एमजी मार्गमा सीएपी सिक्किम र एसकेएम समर्थकहरूबीच झ्याउला

गान्तोक,७ अप्रिल: राजधानी गान्तोकको एमजी मार्गमा आज सिटिजन एक्शन पार्टी, सिक्किम (सीएपी) र कथित रूपमा सत्तारुढ सिक्किम क्रान्तिकारी मोर्चाका समर्थकहरूबीच झ्याउला भएको छ।

सीएपीका अध्यक्ष गणेशकुमार राई पत्रकारहरूलाई सम्बोधन गरिरहेका बेला केही युवकहरू आएर विरोध जनाएका थिए। यस क्रममा दुई पक्षबीच भनाभन भएपछि केही समयका लागि स्थिति तनाउपूर्ण बनेको थियो। यद्यपि, कुनै अप्रिय घटना भने भएन। परिस्थिति जटिल बन्दै जाँदा गणेश राई आफ्ना समर्थकहरूको साथमा सो स्थानबाट अन्यत्र लागेका थिए।

यसअघि गणेश राईले राजधानी वरपर निर्माणाधीन विभिन्न परियोजनाको स्थलगत निरीक्षण गरेका थिए। निरीक्षणको क्रममा उनी पहिलोपटक रिज पार्क पुगेका थिए र त्यहाँ पुरानो फ्लावर शो भवन भत्काएर निर्माण भइरहेको मैत्री मञ्जरी परियोजनाको अवलोकन गरेका थिए। त्यसपछि उनी पुरानो एसटीएनएम अस्पताल परिसरमा राष्ट्रिय राजमार्ग मुन्तिर भइरहेको निर्माण कार्य, सदर थाना अगाडि हालै सुरु गरिएको जमीन काट्ने कार्य, नवनिर्मित वेस्ट पोइन्ट मल तथा एमजी मार्गको स्टार मल पुगेका थिए र सम्बन्धित व्यक्तिहरूसँग कुराकानी गरेका थिए।

पत्रकारहरूसँगको कुराकानीमा गणेश राईले एसकेएम सरकारले विकासको नाममा गान्तोकको विनाश गरिरहेको आरोप लगाए। उनले गान्तोकले आफ्नो मौलिकता र प्राकृतिक सौन्दर्य गुमाइसकेको दाबी गर्दै अहिले यहाँ केवल कृत्रिम संरचनाहरू निर्माण भइरहेको बताए। सरकारले पर्यटन विकासको नाममा काम गरिरहेको देखाए पनि यदि दीर्घकालीन पर्यटन विकास गर्नु हो भने प्राकृतिक सौन्दर्य र मौलिकता जोगाउनुपर्ने उनको धारणा थियो।

रिज पार्कमा करोडौँ लागतमा बाहिरी कम्पनीहरूले पाँच महिनामा निर्माण सम्पन्न गर्दैगर्दा मंगनमा आठ वर्षसम्म अस्पतालको निर्माण अधुरो रहेकोप्रति उनले आश्चर्य व्यक्त गरे। सदर थाना अगाडि भइरहेको जमीन कटानबारे त्यहाँका अभियन्तालाई समेत के बन्ने हो भन्ने थाहा नभएको उनले बताए। अर्कोतिर, पूर्व सरकारले सुरु गरेको ज्ञान मन्दिरको परियोजना वर्तमान सरकारले बेवास्ता गरेको पनि उनको आरोप थियो।

भर्खरै निर्माण सम्पन्न भएको वेस्ट पोइन्ट मलमा पूर्व घोषणा अनुसार साउथ वेस्ट मेनलाइन ट्याक्सी स्ट्याण्डलाई स्थान नदिएकोमा गणेश राईले गम्भीर आपत्ति जनाए। मलभित्र ८० प्रतिशत पसल बाहिरी व्यक्तिहरूको भएको भन्दै सरकार स-साना स्थानीय व्यापारीहरूलाई प्रताडित गरिरहेको उनको आरोप थियो। उनले एमजी मार्गको न्यू मार्केट क्षेत्रमा स्टार मलका कारण जमीन धसिरहेको दावी पनि गरे।

उनको भनाइमा सरकारले ठूला व्यापारी र साना व्यापारीहरूका लागि फरक फरक कानुन अपनाइरहेको छ। एसटीएनएम अस्पताल परिसरमा निर्माणाधीन कञ्चनजङ्घा स्क्वायरबारे समेत कसले र के उद्देश्यले निर्माण गरिरहेको भन्ने स्पष्ट जानकारी नभएको उल्लेख गर्दै गणेश राईले यी सबै परियोजनाहरू राज्यबाहिरका ठूला उद्योगपतिहरूका लागि निर्माण गरिएको आरोप लगाए। उनले अधिक मल निर्माणको कारणले स्थानीय साना व्यवसायीहरू प्रभावित हुने र पहिरो तथा भूकम्पको जोखिममा रहेको सिक्किम झनै संवेदनशील हुने चेतावनी पनि दिए।

परिचय

Leave a Reply

Your email address will not be published. Required fields are marked *