म्यानमारमा शुक्रबार गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या १० हजार नाघ्न सक्ने अनुमान गरिएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (USGS)-ले भूकम्पको प्रभाव विश्लेषण गर्दै यस्तो प्रक्षेपण गरेको हो।
भूकम्पको धक्का थाइल्याण्ड, बङ्गलादेश, चीन, र भारतसम्म महसुस गरिएको थियो। ब्लूमबर्गका अनुसार, म्यानमारको सैन्य सरकारले अहिलेसम्म ८०० भन्दा बढीको मृत्यु पुष्टि गरेको छ भने २,००० भन्दा बढी घाइते भएका छन्।
सोही भूकम्पका कारण थाइल्याण्डको राजधानी बैङ्ककमा ३० तले भवन भत्किएको छ।
शुक्रबार बिहान गएको ७.७ म्याग्निच्युडको भूकम्पलाई म्यानमार र थाइल्याण्डमा २०० वर्षयताकै सबैभन्दा ठूलो भूकम्प मानिएको छ। ठूलो विनाशपछि म्यानमारका ६ राज्य र सम्पूर्ण थाइल्याण्डमा आपतकाल घोषणा गरिएको छ।