गान्तोक, २० अक्टोबर: सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम)-ले आज एउटा प्रेस सम्मेलन गरेर आधिकारिक रूपमा आगामी उपचुनाउका लागि सोरेङ-च्याखुङको उम्मेदवारको रूपमा आदित्य गोले तामाङ र नाम्ची-सिङ्गिथाङको उम्मेदवारको रूपमा सतिशचन्द्र राईको नाम घोषणा गरेको छ। पत्रकार सम्मेलनमा मुख्यमन्त्री प्रेमसिंह तमाङका राजनैतिक सचिव जेकब खालिङले पार्टीको उक्त घोषणा सार्वजनिक गरेका हुन्। एसकेएमको संसदीय बोर्डले मुख्यमन्त्रीलाई आफ्नो रिपोर्ट आज बुझाएको थियो। यी दुईवटा क्षेत्रमामा उपचुनाउ आगामी १३ नोभेम्बरमा हुनेछ।
आदित्य गोले तामाङ २०१९-देखि २०२४-सम्म सोरङ-च्याखुङका विधायक थिए। मख्यमन्त्री तमाङले २०२४-को सिक्किम विधानसभा चुनाउमा सोरङ-च्याखुङ र रिनाक दुवै क्षेत्रमा विजय प्राप्त गरेपछि सोरङ-च्याखुङको सीट छोडेका थिए। यसरी यो सिट खाली भएको थियो।
नाम्ची-सिङ्गिथाङमा पनि १३ नोभेम्बरमा उपचुनाउ हुनेछ। यो सिट विधायक कृष्णा राईको राजीनामापछि खाली भएको थियो। एसकेएमले सतिशचन्द्र राईलाई नाम्ची-सिङ्गिथाङको उपचुनावका लागि उम्मेदवारको रूपमा चयन गरेको छ।
मुख्यमन्त्री प्रेमसिंह तमाङले पार्टीका दुई उम्मेदवारलाई बधाई दिएका छन्। मुख्यमन्त्रीले लेखेका छन्, “आगामी उपचुनावका लागि ०७-सोरेङ च्याखुङ क्षेत्रबाट आदित्य गोले र ११-नाम्ची सिङ्गिथाङ क्षेत्रबाट सतिशचन्द्र राईलाई एसकेएम पार्टीको उम्मेदवारको रूपमा मनोनयन भएकोमा हार्दिक बधाई दिन चाहन्छु।”
दुई उम्मेदवारलाई सफलताको कामना गर्दै उनीहरूले पार्टीको प्रतिनिधित्व पूर्ण समर्पणका साथ गर्ने र सदा सिक्किमेली जनताको कल्याणप्रति प्रतिबद्ध रहने कुरामा पनि मुख्यमन्त्रीले आशा व्यक्त गरेका छन्।
दुई उम्मेदवारले सोमबार आफ्नो नामाङ्कन दर्ता गर्ने बताइएको छ।