गान्तोक, २८ मार्च: एघारौँ सिक्किम विधानसभाको दोस्रो अधिवेशन (भाग ३) अन्तर्गत बजेट सत्र २०२५-२६ को अन्तिम दिन आज रु १६,१९६ करोडको वार्षिक बजेट पारित गरिएको छ। सिक्किम विधानसभा सचिवालयमा सम्पन्न उक्त अधिवेशनमा राज्यको वित्तीय व्यवस्थापन र नीति निर्माणसम्बन्धी छलफल गरिएको थियो।
सदनले यसै अवसरमा सिक्किम विनियोजन विधेयक, २०२५ पारित गर्यो, जुन मुख्यमन्त्री तथा वित्त विभागका मन्त्री प्रेमसिंह तमाङले प्रस्तुत गरेका थिए। भारतको संविधानको धारा २०४(१) अन्तर्गत पेश गरिएको यस विधेयकले सिक्किम राज्यको सञ्चित कोषबाट आवश्यक खर्चका लागि रकम विनियोजन गर्ने कानूनी व्यवस्था प्रदान गर्छ। सरकारको वार्षिक खर्च तथा अनुदान सुनिश्चित गर्न प्रस्तुत गरिएको यस विधेयकमाथि विस्तृत छलफलपछि सभाले अनुमोदन गरेको हो।
बजेट अधिवेशनको चौथो तथा अन्तिम दिन विभिन्न विभागहरूका लागि छुट्टाछुट्टै अनुदान मागहरू पारित गरियो। स्वास्थ्य तथा परिवार कल्याण तथा संस्कृति विभागका मन्त्री जीटी ढुङ्गेल, कृषि, बागवानी, पशुपालन तथा मत्स्य विकास विभागका मन्त्री पुरणकुमार गुरुङ, वन एवम् पर्यावरण, खानी तथा भूगर्भ तथा विज्ञान तथा प्रविधि विभागका मन्त्री पिन्चो नामग्याल लेप्चा, सडक तथा पुल विभागका मन्त्री नरबहादुर दाहाल, शिक्षा, खेलकुद तथा युवा मामिला, कानुन तथा संसदीय मामिला विभागका मन्त्री राजु बस्नेत अनि गृह, वित्त, योजना तथा विकास, कार्मिक, विद्युत्, उत्पाद शुल्क, भूमिस्वामी तथा आपदा व्यवस्थापन, यातायात, सूचना तथा जनसम्पर्क, सूचना प्रविधि, सीप विकास तथा अन्य विभागहरूको जिम्मेवारी सम्हालेका मुख्यमन्त्री प्रेमसिंह तामाङले आ-आफ्ना विभागीय मागहरू प्रस्तुत गरेका थिए।
यसै क्रममा, सभाले सार्वजनिक लेखा समिति तथा अनुमान समितिका सदस्यहरूको निर्वाचन गर्यो। विधायक सोनाम छिरिङ भेन्चुङ्पा र आदित्य गोले तामाङ सार्वजनिक लेखा समितिमा निर्वाचित भए, जसमा सोनाम छिरिङ भेन्चुङ्पा अध्यक्ष चयन भए। त्यस्तै, अनुमान समितिमा आदित्य गोले तामाङ र सोनाम छिरिङ भेन्चुङ्पा निर्वाचित भए, जसमा आदित्य गोले तामाङ अध्यक्ष बने।
विधानसभा अध्यक्ष मिङ्मा नोर्बु शेर्पाले विभिन्न समितिहरूका लागि नयाँ सदस्यहरूको मनोनयन गरे। सरकारी आश्वासन समितिमा मन्त्री नरबहादुर दाहाल, विधायक एलएन शर्मा र इरुङ तेन्जिङ लेप्चा चयन भए, जसमा एलएन शर्मा अध्यक्ष नियुक्त भए। नियम समितिमा विधायक साम्डुप छिरिङ भोटिया र सुदेशकुमार सुब्बा, पुस्तकालय समितिमा विधायक थेन्ले छिरिङ भोटिया, कला राई, दिले नामग्याल बर्फुङ्पा र रिक्सल दोर्जी भोटिया, गृह समितिमा विधायक लालबहादुर दास, थेन्ले छिरिङ भोटिया र सञ्जित खरेल, तथा विशेषाधिकार समितिमा विधायक बेदुसिंह पन्त, मदन सिन्चुरी र पामिन लेप्चा चयन भए, जसमा बेदुसिंह पन्त अध्यक्ष बने।
यसपछि, विधानसभा अध्यक्षले विधायक बीएस पन्त, सञ्जित खरेल र आदित्य गोले तामाङलाई प्यानल अफ चेयरम्यानको सदस्यमा मनोनयन गरिएको घोषणा गरे।
मुख्यमन्त्री तथा वित्त विभागका मन्त्री प्रेमसिंह तमाङले लेखा महानियन्त्रक (CAG)-का विभिन्न प्रतिवेदन सभामा प्रस्तुत गरे। प्रस्तुत प्रतिवेदनहरूमा २०२३-२४-को विनियोजन लेखा प्रतिवेदन, वित्तीय लेखा प्रतिवेदन (भाग १ र २), तथा लेखा संक्षेप प्रतिवेदन समावेश थिए। साथै, उनले २०२५-२६ देखि २०२७-२८ सम्मको मध्यमकालीन राजस्व योजना, सिक्किम एफआरबीएम (FRBM) ऐन अन्तर्गत २०२१-२२ र २०२२-२३-का लागि अनुपालन मूल्याङ्कन प्रतिवेदन तथा २०२४-२५-को अर्धवार्षिक समीक्षा प्रतिवेदन सदन समक्ष पेश गरे। सभा अध्यक्षले सिक्किम अनियमित निक्षेप योजना निषेध नियम, २०२५ सदनमा पेश गरिएको घोषणा गरे।
अधिवेशन समापनका क्रममा सभा अध्यक्ष मिङ्मा नोर्बु शेर्पाले चार दिवसीय बजेट अधिवेशन सफलतापूर्वक सम्पन्न भएको घोषणा गर्दै राज्यपाल, मुख्यमन्त्री तथा विधायकहरूलाई धन्यवाद व्यक्त गरे। उनले बजेट छलफललाई व्यवस्थित रूपमा सञ्चालन गर्न सहयोग पुर्याउने सबै सदस्यहरू, प्रशासनिक कर्मचारी, सुरक्षा निकाय, सञ्चारकर्मी तथा सहयोगी समूहहरूको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरे।
मुख्यमन्त्री प्रेमसिंह तमाङले समापन मन्तव्य दिँदै सिक्किमको विकासका लागि बजेटले जनताको हितलाई सम्बोधन गर्ने बताए। उनले विशेष रूपमा युवाहरू, विद्यार्थीहरू तथा गरिबी न्यूनीकरणका योजनाहरूमा सरकारले प्राथमिकता दिएको उल्लेख गरे। साथै, उनले प्रधानमन्त्री नरेन्द्र मोदी तथा केन्द्र सरकारलाई सिक्किमको निरन्तर सहयोग गरिरहेकोमा आभार व्यक्त गरे।
सभाको अन्त्यमा विधायक सोनाम छिरिङ भेन्चुङ्पा, तेन्जिङ नोर्बु लाम्था र कला राईले धन्यवाद ज्ञापन मन्तव्य दिए।
रिपोर्ट आईपीआरबाट जानकारीसहित