गान्तोक, १ अप्रिल: सामसन तामाङको दोस्रो जमानत याचिकामाथि आज प्रमुख जिल्ला तथा सत्र न्यायालयमा सुनुवाइ भएको थियो भने न्यायालयले त्यसलाई खारेज गरेको छ। न्यायालयमा सिक्किम राज्यको तर्फबाट सरकारकी अधिवक्ता ज्योति सुब्बाले बहस प्रस्तुत गरेकी थिइन् भने अभियुक्त सामसन तामाङको तर्फबाट बीके गुप्ता उपस्थित थिए।
दुवै पक्षको तर्क सुनेपछि न्यायालयले जमानत याचिका खारेज गरेको छ। यो अभियुक्त तामाङको दोस्रो जमानत याचिका हो, जसलाई न्यायालयले अस्वीकार गरेको छ। यसअघि, अभियुक्तले न्यायिक मजिस्ट्रेट अदालतसमक्ष जमानत निवेदन दिएका थिए, जुन त्यतिबेला पनि खारेज गरिएको थियो।
सामसन तामाङले सिक्किम र दार्जिलिङका खस समुदाय विरुद्ध नस्लीय टिप्पणी गरेपछि उनीविरुद्ध विभिन्न ठाउँमा प्राथमिकी दर्ता भएको थियो। त्यसपछि करिब दुई हप्तासम्मको लगातार खोजीपछि सिक्किम पुलिसले बिहारको बोधगयाबाट तामाङलाई पक्राउ गरेको थियो।