दार्जिलिङ, २६ मार्च: आगामी २ अप्रिलमा नयाँ दिल्लीमा त्रिपक्षीय वार्ता आयोजना हुने दार्जिलिङका सांसद राजु विष्टले बताएका छन्। उनले गृह मन्त्रालयले केन्द्र सरकार, दार्जिलिङ पहाड, तराई र डुवर्स क्षेत्रका सबै सरोकारवालाहरू तथा पश्चिम बंगाल सरकार सम्मिलित दोस्रो चरणको त्रिपक्षीय वार्ता गराउने जानकारी दिएका छन्।
वार्ता २ अप्रिल, २०२५-का दिन बिहान ११ बजे, नयाँ दिल्लीको नर्थ ब्लकमा हुनेछ, जसको अध्यक्षता भारत सरकारका गृह राज्यमन्त्रीले गर्नेछन्। सांसद विष्टका अनुसार केन्द्र सरकार क्षेत्रका जनताको लामो समयदेखिको माग सम्बोधन गर्न शान्तिपूर्ण संवाद र समग्र दृष्टिकोण अपनाउँदै प्रतिबद्ध रहेको छ।
आज जारी प्रेस विज्ञप्तिमा, सांसद विष्टले प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहको नेतृत्वमा धेरै ऐतिहासिक विवादास्पद मुद्दाहरू सौहार्दपूर्ण रूपमा समाधान गरिएको उल्लेख गरेका छन्। उनले यो वार्ता फलदायी हुने र क्षेत्रका जनताका लागि सकारात्मक परिणाम ल्याउने विश्वास व्यक्त गरे। साथै, दार्जिलिङ पहाड, तराई र डुवर्सका जनताको न्याय सुनिश्चित गर्ने प्रतिबद्धताप्रति प्रधानमन्त्री मोदी र गृहमन्त्री अमित शाहप्रति आभार व्यक्त गरेका छन्।