सिङ्ताम, ६ अप्रिल: सिङ्ताममा भारतीय जनता पार्टीले आफ्नो ४६औं स्थापना दिवस मनाएको छ। कार्यक्रम सिङ्तामस्थित पार्टी मुख्यालयमा सिक्किम प्रदेश भाजपाले आयोजना गरेको थियो। कार्यक्रममा भमजपाका सिक्किम प्रदेश अध्यक्ष तथा पूर्व विधायक डीआर थापा, पार्टीका शीर्ष पदाधिकारीहरू र कार्यकर्ताहरूको उपस्थिति थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले भारतीय जनता पार्टी कुनै एक व्यक्ति वा नेताको सोचमा आधारित नभई सामूहिक सोच र नेतृत्वमा आधारित पार्टी रहेको उल्लेख गरे। राष्ट्रलाई सधैँ प्राथमिकता दिने भाजपाको नीति रहेको र पार्टीभित्र भ्रष्टाचारको लागि कुनै स्थान नरहेको स्पष्ट पार्दै थापाले भाजपाले कहिल्यै भ्रष्टाचार स्वीकार नगर्ने बताए। तर, सिक्किममा भने हाल देशमै सबैभन्दा बढी भ्रष्टाचार भइरहेको उनको आरोप थियो। क्षेत्रीय पार्टीको नेतृत्वमा सरकार चलेपछि राज्यमा भ्रष्टाचार बढेको, बेरोजगारी र ऋणको भार थपिएको र संविधानको अनुच्छेद ३७१एफ अन्तर्गतका अधिकारहरू समेत गुमाएको उनले बताए। थापाले प्रश्न गर्दै भने,“के सिक्किमे अझै पनि क्षेत्रीय पार्टीहरूकै पछि लागिरहने?”
थापाले केन्द्रमा भाजपाको नेतृत्वमा रहेको एनडीएको घटक दल एसकेएम सरकारलाई विभिन्न मुद्दा लिएर कडा आलोचना गरे। केही दिनअघि मुख्यमन्त्री प्रेमसिंह तामाङले भाजपालाई एसकेएमको “दाजू” भनेको सन्दर्भमा, उनले भने—“दाजू (प्रधानमन्त्री मोदी) भारतलाई विश्वकै एक विकसित राष्ट्र बनाउन लागिपरेका छन्, तर भाइ (मुख्यमन्त्री तामाङ) सानो सोच राखेर आफ्नै जनतालाई प्रताडना दिँदैछन्।” उनले थपे, “ठूलो मान्छे बन्न ठूलो सोच चाहिन्छ।” एसकेएम सरकारले जनतालाई ऋणको भारी बोकाउँदै कर वृद्धि गरिरहेको र कर्मचारीहरूलाई पीडित बनाएर दमन गरिरहेको उनले आरोप लगाए। उनले मुख्यमन्त्रीलाई सुझाव दिँदै भने, “सानातिना कुरामा अल्झिएर होइन, ठूलो सोच राखेर ठूलो काम गर्नुहोस्।”
थापाले एसकेएम सरकारमाथि विपक्षी पार्टीका समर्थकहरूलाई पनि प्रताडित गरेको आरोपसमेत लगाए। राज्यका ३२ वटै विधानसभा सिटहरू एसकेएमले जिते तापनि, ४२ प्रतिशत मतदाताले विपक्षीलाई मत दिएको स्मरण गराउँदै उनले भने, “एसकेएमले ३२मा ३२ जिते पनि जनता हारेका छन्।” शिक्षा नीतिको सन्दर्भमा पनि उनले सरकारको आलोचना गरेका छन्। गुणस्तरीय शिक्षाको कुरा गर्दै ९४ वटा सरकारी विद्यालयहरू बन्द गर्नु सरकारको दोहोरो चरित्र भएको उनको भनाइ छ। यदि शिक्षा राम्रो हो भने ती विद्यालयहरू किन बन्द गरियो भन्ने प्रश्नसमेत उनले उठाए। उनले राज्यमा स्क्र्याप निजी विश्वविद्यालयहरू भित्र्याइएको आरोप पनि लगाए।
सिक्किम–दार्जिलिङ एकीकरणको विषयमा थापाले यो असम्भव रहेको स्पष्ट पार्दै भारत सरकारले यस्तो काम कहिल्यै नगर्ने बताए। दार्जिलिङ र सिक्किमको आ–आफ्नो इतिहास रहेको छ भन्दै, दार्जिलिङतिरबाट आउने अभिव्यक्तिमा सिक्किमबाट प्रतिक्रिया जनाउन नहुने उनको भनाइ थियो।
उनले कार्यक्रममा सिक्किम प्रदेश भाजपाको तर्फबाट चारवटा प्रस्ताव पढेर सुनाए, जसलाई पार्टीको नयाँ दिल्ली भ्रमणको क्रममा केन्द्रीय नेतृत्वलाई बुझाइने उनले जानकारी दिए। ती प्रस्तावहरूमा संविधानको अनुच्छेद ३७१एफको सशक्तिकरण, जनजातिको मान्यता पाउनबाट छुटेका जात–गोष्ठीलाई जनजातिको मान्यता, लिम्बू–तामाङ समुदायको विधानसभा सीट आरक्षण, पर्यटन उद्योगको पुनरुत्थान र अन्य सामाजिक मुद्दाहरू समावेश छन्।
स्थापना दिवस समारोहमा भारतीय जनता पार्टीको राष्ट्रिय परिषद सदस्य तथा पूर्व मन्त्री एनके सुब्बाले पनि सम्बोधन गरे। उनले राज्यमा पार्टीको साङ्गनिक विस्तारमा जोड दिँदै केन्द्र सरकारका योजना तथा भाजपालाई गाउँ–गाउँसम्म पुर्याउनुपर्नेमा बल दिए। त्यसो नगर्दासम्म सिक्किममा सत्तासम्म पुग्न असम्भव हुने उनको भनाइ थियो।
विविध सांस्कृतिक प्रस्तुतिहरू समावेश गरिएको कार्यक्रममा अन्य विभिन्न पार्टी त्यागेर ४५ जनाभन्दा बढीले भारतीय जनता पार्टीको सदस्यता ग्रहण गरे। सोही अवसरमा केही लाभार्थीहरूलाई आयुष्मान भारत कार्ड, उज्वाला योजनाअन्तर्गत ग्यास सिलिन्डर तथा चुल्हा वितरण गरिएको थियो। कार्यक्रममा सेवा सम्पर्क अभियान र सोसियल मिडिया प्लेटफर्म ‘कमल सन्देश’ को पनि विधिवत रूपमा उद्घाटन गरियो।