गान्तोक, २६ मार्च: वर्ष २०२५-२६ का लागि चार दिवसीय बजेट अधिवेशन मंगलबार सिक्किम विधानसभामा सुरु भयो।
पहिलो दिन, मुख्यमन्त्री प्रेमसिंह तामाङले आर्थिक वर्ष २०२४-२५ का लागि दोस्रो अनुपुरक अनुदान माग सदनमा प्रस्तुत गरे। सदनले आर्थिक वर्ष २०२४-२५ को बाँकी अवधिका लागि आवश्यक अतिरिक्त खर्च पूरा गर्नका लागि दोस्रो अनुपुरक अनुदान मागलाई विचार गरेर पारित गर्यो। यससँगै सम्बन्धित विनियोजन विधेयक (Appropriation Bill) लाई पनि सर्वसम्मतिले पारित गरियो।
यसैबीच, मुख्यमन्त्री तथा गृह विभागका मन्त्रीसमेत रहेका तामाङले “क्रिमिनल प्रोसीजर कोड (संशोधन) विधेयक २०२२” लाई फिर्ता लिएको जानकारी सदनलाई गराए। राष्ट्रपतिको स्वीकृतिका लागि केन्द्रमा पठाइएको उक्त विधेयक नयाँ “भारतीय नागरिक सुरक्षा संहिता २०२३ (BNSS)” को कार्यान्वयन भएपछि फिर्ता लिइएको हो।
यसअघि, शिक्षा मन्त्री राजु बस्नेतले “क्यापिटल युनिभर्सिटी (संशोधन) विधेयक २०२५” सदनमा पेश गरे। यस संशोधनले विश्वविद्यालय अनुदान आयोग (UGC) का मापदण्डअनुसार सम्बद्धता दिने प्रावधान राख्नेछ। उक्त विधेयकमाथि छलफल बुधबार हुनेछ।
बुधबार नै राज्यपाल ओमप्रकाश माथुरले सदनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। त्यसपछि मुख्यमन्त्रीले राज्यको बजेट २०२५-२६ पेश गर्नेछन्।