मंंगन, १६ मार्च: उत्तर सिक्किमको मंगन जिल्लाअन्तर्गत पाक्सेपमा गएराति पर्यटक सवार गाडी दुर्घटनामा परेपछि १० जना घाइते भएका छन्। घाइतेहरू भारतीय प्रौद्योगिकी संस्थान (आईआईटी) धनबादका विद्यार्थी भएको पुष्टि भएको छ।
प्राप्त जानकारीअनुसार, महेन्द्रा म्याक्स गाडीमा सवार १० पर्यटक (६ पुरुष र ४ महिला) लाचुङबाट गान्तोकतर्फ जाँदै गर्दा गाडी अनियन्त्रित भई लगभग १०० फिट तल खसेको थियो। दुर्घटना गएराति करिब ९:३० बजे पाक्सेप फरेस्ट डाँडा क्षेत्रमा भएको हो।
दुर्घटनापछि स्थानीय प्रशासन र उद्धार टोलीले घाइतेहरूलाई तुरुन्तै अस्पताल पुर्याएका थिए। तीनजना गम्भीर घाइतेलाई थप उपचारका लागि गान्तोक रेफर गरिएको छ भने अन्यको मंगनमै उपचार भइरहेको छ।