नयाँ विश्वविद्यालयमाथि कोमल चामलिङको प्रश्नपछि एसकेएमको उत्तर – “पूर्व मुख्यमन्त्रीले सरकारी खर्चमा छोरीलाई हार्वर्ड पढाएजस्तो होइन”

गान्तोक, २८ मार्च: सिक्किम विधानसभाको बजेट अधिवेशन २०२५-२६ शान्तिपूर्ण रूपमा सम्पन्न भएपछि सत्तारूढ सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) ले यसको स्वागत गरेको छ। एसकेएम प्रवक्ता सीपी शर्माले प्रेस विज्ञप्ति जारी गर्दै राज्यको शिक्षा, स्वास्थ्य र समग्र विकासलाई केन्द्रमा राखेर विधानसभामा पारित प्रस्तावहरूलाई जनहितकारी भएको बताएका छन्। साथै, विपक्षीप्रति प्रहार गर्दै उनीहरूले गरिरहेको नयाँ विश्वविद्यालयहरूको विरोधलाई ‘दुर्भाग्यपूर्ण’ बताएका छन्।

शर्माले भनेका छन्, “राज्यमा स्कुलहरू खोलिनु, महाविद्यालय, विश्वविद्यालय स्थापना हुनुलाई जसरी विपक्षहरू दुर्भाग्य मान्छन्, सिक्किम क्रान्तिकारी मोर्चा पार्टी अहोभाग्य ठान्छ। राज्यमा चाहे सरकारी होस् या निजी महाविद्यालय, विश्वविद्यालय स्थापना हुनु भनेको शिक्षाको माहौल सिर्जना हुनु हो। वर्तमान सरकारले पूर्व सरकारले जस्तो जेल बनाएको छैन।”

एसकेएमले नशालु पदार्थ सम्बन्धी पूर्व सरकारलाई गम्भीर आरोप पनि लगाएको छ। प्रवक्ता शर्माले लेखेका छन्, “पूर्व सरकारले रोपेको नशालु पदार्थको खेतीलाई वर्तमान सरकार शिक्षाको खेतीले समाप्त गर्न चाहन्छ। वर्तमान सरकारले पूर्व सरकारले जस्तो नशालु पदार्थ तस्करी गर्ने अड्डा बनाएको छैन बरु महाविद्यालय र विश्वविद्यालय स्थापना गर्छ।”

यसैबीच, विपक्षी सिक्किम डेमोक्रेटिक फ्रन्टको चेली मोर्चाकी प्रभारी कोमल चामलिङले हिजो विधानसभामा पारित तीनवटा नयाँ विश्वविद्यालयहरूको विश्वसनीयतामाथि प्रश्न उठाउँदै एक भिडियो जारी गरेकी थिइन्। उनको दाबीलाई लक्षित गर्दै प्रवक्ता शर्माले भनेका छन्, “पूर्व मुख्यमन्त्रीले जस्तो सरकारी खर्चमा छोरीलाई हार्वर्ड विश्वविद्यालय अध्ययन गर्न पठाएको जस्तो गरेको छैन। छ भने गरिब सिक्किमेका नानीहरू छन्। एउटा गरिब सिक्किमे नानीको सपनामाथि नाँचेर तिनै गरिबको मुखको गाँस खोसेर हार्वर्ड पढ्नेहरुनै आज सिक्किममा विश्वविद्यालय बनिन लाग्दा ओठ सुकाइ सुकाइ विरोध गर्दैछन्, जसलाई सिक्किम क्रान्तिकारी मोर्चा पार्टी दुर्भाग्यपूर्ण मान्छ अनि विपक्षले अब हत्केलामा तोरी उमार्न नखोजेको नै बुद्धिमानी हो भन्ने सुझाव दिन्छ।”

बजेट सत्रका क्रममा मुख्यमन्त्री प्रेम सिंह तामाङ (गोले) ले उच्च शिक्षामा अवसर सुनिश्चित गर्न ‘चिफ मिनिस्टर एजुकेसन स्किम’ को महत्त्वबारे चर्चा गरेका थिए। उनले भनेका थिए, “आज पाइलट बन्ने सपना देखेका गरिब परिवारका नानीहरूले प्रशिक्षण लिइरहेका छन्। डाक्टर बन्न चाहने, तर आर्थिक अभावमा छट्पटिएका विद्यार्थीहरूले निःशुल्क अध्ययन गर्न पाएका छन्।”

सिक्किम क्रान्तिकारी मोर्चाले ११औं विधानसभा सत्रको दोस्रो सत्रमा प्रस्तुत गरिएका प्रस्तावहरूलाई जनोपयोगी प्रस्ताव मान्दै समर्थन जनाउँदै विधानसभा अध्यक्ष, उपाध्यक्ष, सदनका नेता तथा सिक्किम राज्यका मुख्यमन्त्री, मन्त्रीगण, विधायकगणप्रति बधाई व्यक्त गरेको छ।

परिचय

Leave a Reply

Your email address will not be published. Required fields are marked *