सिक्किम विधानसभाले पारित गर्‍यो विभिन्न क्षेत्रका लागि बजेट अनुदान

गान्तोक, २७ मार्च: ११औँ सिक्किम विधानसभाको द्वितीय सत्र (भाग-३) अन्तर्गत तेस्रो दिनको बैठक आज सिक्किम विधानसभा सचिवालयमा सम्पन्न भयो। बैठकमा विभिन्न विधेयकहरू पारित हुनुका साथै बजेटमाथि छलफल भयो।

बैठकमा शिक्षा विभागका मन्त्रीद्वारा प्रस्तुत अटल बिहारी वाजपेयी स्किल युनिभर्सिटी सिक्किम विधेयक २०२५, सेङ्गोल इन्टरनेशनल युनिभर्सिटी विधेयक २०२५, र फ्युजन युनिभर्सिटी सिक्किम विधेयक २०२५ पारित भयो। यी विधेयकहरू बुधबार प्रस्तुत गरिएका थिए, जसलाई आजको सत्रमा बहसपछि पारित गरियो।

यसैगरी, बजेट सत्रको दोस्रो दिन प्रस्तुत राज्यपालको अभिभाषणमाथि धन्यवाद प्रस्ताव पनि बैठकमा छलफलका लागि राखिएको थियो। यद्यपि, कुनै विशेष छलफल नभएको कारण, उक्त प्रस्तावलाई मतदानमार्फत पारित गरियो।

वित्तीय वर्ष २०२५-२६ को बजेटमाथि छलफलको क्रममा विभिन्न मन्त्री र विधायकहरूले आफ्नो विचार प्रस्तुत गरे। मन्त्री अरुणकुमार उप्रेतीले यसपटकको बजेट जनताको आवश्यकतालाई ध्यानमा राखी तयार पारिएको बताउँदै स्वास्थ्य, शिक्षा, पूर्वाधार, र अन्य महत्वपूर्ण क्षेत्रहरूको विकासका लागि बजेटले स्पष्ट मार्गचित्र प्रस्तुत गर्ने उल्लेख गरे। उनले सिक्किमको समग्र विकासलाई लक्षित गरी वित्तीय स्रोतहरूको उचित वितरण सुनिश्चित गरिएको बताए।

विधायक एलएन शर्माले बजेटलाई योजनाबद्ध विकास रणनीतिको रूपमा चित्रित गर्दै सिक्किमको पूर्वाधार तथा सार्वजनिक सेवाहरूको सुदृढीकरणमा योगदान पुर्‍याउने उल्लेख गरे। उनले चालू आर्थिक वर्षका लागि प्रस्तावित विभिन्न विकास योजनाहरूको स्वागत गर्दै सरकारको दीर्घकालीन सोच र योजनाबद्ध कार्यान्वयन नीति सकारात्मक रहेको बताए।

विधायक अदित्य गोलेले बजेटलाई युवा तथा आम नागरिकहरूका लागि अवसर प्रदान गर्ने महत्वपूर्ण नीति भएको उल्लेख गरे। उनले मुख्यमन्त्रीको नेतृत्वमा हालसम्म ४,०१० वटा ट्याब्लेट ४४३ विद्यालयहरूमा वितरण गरिसकिएको जानकारी गराउँदै थप डिजिटल पहुँच विस्तारका लागि विद्यालय तथा कलेजका विद्यार्थीहरूलाई ल्यापटप वितरणको सम्भावनालाई पनि विचार गर्न सरकारलाई अनुरोध गरे।

बजेट छलफलको क्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङले सरकारको वित्तीय नीति स्पष्ट पार्दै पर्यटन, सडक, पानी, विद्युत, शिक्षा, वन, सामाजिक सुरक्षा तथा समग्र विकासलाई प्राथमिकता दिइएको बताए। उनले बजेटले सिक्किमको ५०औँ राज्य स्थापना दिवसको उत्सवलाई समेत समेटेको जानकारी गराउँदै पूर्ण साक्षरता प्राप्त गर्ने लक्ष्यलाई पनि यसमा विशेष महत्त्व दिइएको उल्लेख गरे।

मुख्यमन्त्रीले बजेटमार्फत सिक्किमलाई स्वास्थ्य सेवा र कल्याण क्षेत्रको प्रमुख केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राखिएको बताउँदै युवाहरूका लागि रोजगारीका अवसर वृद्धि गर्नु सरकारको मुख्य प्राथमिकता रहेको स्पष्ट गरे। उनले सरकारद्वारा सञ्चालित आमा योजना, बहिनी योजना, मुख्यमन्त्री विवेकाधीन अनुदान लगायतका विभिन्न योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन भइरहेको बताए।

बैठकमा विभिन्न विभागअन्तर्गत बजेट अनुदान प्रस्तुत गरियो, जसमा पर्यटन तथा नागरिक उड्डयन, वाणिज्य तथा उद्योग, सार्वजनिक स्वास्थ्य इन्जिनियरिङ, जल स्रोत, धार्मिक मामिला, ग्रामीण विकास, सहकारी, सामाजिक कल्याण, महिला तथा बालबालिका, वरिष्ठ नागरिक तथा दिव्याङ्ग कल्याण, मुद्रण तथा स्टेशनरी, भवन तथा आवास, श्रम, शहरी विकास, खाद्य आपूर्ति लगायतका विभागहरू समावेश थिए।

बजेट छलफलपछि अनुदान प्रस्तावहरूलाई मतदानमार्फत पारित गरियो।

परिचय

Leave a Reply

Your email address will not be published. Required fields are marked *