सिङ्ताम, १४ सेप्टेम्बर: सिक्किम वीर गोर्खा भूतपूर्व सैनिक कल्याण संस्थाको आज सिङ्ताममा आफ्नो पहिलो वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न भयो। महासचिव विमल थापाको नेतृत्वमा भएको कार्यक्रममा पूर्व सैनिकको हितमा संस्थाको समर्पण र विभिन्न सामुदायिक सेवामा सक्रिय भूमिकामा जोड दिएइएको थियो।
आफ्नो सम्बोधनमा थापाले संंस्थाले स्थापनाकालदेखि नै गरेका विभिन्न पहलकदमीका बारेमा प्रकाश पारेका थिए। यसमा रक्तदान अभियान, चिकित्सा शिविर, र पूर्व-सैनिक (ESM) परिवारहरूका लागि गरिएका कल्याणकारी पहलहरूलाई समर्थन गर्ने उद्देश्यले गरिएका जागरूकता र आउटरिच कार्यक्रमहरू समावेश छन्। उनले समुदायमा गौरव र सम्मानको भावना जगाउने ‘बलिदान दिवस’ र सेना दिवस समारोहहरू आयोजना गर्न साथै संकट समाधान प्रयासहरूमा संस्थाले महत्त्वपूर्ण भूमिका खेलेको बताए।
यसरी नै संस्थाले वृक्षारोपण अभियान र सडक मर्मत कार्यहरू आयोजना गरेर वातावरणीय र पूर्वाधार सुधारमा योगदान पुर्याउँदै आइरहेको छ भने सामुदायिक संलग्नतालाई सुदृढ गर्न, संस्थाले र्याफल ड्र जस्ता विभिन्न कार्यक्रमहरू आयोजना गरेर पूर्व सैनिक समुदायलाई एकजुट मात्र नगरेर कल्याणकारी गतिविधिहरूका लागि रकम पनि आर्जन गरेको बताइएको छ।
साधारणसभाले सदस्यहरूलाई संस्थाको उपलब्धिहरू प्रतिबिम्बित गर्न र सिक्किममा पूर्व-सैनिकहरू र उनीहरूका परिवारहरूका लागि सेवा र कल्याणको मिशन जारी राख्न अनि भविष्यका प्रयासहरूको योजना बनाउन मञ्च पनि प्रदान गरेको बताइएको छ।