मंगन-जङ्गु सडक मार्गलाई जोड्ने नवनिर्मित साङ्कलाङ पुल उद्घाटित; टुङ-नागा सडक ३१ जनवरीसम्म बन्द रहने

मंगन, २ जनवरी: उत्तर सिक्किमको मंगन-जङ्गु सडक मार्गलाई जोड्ने नवनिर्मित साङ्कलाङ बेली पुलको उद्घाटन आज मंगन जिल्लाकी जिल्ला उपाध्यक्ष सोनाम किपा भोटियाले गरेकी छन्। उद्घाटन कार्यक्रममा ७२ इन्जिनियर रेजिमेन्टका कमान्डिङ अफिसर कर्नेल आलोक शङ्कर र १०७ आरसीसीका अफिसर कमान्डिङ मेजर रामलखन तेवतियाको उपस्थिति रहेको थियो भने जङ्गु क्षेत्रका जिल्ला तथा पञ्चायत सदस्यहरू, जीआरइएफ, बीआरओ-का अधिकारीहरू साथै सर्वसाधारणहरू उपस्थित थिए।

२४ टन भार वहन गर्नसक्ने क्षमता र १८० फिट लम्बाइ रहेको यो पुल त्रिशक्ति साप्परले सिमा सडक सङ्गठनको सहकार्यमा निर्माण गरेको हो। निर्माण कार्य २६ डिसेम्बर २०२४-मा सुरु भई १ जनवरी २०२५-मा सम्पन्न भएको बताइएको छ। उत्तर सिक्किमका कठिन भूभागमा यातायात पुनःस्थापनामा सहजता प्रदान गर्ने विशेष उद्देश्यले यो पुल बनाइएको बताइएको छ। गर्मी मौसममा जलस्तर वृद्धि हुने कारणले यो पुललाई त्यतिबेलासम्मका लागि मात्र सञ्चालनमा राखिनेछ।

साङ्कालाङ पुल, जङ्गु

मंगन जिल्लाकी जिल्ला उपाध्यक्ष सोनाम किपा भोटियाले त्रिशक्ति कोर्प र बीआरओको अथक परिश्रमको प्रशंसा गर्दै यस पुलले जङ्गु र मङ्गन क्षेत्रलाई जोड्न ठूलो भूमिका खेल्ने बताएकी छन्। पुलले स्थानीयहरूलाई यातायात र अत्यावश्यक सेवामा सुधार ल्याउन मद्दत पुर्‍याउने विश्वास गरिएको छ। मुख्यमन्त्री प्रेमसिंह तमाङको नेतृत्वमा र वन एवम् पर्यावरण विभागका मन्त्री एवम् जङ्गु क्षेत्रका विधायक पिन्चो नामग्याल लेप्चाको निर्देशनमामा यो कार्य सम्पन्न भएको बताउँदै उपाध्यक्ष भोटियले धन्यवाद व्यक्त गरेकी छन्।

२०२३-को अक्टोबर महिनामा हिमनदी ताल विस्फोट (GLOF) प्रकोपका कारण मुख्य पुल बगाएपछि क्षतिग्रस्त भएको सडक यातायातलाई पुनः स्थापित गर्न यहाँ नयाँ बेली पुल निर्माण गरिएको हो।

अर्कोतर्फ गत १ डिसेम्बरदेखि सुरु भएको टुङ-नागा राजमार्ग मर्मत कार्यका लागि ३१ जनवरी २०२५-सम्म बन्द रहने जानकारी पाइएको छ। यो अवधिमा सबै पर्यटक सवारीसाधन र स्थानीयहरूले साङ्कालाङ हुँदै यात्रा गर्ने व्यवस्था गरिएको छ।

परिचय

Leave a Reply

Your email address will not be published. Required fields are marked *