दिवङ्गत शिक्षकको नाममा पनि ट्रान्सफर अर्डर? सीएपीले उठायो प्रश्न

गान्तोक, १० सेप्टेम्बर: सिटिजन एक्सन पार्टी-सिक्किमले राज्य सरकारको शिक्षा विभागद्वारा २०२४-को शैक्षिक सत्रको मध्यमा गरिएको प्राथमिक शिक्षकहरूको सामुहिक स्थानान्तरणलाई लिएर चिन्ता व्यक्त गरेको छ। यसै क्रममा हालै निधन भएका सदाम उच्चतर माध्यमिक विद्यालयका दिवङ्गत शिक्षक खर्गबहादुर कार्कीको नाममा पनि विभागले स्थानान्तरण आदेश जारी गरेर अमानवीय र अज्ञानतापूर्ण कार्य गरेको सिटिजन एक्सन पार्टीले बताएको छ। यस कार्यले सिक्किममा सरकारी संस्थाहरूलाई कतिको कमजोर व्यवस्थापन गरिँदैछ भनेर प्रतिबिम्बित गर्दछ भन्दै शिक्षकहरूप्रति सरकारले ठूलो अनादर गरेको पार्टीले उल्लेख गरेको छ।

स्थानान्तरणको निर्णयले पहिलेदेखि नै धेरै चुनौतीहरूको सामना गरिरहेको शिक्षा प्रणालीको प्राथमिक तहप्रति वर्तमान सरकारको प्रतिबद्धतामाथि महत्त्वपूर्ण प्रश्न खडा गरेको पार्टीले बताएको छ। ५९-जना प्राथमिक शिक्षकको सामुहिक स्थानान्तरणको सूचीमा १५-जना राई, ९-जना शर्मा, ९-जना लेप्चा, ७-जना छेत्री, भोटिया, लिम्बू र गुरुङ ४-४ जना, ३-जना प्रधान, २-जना शेर्पा र १–१-जना मुखिया र अनुसूचित जातिका रहेको सिटिजन एक्सन पार्टीले प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ।

 

सिक्किम क्रान्तिकारी मोर्चाले विपक्षमा हुँदा शैक्षिक सत्रको बीचमा शिक्षकहरूको स्थानान्तरण गर्ने कुराको कडा विरोध गर्ने गरेको तर आज आफूले विगतमा आलोचना गरेको त्यही दृष्टिकोणलाई अपनाइरहेको सीएपी-ले बताएको छ। यो विपरित अडानले राज्यको शिक्षाको गुणस्तरप्रति सरकारमा चासोको अभाव छ भन्ने कुरालाई उजागर गरेको पार्टीले प्रवक्ता अल्बर्ट गुरुङद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ।

प्राथमिक तहमा विद्यार्थीहरूको भर्नामा कमी आइरहेको र अन्य विभागमा प्राथमिक शिक्षकहरूलाई स्थानान्तरण गरेको विषयमा शिक्षा विभागले गम्भीर प्रश्नको सामना गरिरहेको र यस्तो निर्णायक समयमा शिक्षक स्थानान्तरण गर्ने निर्णयले नेतृत्वको असफलता झल्काउने सिटिजन एक्सन पार्टीले बताएको छ। विगतमा एसकेएमले शैक्षिक प्रक्रियामा यस्ता बाधाहरू रोक्न स्पष्ट स्थानान्तरण नीति बनाउने वाचा गरेको तर त्यो वाचा अझै पूरा हुन नसकेको पार्टीले बताएको छ। ग्रामीण क्षेत्रका विद्यार्थीहरूमा पर्ने प्रतिकूल प्रभावलाई ध्यान नदिई स्थानान्तरणलाई स्वीकृत दिएको भन्दै पार्टीले वर्तमान शिक्षामन्त्री राजु बस्नेतप्रति निराशा व्यक्त गरेको छ। साना बालबालिकाको पढाइमा परेको असरलाई वास्ता नगरी गरिएका यस्ता निर्णयहरू चिन्ताजनक रहेको तर विभाग प्रमुखलाई आफ्नो वरिपरि भइरहेको घटनाक्रमबारे पूर्णतया अनभिज्ञ देखिएको पार्टीले प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ।

प्रेमसिंह तामाङको नेतृत्वमा रहेको सरकारले ‘भिक्टिमाइज नीति’अन्तर्गत अचानक यी स्थानान्तरण गरेको सिटिजन एक्सन पार्टीले आरोप पनि लगाएको छ। सरकार सिक्किममा विद्यार्थीहरूको हित र शिक्षाको भविष्यमा ध्यान केन्द्रित गर्नुको सट्टा केही व्यक्तिहरूलाई सजाय दिनेतिर बढी ध्यान दिइरहेको पार्टीले बताएको छ। शिक्षकहरूको सामुहिक स्थानान्तरण तत्काल फिर्ता लिन पार्टीले माग पनि गरेको छ।

परिचय

Leave a Reply

Your email address will not be published. Required fields are marked *