बियाड युवा साहित्यिक संस्थानको चौथो स्थापना दिवस सम्पन्न: साहित्य र पत्रकारिताका हस्तीहरू सम्मानित

पाकिम, ३१ मार्च: पाकिम जिल्लाको बिरिङमा स्थापित बियाड युवा साहित्यिक संस्थानले आफ्नो चौथो स्थापना दिवस भव्य रूपमा पालन गरेको छ। कार्यक्रम पाकिम बजार नजिक रहेको सामुदायिक भवनको प्रेक्षालयमा आयोजना गरिएको थियो।

स्थापना दिवसको अवसरमा साहित्य र पत्रकारिता क्षेत्रका चार विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गरिएको छ। बियाड साहित्य सेवा सम्मान वरिष्ठ साहित्यकार तथा समालोचक डिल्लीप्रसाद अधिकारीलाई प्रदान गरियो। वरिष्ठ कथाकार तथा समाचर उद्घोषक उषा शर्मालाई बियाड शारदा सम्मान, बाल प्रतिभा तेजस्वी शर्मालाई बियाड बाल प्रतिभा सम्मान, र साहित्यकार तथा पत्रकार अर्जुन यावालाई बियाड प्रतिविम्ब सम्मानद्वारा सम्मान गरियो।

यसैगरी, समाज विकासका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै सिटिजन फाउन्डेसन एनजीओ र कन्चन क्लब बिरिङलाई अभिनन्दन गरियो।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रेम क्लब अफ् सिक्किमका अध्यक्ष भीम राउत तथा सभाध्यक्षका रूपमा वरिष्ठ साहित्य अध्येता कमल कुमार काफ्ले उपस्थित थिए। विशिष्ट अतिथिहरूमा पाकिम जिल्ला उपाध्यक्ष प्रभा प्रधान, जिल्ला पञ्चायत डा सुभद्रा दङ्गाल, रन्जना रसाइली, अतिरिक्त जिल्लापाल रविन सेवा, खण्ड विकास अधिकारी साङ्गे तामाङ लगायत विभिन्न सरकारी तथा सामाजिक व्यक्तित्वहरूको सहभागिता थियो।

कार्यक्रमको अर्को मुख्य आकर्षण रामायणदेखि एआईसम्म विषयमा पत्रकार तथा कवि प्रविण खालिङको वार्ता थियो। काव्य गोष्ठीमा बाल, युवा र प्रौढ कविहरूले आफ्ना रचनाहरू प्रस्तुत गरेका थिए।

प्रतिनिधि कविहरूमा के.एन. कश्यप, एलडी अधिकारी, टेकनाथ घिमिरे, अलख नारायण दङ्गाल, टीकाराम दाहाल, अनुकल्प तामाङ, कृष्णा कृति, मुक्ति घिमिरे, सुमन मिश्र, सुशन प्रधान, अमर बानियाँ ‘लोहोरो’, निर्मल श्री, मोहन गौतम, एनबी घिमिरे लगायतका स्रष्टाहरू सहभागी थिए।

कार्यक्रममा चिया कविता, गान्तोक, नेपाली साहित्य परिषद् गान्तोक, सृजनात्मक वैचारिक मञ्च रुम्तेक, साहित्य कला समाज रिनाक, संस्कृति मन्थन रिनाक, आरिटार, सिक्किम प्रतिभा प्रतिष्ठान पाकिम, अभियान साहित्य समूह राङ्का आदि संस्थाका प्रतिनिधिहरू उपस्थित थिए।

सांस्कृतिक कार्यक्रमअन्तर्गत दोलख, संगीनी र मारुणी नृत्य प्रस्तुत गरिएको थियो भने चेतन छेत्रीले एकल गीत गाएका थिए।

परिचय

Leave a Reply

Your email address will not be published. Required fields are marked *