सांसद बिष्टले संसदमा उत्तर बङ्गालमा एम्स स्थापनाको गरे माग

दार्जिलिङ, २७ मार्च: दार्जिलिङका लोकसभा सांसद राजु बिष्टले संसदमा उत्तर बङ्गालको सरकारी स्वास्थ्य सेवाबारे गम्भीर प्रश्न उठाउँदै सिलगढीमा अखिल भारतीय चिकित्सा विज्ञान संस्थान (एम्स) स्थापनाको माग गरेका छन्। उनले उत्तर बङ्गालका दार्जिलिङ, कालेबुङ, आलिपुरद्वार, जलपाइगढी, उत्तर दिनाजपुर, दक्षिण दिनाजपुर र मालदा जिल्लाका करिब आठ करोड जनसङ्ख्या अझै पनि आधारभूत स्वास्थ्य सुविधाको अभावमा सङ्घर्षरत रहेको औँल्याए।

सांसद बिष्टका अनुसार, उत्तर बङ्गालको अर्थतन्त्र मुख्य रूपमा चिया बगान र कृषिमा निर्भर भए पनि यहाँको आर्थिक अवस्था कमजोर छ। सरकारी अस्पतालहरूमा डाक्टर र स्टाफको गम्भीर अभाव रहेको भन्दै उनले ग्रामीण क्षेत्रका अस्पतालहरूको अवस्था झन् दयनीय रहेको बताए। निजी अस्पतालमा उपचार महँगो भएकाले सर्वसाधारण नागरिक गुणस्तरीय उपचारबाट बञ्चित भइरहेको उनको भनाइ छ।

सांसद बिष्टले केन्द्र सरकारलाई उत्तर बङ्गालमा स्वास्थ्य सेवा सुधारका लागि ठोस नीति ल्याउन आग्रह गरे। उनले संसदमा भने, “हाम्रो क्षेत्रका अधिकांश नागरिक चिया बगान, सिन्कोना बगान वा कृषिमा निर्भर छन्। उनीहरू निजी अस्पतालको महँगो शुल्क तिर्न असमर्थ छन्। सरकारी अस्पतालहरूमा आधारभूत स्वास्थ्य सुविधा छैन। अझ दु:खद पक्ष के छ भने, पश्चिम बङ्गाल सरकारले केन्द्र सरकारको ‘आयुष्मान भारत योजना’ लागू नगरेकाले गरीब तथा सीमान्तकृत समुदायलाई स्वास्थ्य सेवामा पहुँच छैन।”

सांसद बिष्टका अनुसार, सिलगढी उत्तर बङ्गालको मुटुमा अवस्थित रणनीतिक स्थान भएकोले यहाँ एम्स स्थापना गर्न उपयुक्त हुनेछ। राम्रो सडक, रेल र हवाइ सम्पर्क रहेकोले सिलगढीमा एम्स खोलिए उत्तर बङ्गालका जनतासँगै पूर्वी बिहार, सिक्किम र तल्लो असमका बिरामीहरूलाई पनि फाइदा पुग्नेछ। उनले यस विषयमा केन्द्र सरकार तत्काल पहल गर्नुपर्ने आवश्यकता रहेको जोड दिए।

परिचय

Leave a Reply

Your email address will not be published. Required fields are marked *