गान्तोक, ८ अप्रिल: सिटिजन एक्सन पार्टी – सिक्किम (सीएपी)-का अध्यक्ष गणेशकुमार राई र पार्टीका अन्य सदस्यहरूविरुद्ध राजधानी गान्तोकस्थित सदर पुलिस थानामा प्राथमिकी दर्ता गरिएको छ।
सोमबार न्यू मार्केटस्थित निर्माणाधीन स्टार मलमा गैरकानुनी रूपमा प्रवेश गरेको र धम्की दिएको आरोपमा यो मुद्दा दर्ता भएको हो।
पुलिस स्रोतका अनुसार, सिच्छे निवासी तथा मूल रूपमा नामथाङ, लोवर पाम्फोकका कृष्ण घिमिरेले क्याप अध्यक्ष र अन्य सदस्यहरूविरुद्ध लिखित उजुरी दिएपछि सदर पुलिसले भारतीय न्याय संहिता, २०२३-को धारा ३२९(३), ३५१(२) र ३(५) अन्तर्गत मामला दर्ता गरेको हो।
प्राथमिकीमा उल्लेख भएअनुसार, गणेश राई नेतृत्वको टोलीले सोमवार अचानक निर्माण स्थलमा प्रवेश गरेर मलको निर्माण कार्यलाई अवैधानिक बताउँदै गम्भीर परिणामको चेतावनी दिएका थिए। घटनालाई लिएर पुलिसले आवश्यक अनुसन्धान प्रारम्भ गरिसकेको बताइएको छ।
यसअघि पनि गणेश राईले राजधानीका विभिन्न निर्माणाधीन परियोजनाको स्थलगत निरीक्षण गरेका थिए र सरकारमाथि “विकासको नाममा विनाश” गरिरहेको आरोप लगाएका थिए।