गेजिङ, २३ सेप्टेम्बर: भारत सरकारको उत्तर पूर्वी क्षेत्र विकास मन्त्रालय (डोनर)-ले देन्तामस्थित प्रसिद्ध सिङसोर झोलुङ्गे पुललाई ग्लास-डेक स्काइवाकमा रूपान्तरण गर्न स्वीकृति दिएको छ। यो परियोजना सिक्किम सरकारको पर्यटन एवम् नागरिक उड्डयन विभागले निरीक्षण गरिरहेको छ। यसको उद्देश्य पुललाई प्रमुख पर्यटकीय आकर्षणको रूपमा विकास गर्नु रहेको बताइएको छ।
सिक्किम सरकारको पर्यटन एवम् नागरिक उड्डयन विभागका प्रमुख इन्जिनियरले गेजिङ जिल्लाका जिल्लापाललाई २० सेप्टेम्बर २०२४ मा पठाएको पत्रमा, यो पुललाई प्राविधिक परीक्षण र रूपान्तरण कार्यका लागि आधिकारिक रूपमा हस्तान्तरण गरिएको पुष्टि गरेका छन्। यसअघि यो पुल सडक तथा पुल विभागले व्यवस्थापन गर्दै आएको थियो।
पुलमा सवारी आवागमन २१ सेप्टेम्बर २०२४ देखि अस्थायी रूपमा रोकिएको छ र यो प्रतिबन्ध २६ सेप्टेम्बर २०२४ सम्म कायम रहनेछ। यात्रुहरूलाई वैकल्पिक डाइभर्सन रोड प्रयोग गर्न सल्लाह दिइएको छ।
एसियाकै एउटा उच्च स्थानमा रहेको सिङसोर झोलुङ्गे पुललाई ग्लास स्काइवाकमा रूपान्तरण गर्दा यस क्षेत्रमा पर्यटनलाई ठूलो मात्रामा बढावा पुग्ने आशा गरिएको छ।