गान्तोक, ८ अक्टोबर: सिक्किम प्रोग्रेसिभ युथ फोरम (एसपीवाईएफ)-ले सरकारी कर्मचारीहरूले दसैँ सुरु हुनै लाग्दा पनि वेतन नपाएको भन्दै सिक्किम सरकारमाथि प्रश्न उठाएको छ। प्रत्येक सरकारी कर्मचारीको वेतन नियमित समयमा प्रदान गरिनुपर्छ भन्दै एकजना कर्मचारीले महिनाभरी श्रम गरेपछि महिनाको अन्त्यमा वेतन पाउनु उसको अधिकार रहेको फोरमले उल्लेख गरेको छ। मुख्यमन्त्रीले दसैँअघि कर्मचारीहरूले वेतन पाउने भने तापनि आजसम्म नपाएको एसपीवाईएफ-ले मंगलबार जारी प्रेस विज्ञाप्तिमा उल्लेख गरेको छ।
महिना बितेर जाँदा पनि वेतन नदिनु अन्याय र अपराध हो भन्दै एसपीवाईएफ ले भनेको छ, “संसारमा कुनै देश छैन जहाँ काम गरेबापत वेतन नदिइएको होस्। तर दुःखको कुरा के छ भने, सिक्किममा विगत छ-सात महिनादेखि नवनियुक्त हजारौँ कर्मचारीगणको वेतन दिइएको छैन।” सरकारमा काम गर्ने ठूला कर्मचारीको तनखा महिनै पछि आइरहेको, मन्त्रीगण, विधायकगण साथै मुख्यमन्त्री सबैको पनि समयमा पैसा आइरहेको “तर किन सामान्य कर्मचारीगणको भने समयमा वेतन आउँदैन?” भन्दै फोरमले प्रश्न गरेको छ।
एसपीवाईएफको भनाइअनुसार, “एक महिनाको वा दुई महिनाको मात्र होइन, जसले जति काम गरेको छ, त्यो सबै पैसा सरकारले दिनुपर्छ।” फोरमले सरकारको कार्यशैलीमा पनि गुनासो गर्दै भनेको छ, “सिक्किम क्रान्तिकारी मोर्चा सरकारले जहिले पनि अन्तिम क्षणमा काम गरिदिए झैँ गर्ने चलन बनाएको छ। कर्मचारीहरूको स्थायीकरण गर्दा पनि चुनाउको मुखमा गर्न लगाएर हजारौँ मान्छेले दुःख पाएका थिए।”
दसैँ नजिकै आइरहेको बेला मुख्यमन्त्रीले दसैँअघि वेतन दिने घोषणा गरे तापनि कर्मचारीले आजसम्म वेतन पाएका छैनन् भन्दै फोरमले चिन्ता व्यक्त गरेको छ। “अब भोलिदेखि दसैँ सुरु हुन्छ। यसरी आम साधारण जनताले कहिले बजार जाने? आवश्यक सामग्री कतिबेला खरिद गर्ने?” फोरमले प्रश्न उठाएको छ। फोरमले थप भनेको छ, “यदि वेतन दिइयो भने पनि दसैँको बीचमा बैंक कुद्नु पर्ने स्थिति आइपर्छ। यसरी जताबाट पनि आम जनसाधारणलाई दुःख दिने काम मात्रै भइरहेको छ।”
प्रत्येक सरकारी कर्मचारीले नियमित समय र नियमित ढङ्गले वेतन पाउनुपर्ने एसपीवाईएफ-ले माग गरेको छ। फोरमले भनेको छ, “कर्मचारीहरूले आफूले गरेको कामको उचित मूल्य समयमै सम्मानजनक ढङ्गले पाउनुपर्छ।”