यसपटकको बजेट जनताको हितविपरीत, कुनै उल्लेखनीय योजनाहरू छैन: सीएपी

गान्तोक, २९ मार्च: सिटिजन एक्सन पार्टी – सिक्किम (सीएपी)-ले एसकेएम सरकारले प्रस्तुत गरेको २०२५-२६ को वार्षिक बजेटलाई जनताको हितविपरीत बताएको छ। आज राजधानी गान्तोकमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ताहरू अल्बर्ट गुरुङ र महेश राईले राज्य विधानसभाले हिजो मात्र पारित गरेको १६,१९६ करोडको बजेट सिक्किम र सिक्किमे जनताको हितमा नभई केवल सरकारको सञ्चालनका लागि ल्याइएको बजेट भएको बताएका छन्। “यो बजेट न त कृषकको, न महिला, न युवा, न विद्यार्थीकै हितमा छ। एसकेएम सरकारले यो बजेट केवल आफ्नो खर्च बेहोर्नका लागि ल्याएको हो”, प्रवक्ता गुरुङले भने।

हिजो समाप्त भएको चार दिवसीय बजेट अधिवेशनमा, मुख्यमन्त्री तथा वित्त विभागका प्रभारी मन्त्री प्रेमसिंह तामाङले विधानसभामा प्रस्तुत गरेको र सदनले बिनाबहस पारित गरेको २०२५-२६ को बजेटमा सिक्किम र सिक्किमेली सर्वसाधारणका लागि कुनै उल्लेखनीय योजनाहरू नभएको र धनराशिको आवण्टन नगरिएको सिटिजन एक्सन पार्टीको आरोप रहेको छ। प्रवक्ता गुरुङकाअनुसार, बजेटको ७० प्रतिशत मात्र सरकार सञ्चालनको लागि छुट्याइएको छ, जबकि ३० प्रतिशत अर्थात् ५ हजार करोड मात्र विकासका लागि छुट्याइएको छ। यसैले, यस बजेटमा सरकारको नजिकका व्यक्तिहरूको मात्र लाभ हुने उनले बताएका छन्।

एसकेएम सरकारको कार्यकालमा सिक्किमको अर्थव्यवस्था कमजोर हुँदै गएको सिटिजन एक्सन पार्टीको आरोप रहेको छ। यस बारेमा बोल्दै प्रवक्ता गुरुङले भने, “२०१० मा भारत सरकारले फिसकल रेस्पोन्सिबिलिटी एण्ड बजेट म्यानेजमेन्ट (एफआरबीएम) एक्ट पारित गरेको थियो जसका अनुसार फिस्कल डेफिसेन्सी (वित्तीय घाटा) ३ प्रतिशत भन्दा कम हुनु अर्थव्यवस्था बलियो र स्वस्थ हुने सङ्केत हो। तर, २०२५-२६ मा सिक्किमको वित्तीय घाटा ५.७९ प्रतिशत रहेको छ।”

सरकारले बजेट अधिवेशनमा राज्यको प्रतिव्यक्ति आय वार्षिक सात लाख रुपियाँ पुगेको दाबी गरेको छ, जुन देशकै सर्वाधिक प्रतिव्यक्ति आय रहेको बताइएको थियो। तर, वस्तुतः यो मात्र आँकडाको खेल भएको भन्दै प्रवक्ता गुरुङले भने, “सिक्किमको प्रति व्यक्ति आय सात लाख भए पनि गरिब सिक्किमेका गोजी भने खाली छ। सरकारले यो डङ्का पिटेको मात्रै हो, यो खोक्रो कुरा हो।” उनले थपे, “सिक्किमको अर्थतन्त्र गाउँमा आधारित छ र गाउँका सबै जनता धनी छैनन्।”

सीएपीका प्रवक्ता गुरुङले एसकेएम सरकारको २०२५-२६ को वार्षिक बजेट सबै क्षेत्रका लागि कमजोर भएको आरोप लगाएका छन्। बजेटमा कुनै क्षेत्रको निम्ति उल्लेखनीय योजना र धनराशि आवण्टन नभएको उनले बताए। उनले २०१४ र २०१९ मा एसकेएम पार्टीलाई सरकारमा ल्याउन योगदान गर्ने चालकहरूलाई बजेटमा धोका दिइएको बताए। उनका अनुसार, बजेटमा चालकहरूलाई थप कर लगाउने प्रावधान राखिएको छ। यसले एसकेएम सरकार चालकहरूको पक्षमा छैन भन्ने प्रमाणित गर्छ, उनले भने।

स्वंय सहायता समूहमार्फत गरिब महिलाहरूको कल्याणका निम्ति काम गर्ने सिक्किम रुरल लाइभलीहुड मिशन (एसआरएलएम)-का लागि केवल एक करोड रुपियाँ आवण्टन गरेकोप्रति पनि गुरुङले सरकारको आलोचना गरे।

अल्बर्ट गुरुङले एसकेएम सरकारले सरकारी कर्मचारीहरूका लागि पुरानो पेन्सन योजना (ओपीएस) पनि लागू नगर्ने दाबी गरे। उनले भने, “चुनाउको समय एसकेएम पार्टीले सरकारी कर्मचारीहरूका लागि पुरानो पेन्सन योजना लागू गर्ने वचन दिएको थियो, तर बजेटमा त्यो लागू गर्न सक्दैन भन्ने कुरा स्पष्ट छ।” केन्द्र सरकारले पेन्सन फण्डिङ एडजस्टमेन्ट भनेर लोन दिने गरेको जसमा लोन कूल जीएसडीपी-को ५ प्रतिशत पाउने गरेको उल्लेख गर्दै ५३ हजार करोडको हिसाबले सिक्किमले लगभग २५० करोडको लोन पाउने उनले बताए। गुरुङले भने, “एसकेएम सरकारले त्यो लोन ल्याएको छ। सरकारले उक्त लोन पुरानो पेन्सन योजना लागू नगर्ने भनेर केन्द्र सरकार समक्ष वाचाबन्धन गरेर लिएर आएको हो। त्यसैले एसकेएम सरकारले सरकारी कर्मचारीहरूको आशामा पनि पानी फेरेको छ।”

गुरुङले राज्य सरकारकै विभिन्न योजनाहरूका लागि पनि बजेटमा धनराशिको आवण्टन नगरेको आरोप लगाए। उनले भने, “गरिब आवास योजनामा केवल एक हजार रुपियाँ आवण्टन गरिएको छ भने, दूधमा इन्सेन्टिभ र मेरो अलैंची मेरो धन जस्ता योजनामा कुनै पनि धनराशि छुट्याइएको छैन।”

प्रवक्ता महेश राईले एसकेएम सरकारको ‘देशकै सबैभन्दा शान्तिपूर्ण राज्य’ भन्ने दाबी खोक्रो रहेको बताए। सिक्किमे जनताले घरिघरि कुटाइ खाइरहेको, कर्मचारीहरूले कुनै पनि समय भिक्टिमाइज हुने र व्यापारीहरूले व्यापार बन्द हुने डर बोकेर बस्नुपर्ने राज्य कसरी शान्तिपूर्ण राज्य हो भन्दै सरकारलाई प्रश्न उठाएका छन्?

परिचय

Leave a Reply

Your email address will not be published. Required fields are marked *