेख्यो भने चाहिँ नेपाली विभागमा विद्यार्थीहरूको अङ्क घटाइदिन्छ भन्नु भएछ। यसको चाहिँ मलाई प्रमाण चाहिएको छ।

नेपाली साहित्य परिषद्को भवनमा आयोजित धन्यवादको कार्यक्रममा आयोजकहरूले तपाईँलाई सिक्किम विश्वविद्यालयको नेपाली विभागबारे बोल्नु भनेर बोलाएको पटक्कै होइन। त्यहाँ पनि मञ्च र माइक देखेपछि पञ्चम वर्ण, थोप्ला अनि थोप्ला छैन भने साहित्य अकादमी पुरस्कार दिन्नँ भन्ने रिकर्ड बज्यो। यति मात्रै होइन यसपालि त तपाईँले सिवि. नेपाली विभागले भाषामा “भाँडभैलो” मच्चाएको कुरा नै गर्नुभयो। थोप्ला छैन भने विभागले विद्यार्थीहरूको अङ्क काट्ने गर्छ सम्म भन्नुभयो। ढकालज्यू तपाईँसित यसको प्रमाण छ? सिक्किम सरकारको माननीय पदमा बसेका व्यक्तिले यसरी प्रमाणहीन, तथ्यहीन कुरा कसरी बोल्न सक्छ? सरकारले उनलाई यसबारे प्रश्न गर्दैन? ढकालज्यू तपाईँ सरकारको माननीय पदमा हुनुहुन्छ। त्यही पदका कारण तपाईँलाई विशेष कार्यक्रमतिर आमन्त्रित गरिन्छ तर तपाईँले त्यस्ता कार्यक्रममा न त आफ्नो पद र सम्मानको ख्याल राख्नु हुन्छ न त सरकारकै सम्मानको ख्याल राखिदिनु हुन्छ। तपाईँले उटपट्याङ्ग बोलेपछि कुरा छरिन्छन्। सोसियल मिडियामा तपाईँको नामसँग सरकार पनि गाँसिन्छ। तपाईँले सामाजिक सञ्जालमा गाली खानु हुन्छ। तपाईँले पाएको गालीको एक अंश सरकारलाई पर्छ। हेर्नुस् त तपाईँले गर्दा सरकार पनि अपमानित हुनु परेन? यसर्थ तपाईँले यसरी मञ्चको दुरुपयोग गर्नु हुँदैन। (म तपाईँभन्दा ज्ञान, उमेर साथै अनुभवमा पनि सानो छु तर यति सम्झाउने संस्कार भने राख्छु।)

सिवि. नेपाली विभागले पञ्चम वर्ण चलाउँदैन भन्नु भएको रहेछ। त्यो भनेको के हो? के हो पञ्चम वर्ण? त्यो जान्नु हो भने मेरो फेसबुक पेज हेर्न सक्नु हुन्छ। मैले त्यहाँ विद्यार्थीहरूका लागि लेखेको छु र लेखिरहन्छु। तपाईँले पनि पेज त फलो गर्नुभएको रहेछ। पढ्नुस् होला। पञ्चम वर्ण संस्कृतका शब्दहरूमा अनिवार्य रूपमा प्रयोग गरिन्छ र नेपाली भने ङ, न, म – मात्र प्रयोग हुन्छ। पञ्चम वर्णको प्रयोगबिना त शब्द नै कसरी लेख्नु? यति मुर्ख छौँ र हामी? भारत सरकारले यति मुर्खलाई त विभागमा नियुक्ति दिएन होला नि होइन र? बरु तपाईँले नै पञ्चम वर्ण बुझ्नु भएको छैन होला। मलाई जहाँसम्म लाग्दैछ तपाईँले अनुस्वार-लाई पञ्चम वर्ण सोचिरहनु भएको होला। महोदय, अनुस्वार चाहिँ य, र, ल, व, श, ष, श, ह वर्णहरू एकै साथ आउँछन् भने लाग्छ। यसरी आउने प्रायः संस्कृतका शब्दहरू हुन्छन्। जस्तै, संसार (स – स आयो र अनुस्वार लाग्यो) हंस (ह अनि स सँगै आयो र अनुस्वार लाग्यो) तर नेपाली शब्दमा अनुस्वारको प्रयोग हुँदैन यसका लागि ङ, न, म -को प्रयोग हुन्छ। कान्छा, काङ्ग्यो, कम्पन इत्यादि। यसमा पञ्चम वर्ण लगाउनु हो भने काञ्छा भन्दै लेख्नुपर्ने हुन्छ। यसैले अनुस्वारलाई पञ्चम वर्ण नठान्नु होला। हामी संस्कृतका शब्दमा पञ्चम वर्णको प्रयोग गर्छौँ र विद्यार्थीहरूलाई पनि सिकाउँछौँ। नेपाली शब्द (तद्भव, आगन्तुक र झर्रा)-मा चाहिँ (ङ, न, म)-को प्रयोग गर्छौँ। यसमा तपाईँ फेल हुनु भयो।

सिवि. नेपाली विभागले तल थोप्ली लगाउँदैन वर्ण हटायो भन्नु भएछ। यो त तपाईँको मुर्खता नै हो भन्छु। हामीले वर्ण कतै पनि हटाएका छैनौँ। हामी भन्दैछौँ थोप्ली लागेको ड ढ -संध्वनि हुन्। यी वर्ण होइनन्। वर्णको वर्गमा यी पर्दैनन्। मेरो कुरा विश्वास लाग्दैन भने भाषाविज्ञानका पुस्तकहरू पढ्न सक्नु हुन्छ नि होइन र? महोदय यी संध्वनि हुन्। यसर्थ थोप्ला नलगाई लेख्दा शब्द वा भाषा गलत हुँदैन भनेका हौँ। यी नेपाली भाषाका वर्ण होइनन्। हामीले ठुलो ऋ लेख्न छाड्यौँ त कसैले थाहा पाएन। किन लेख्न छोड्यो भन्छ र कसैले? भन्दैन नि, किनभने त्यो हामीलाई आवश्यक थिएन। अब, थोप्ली लगाएर लेख्यो भने चाहिँ नेपाली विभागमा विद्यार्थीहरूको अङ्क घटाइदिन्छ भन्नु भएछ। यसको चाहिँ मलाई प्रमाण चाहिएको छ। तपाईँ एउटा उच्च र माननीय पदमा हुनुहुन्छ। तपाईँले बोलेको मानिसले मान्छन् (होला?) तर अन्यले गरेको कार्यक्रममा गएर यस्तो आधारहीन कुरा गर्नु तपाईँलाई लाज लाग्नु पर्ने हो। एकजना उच्च अधिकारले औपचारिक कार्यक्रममा कुन र कसरी कुरा राख्छ, त्यो संस्कार त हुनु पर्ने हो। सिक्किम विश्वविद्यालय पढ्ने एकजना विद्यार्थीले हाम्रा सर गुरुआमाहरूले अङ्क काट्छ भन्छ भने तपाईँको जित हुन्छ र म तपाईँलाई सार्वजनिक रूपमा क्षमा माग्छु तर महोदय हामीले यस्तो कुसंस्कार विभागमा हुर्काएका छैनौँ। माननीय ठानेर बोलाइएका मञ्चको दुरुपयोग नगर्नुहोस्।

सिवि. नेपाली विभागलाई कसले अधिकार दियो भाषा बिगार्नु भन्ने तपाईँको प्रश्न रहेछ। महोदय यो प्रश्न सोध्न अधिकार तपाईँलाई चाहिँ कसले दियो? तपाईँको पाँच बर्से परामर्श समितिले? तपाईँको विचार नै कति निकृष्ट देखेँ मैले त। यो विश्वविद्यालय हो। पाँच बर्से परामर्श समिति होइन। यहाँ प्रत्येक कुरा विभागीय विमर्शबाट हुन्छ। हामीले सुरुदेखि नै ”भारत सरकारको CILL र सिक्किम अकादमीको संयुक्त प्रकाशनबाट प्रकाशित नेपाली लेखन शैलीलाई आधार मान्दै आइरहेका छौँ। त्यसमा केही सुधार गरेर तिनवटा विश्वविद्यालय मिलेर सहमतिमा वर्णविन्यासको प्रयोग गरिरहेका छौँ। हामीलाई साहित्य अकादमीको परामर्श समितिले कुनै पनि विषयमा निर्देश दिन सक्तैन। यति कुरा त बुझ्नुपर्ने हो तपाईँले..होइन र?”

महोदय तपाईँसँग मेरो व्यक्तिगत कुनै वैर छैन। म त व्यक्तिगत रूपमा तपाईँलाई चिन्दिनँ पनि। नचिनेकै बेस पनि हो तर आफूलाई आमन्त्रित गरिएका मञ्चमा गएर सिक्किम विश्वविद्यालय नेपाली विभागलाई बदनाम गराउने काम नगर्नुहोस्। यसले तपाईँ आफै मुर्ख बन्ने कार्य गरिरहनु भएको छ। हेर्नुस्- मलाई त अकादमी पुरस्कार चाहिएन। तपाईँको जय जय गरेर थोप्ला लगाउनेहरूलाई छानी छानी दिनुहोस्। हात मुख पसारेर समाजमा बसिरहेका छन् त्यस्ता लेखक र साहित्यकारहरू। थोप्ला लगाऊ वा नलगाऊ त्यो ठुलो विषय होइन। हाम्रो विषय हो भाषा चिनाउने, बुझाउने। आज नभए पनि समयमा समाजले अवश्य सत्य कुरा बुझ्ने छन्।

म सिक्किम आएको १३ वर्ष भयो। आएकै दिनदेखि मैले सिक्किमेली युवाहरूका लागि काम गर्दै आइरहेको छु। आउने दिनका लागि सिक्किममा युवाहरू कस्तो हुनुपर्ने हो भन्ने भिजन राखेर म काम गर्छु। गत तिन वर्षदेखि सामाजिक सञ्जालमा भाषाबारे लेखिरहेको छु। कतिले सिकिरहेका छन् कतिले मान्दैनन् त्यो ठिकै छ। म लेखिरहन्छु। विगत एक दुई वर्षदेखि पूर्वोत्तर भारतका, पश्चिम बङ्गालका र बनारसमा पढ्ने नेपाली भाषा साहित्यका विद्यार्थीहरूलाई निशुल्क अनलाइन नेट र स्लेटका लागि पढाइरहेको छु। धेरै विद्यार्थीहरूले उक्त परीक्षाहरू उतीर्ण गरेर कलेजतिर काम गरिरहेका छन्। म सिक्किममा अझै तिस वर्षसम्म छु र यहाँका युवाहरूका लागि काम गरिरहन्छु। मलाई यो कर होइन, रहर होइन यसलाई म आफ्नो कर्तव्य ठान्छु साथै म बसेको समाज भारतीय नेपाली समाज हो र यहाँका युवाहरू मेरा लागि सबै आफ्ना हुन्। तपाईँहरूले मञ्चको दुरुपयोग गरेर यस्ता वक्तव्य-विचार दिँदा मलाई अझै प्रेरणा मिल्छ। यसर्थ महोदय तपाईँ सिक्किम सरकारको माननीय पदमा हुनुहुन्छ। त्यहाँ बसेर तपाईँले समाज निर्माण, राज्य निर्माणका कुरा गर्दै युवाहरूलाई प्रेरित गर्नुपर्ने हो। हामी यहाँ मानव संशाधन निर्माण गरिरहेका छौँ। हामीले पठाएका युवाहरू भनेको सिक्किमका लागि हो। तपाईँ विचार गर्नुहोस् अबको दस-बिस वर्षपछि सिक्किममा कस्ता युवाहरूको आवश्यकता पर्छ होला? हामी मिलेर यता काम गरौँ होइन र? किन मञ्चको दुरुपयोग गरी आफ्नो बदनाम गराउनु हुन्छ? महोदय म तपाईँसँग र तपाईँले पठाउनु हुने समितिसँग भाषाबारे चर्चा गर्नु तयार छु। कार्यक्रम राख्नुहोस् अनि निमन्त्रण गर्नुहोस्, म वचन दिन्छु म पक्का आउँछु। तपाईँको सुस्वास्थको कामना सहित- धन्यवाद।

परिचय

Leave a Reply

Your email address will not be published. Required fields are marked *