गान्तोक, २ अप्रिल: सिक्किम सरकारको परिवहन विभागले प्रयोग गरिरहेको एआई (AI) प्रणालीले झन् समस्या बढाएको भन्दै राज्यका विभिन्न ठाउँका चालकहरू आक्रोशित छन्। उनीहरूले एआईमार्फत पटकपटक गलत चलान काटिएको आरोप लगाउँदै तत्काल यसको प्रयोग स्थगित गर्न माग गरेका छन्।
गत साता एक चारपाङ्ग्रे ट्याक्सीलाई “हेलमेट नलगाएको” आरोपमा एआईले चलान काटेको घटनाले सामाजिक सञ्जालमा निकै चर्चा पाएको थियो। उक्त घटनापछि विभागको आलोचना भएको थियो। त्यसपछि विभागले एआईबाट ‘विरलै हुने गल्ती’ भन्दै ६ सेकेन्डमै म्यासेजमार्फत चालकलाई स्पष्टीकरण दिएको बताएको थियो।
तर यस्तो गल्ती एकपल्ट मात्र नभई बारम्बार भइरहेको चालकहरूको आरोप छ। विशेष गरेर ब्याकडेट चलानको विषयमा व्यापक असन्तुष्टि देखिएको छ। एकजना ट्याक्सी चालक आशिष राईले बताएअनुसार २०२२ मा नै स्क्र्याप भइसकेको एउटा सवारी साधनको हालै एआईमार्फत चलान आएको बताएका छन्। उनले सेन्ट्रो गाडीका लागि वेगनआरको चलान पठाइएको उदाहरण पनि दिएका छन्।
आफ्नो गुनासोहरू लिएर आज राजधानी गान्तोकस्थित यातायात भवनमा ट्याक्सी चालकहरूको एउटा समूह विभागीय सचिवलाई भेट्न गएका थिए। सचिव अनुपस्थित रहेकाले उनीहरूले पीसीई (Principal Chief Engineer) मार्फत ज्ञापनपत्र बुझाएका छन्। ज्ञापनमा ‘एआई हटाउ, ट्याक्स घटाउ’ भन्ने नारा सहित, एआई प्रणाली हटाउने, गलत चलान खारेज गर्ने र सिक्किम मोटर सवारी साधन कर (संशोधन) ऐन २०२५ (The Sikkim Motor Vehicles Taxation [Amendment] Act 2025) अन्तर्गत गरिएको कर वृद्धिमाथि पुनर्विचार गरिनुपर्ने माग गरिएको छ।
चालकहरूको भनाइमा एआई प्रणालीले असंलग्न रेकर्डहरूका आधारमा १० हजारदेखि ६० हजार रूपैयाँसम्मको जरिवाना पठाउने गरेको छ, जसले उनीहरूको आम्दानीमा प्रत्यक्ष असर परिरहेको छ।
विभागले सोमबारसम्मको समय मागेको छ। यदि त्यसबीचमा पनि गलत चलानहरू जारी भएमा र आफ्नो मागहरू पूरा नभए सडकमा उत्रेर प्रदर्शन गर्ने चालकहरूले चेतावनी दिएका छन्।
प्रदर्शनकारीहरूको भनाइमा उनीहरू एआई प्रविधिको विरोधमा नभई त्यसको सही र पारदर्शी कार्यान्वयनको पक्षमा छन्। एआई प्रणाली लागू गर्नु अघि राज्यका सडक संरचनाको समेत सुधार गर्नु पर्ने माग पनि उनीहरूले राखेका छन्।