गान्तोक, २६ मार्च – मुख्यमन्त्री प्रेमसिंह तामाङले वित्तीय वर्ष २०२५-२६ का लागि १६१९६ करोड रूपैयाँको बजेट प्रस्तुत गरेका छन्। ११औं सिक्किम विधानसभाको द्वितीय सत्र (भाग तीन) अन्तर्गत आज दोस्रो दिन उनले सदनमा बजेट पेश गरेका हुन्। उक्त बजेटमाथि भोलि बिहीबार छलफल हुने छ भने शुक्रबार पारित गरिनेछ।
सातौं पटक वार्षिक बजेट पेश गर्दै मुख्यमन्त्री तामाङले भने, “सरकारले वित्तीय वर्ष २०२५-२६ का लागि १६६४७ करोड रूपैयाँको कुल खर्चको प्रावधान गरेको छ। ४५१ करोड रूपैयाँको राजस्व संकलनपछि शुद्ध व्यय १६१९६ करोड रूपैयाँ पुगेको छ, जसले राज्यको विकासमा वित्तीय स्रोतहरूको प्रभावकारी उपयोगलाई सुनिश्चित गर्दछ।”
मुख्यमन्त्रीले बजेटलाई राज्यको वित्तीय सुदृढता, दिगो विकास र जनकल्याणको प्रतिबिम्ब भएको बताए। उनले भने, “यो बजेट सिक्किमको अर्थतन्त्रलाई मजबुत बनाउने, समावेशी वृद्धिलाई प्रवर्द्धन गर्ने र विकासको लाभ सबै नागरिकसम्म पुर्याउने लक्ष्य राखेको छ।”
उनले सिक्किमलाई भारतको सबैभन्दा एकीकृत राज्य भएको उल्लेख गर्दै भने, “देशको सबैभन्दा उच्च प्रतिव्यक्ति आय, अपेक्षाकृत धेरै उच्च वृद्धि दर, राष्ट्रिय सुरक्षा र राष्ट्रिय हित संरक्षण, शान्ति, प्राकृतिक स्रोत, जैवविविधता, सांस्कृतिक पारिस्थितिकी संरक्षण तथा जलवायु परिवर्तनसम्बन्धी अनुकूलन र न्यूनीकरणका प्रमुख केन्द्रका रूपमा सिक्किमको महत्त्वपूर्ण स्थान रहेको छ।”
मुख्यमन्त्रीले शिक्षा, स्वास्थ्य, पर्यावरण, विज्ञान तथा प्रविधि, पर्यटन, खेलकुद र ग्रामीण विकास क्षेत्रमा लागू गरिएका विभिन्न योजनाहरूको चर्चा गरे। उनले शासन, योजना र आर्थिक वृद्धिका लागि इन्स्टिच्युट फर ट्रान्सफर्मिङ सिक्किम (आईटीएस) गठनबारे जानकारी दिँदै भने, “आईटीएसले नीति आयोगसँग सहकार्य गर्दै नीतिगत सुधारहरू निरीक्षण गर्नेछ र ‘विकसित भारत २०४७’ तर्फ सिक्किमको विकासलाई मार्गदर्शन गर्नेछ।”
मुख्यमन्त्रीले सिक्किमले १६ मई, १९७५ देखि एक सानो हिमाली राज्यबाट विश्वव्यापी रूपमा मान्यता प्राप्त ‘मोडेल राज्य’ को रूपमा आफूलाई स्थापित गरेको बताए। सिक्किमको ५०औं राज्य स्थापना दिवस मनाउन वर्षभरि विशेष समारोह आयोजना गरिने जानकारी दिँदै उनले भने, “यस समारोहको शुभारम्भ देशका प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा हुनेछ।”
प्रधानमन्त्री मोदीको भ्रमणका क्रममा उनले ५०० बेडेड नाम्ची जिल्ला अस्पताल, स्वर्ण जयन्ती मैत्रेय मंजरी, अटल बिहारी वाजपेयीको मूर्ति, साङ्गछोइलिङमा यात्रु रोपवे को उद्घाटन गर्ने जानकारी दिए। साथै, प्रधानमन्त्रीको बाहुलीबाट नाम्चीमा स्वर्ण जयन्ती सम्मेलन केन्द्र, भालेढुङ्गा स्काईवाक, नथुला सीमा पर्यटन विकास, सिङशोर ब्रिज, स्वर्ण जयन्ती एकीकृत सांस्कृतिक तथा खेलकुद गाउँ, र तादोङमा महिला छात्रावासको शिलान्यास गरिने पनि उनले सदनलाई जानकारी गराए।