गान्तोक, १० सेप्टेम्बर: गत ५ सेप्टेम्बरको दिन भारत-तिब्बत सीमा पुलिस (आईटीबी)-का जवान राजा रामलाई गान्तोकको राजभवनको भीआईपी गेटमा मृतक अवस्थामा भेटिएको थियो भने उनले ब्ल्याकमेलिङका कारण आफैलाई गोली हानेर आत्महत्या गरेको थाहा लागेको छ।
पुलिसले दिएको जानकारीअनुसार, मृतकले ५ सेप्टेम्बरको दिन ड्युटीमा रहँदा सेवा हतियार (इन्सास)-ले आफैँलाई गोली हानेर आत्महत्या गरेका हुन्। पुलिसले छानबिनको क्रममा मृतकको मोबाइल फोन हेरेपछि उनले ब्ल्याकमेलिङ र सेक्सटोर्शनका कारण आत्महत्या गरेको थाहा लागेको बताएको छ। उनलाई केही व्यक्तिहरूले तीनवटा वाट्सएप्प नम्बरबाट म्यासेज गरेर पैसा ट्रान्सफर नगरेमा गुगल वा युट्युबमा अपरिचित केटीसँगको फोटो अपलोड गर्ने धम्की दिएर ब्ल्याकमेल गरिरहेका थिए। मृतकले दुईपटक ९८,५०० र ६५,४९९ गरेर कुल १६४,००० रुपियाँ ती व्यक्तिहरूलाई ट्रान्सफर गरिसकेको तर यी सबै कुरालाई बन्द गर्नका लागि ती व्यक्तिहरूले थप १ लाख रुपियाँ मागिरहेको विभिन्न वाट्सएप्प म्यासेज मार्फत थाहा लागेको पुलिसले बताएको छ।
छानबिन गर्दा उनको मृत्युको कारण सेक्सटोर्शन रहेको थाहा लागेको छ। यस मुद्दामा अझै छानबिन भइरहेको छ भने दुईजनालाई बीएनएसएस-को १७० सेक्सन र एकजनालाई बीएनएएस-को सेक्सन ३५-अन्तर्गत हिरासतमा लिइएको छ।