गान्तोक, २५ जून: भारतभर आपतकाल घोषणा भएको ५० वर्ष पूरा भएको अवसरमा सिक्किममा पनि ‘संविधान हत्या दिवस’ आज विभिन्न कार्यक्रमसहित मनाइएको छ।
मुख्य कार्यक्रम गान्तोकस्थित मानन केन्द्रमा आयोजना गरिएको थियो, जसमा सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथि रहेका थिए। भारत सरकारको गृह मन्त्रालयको निर्देशनअनुसार, यो दिवस राज्यका सबै जिल्ला, विद्यालय र महाविद्यालयहरूमा पनि मनाइएको छ।
कार्यक्रममा मुख्यमन्त्रीले २५ जून १९७५ मा लागू गरिएको आपतकालले भारतको संविधान र लोकतान्त्रिक अधिकारहरूलाई गम्भीर असर पारेको बताए। यद्यपि त्यसबेला आपतकालको कारण राष्ट्रिय सुरक्षाको नाममा दिइए तापनि वास्तविक उद्देश्य सत्ताको नियन्त्रण कायम राख्नु नै रहेको उनले प्रष्ट पारे। उनले त्यस समयमा गिरफ्तार भएका नेताहरू, सामाजिक कार्यकर्ता र सर्वसाधारणप्रति सम्मान व्यक्त गरे।
मुख्यमन्त्रीले संविधानलाई देशको सर्वोच्च कानुनका रूपमा सम्मान गर्नुपर्ने उल्लेख गर्दै, यसले प्रदान गर्ने अधिकारसँगै नागरिकको कर्तव्य पनि स्मरण गराए। यसका साथै, सिक्किम भारतको २२औँ राज्यको रूपमा विलय भएको समय सम्झिँदै उनले लोकतन्त्र सुदृढ बनाउन राज्यले उल्लेखनीय प्रगति गरेको बताए।
उनले सिक्किमको सन्दर्भमा कुरा गर्दै २०१० मा तत्कालीन सरकारले बोल्न, जुलुस गर्न वा पोस्टरिङ गर्न नपाउने विधेयक सिक्किम विधानसभामा पेश गरेको उल्लेख गर्दै आफूहरूले सडकबाट विरोध गरेपछि र राज्यपालले हस्तक्षेप गरेपछि त्यो विधेयक पारित हुन नपाएको बताए।
आज स्वास्थ्य तथा सांस्कृतिक मामिला मन्त्री जीटी ढुङ्गेलले मुख्यमन्त्रीलाई सेङ्गोल प्रदान गरेपछि कार्यक्रमको औपचारिक सुरुवात गरिएको थियो। संस्कृति विभागका कलाकारहरूले हिन्दी र नेपाली भाषामा देशभक्तिपूर्ण गीत प्रस्तुत गरेका थिए भने आपतकालसम्बन्धी छोटो डकुमेन्ट्री पनि देखाइएको थियो।
सिक्किम लअ कलेजका डीन डा दिलीप पाण्डेले आपतकालको कानुनी पृष्ठभूमिबारे बोलेका थिए। उनले १२ जुन १९७५ मा इलाहाबाद उच्च अदालतले सुनाएको फैसला र त्यसपछि आपतकाल लागू भएको घटनाक्रमको व्याख्या गरे। यसका साथै, जयप्रकाश नारायणको लोकतन्त्र पुनर्स्थापनाका लागि नेतृत्वदायी भूमिका रहेको उनले उल्लेख गरे।
कार्यक्रममा विधानसभा अध्यक्ष मिङमा नोर्बु शेर्पा, उपाध्यक्ष राजकुमारी थापा, मन्त्रिपरिषद्का सदस्यहरू, विधायक तथा सल्लाहकारहरू, प्रमुख सचिव, पुलिस महानिर्देशक, जिल्ला अध्यक्ष तथा उपाध्यक्षहरू, ग्राम पञ्चायत सदस्य, नगर काउन्सिलर, राजनीतिक सचिवहरू, पूर्व विधायकहरू, विभागीय प्रमुख तथा वरिष्ठ सरकारी अधिकारीहरू उपस्थिति थिए।
मुख्य कार्यक्रममा सुरु हुनअघि बिहान संविधान हत्या दिवसको अवसरमा मुख्यमन्त्री प्रेमसिंह तमाङको नेतृत्वमा गान्तोकको एमजी मार्गमा र्याली निकालिएको थियो। उक्त र्यालीमा सिक्किम विधानसभाका अध्यक्ष र उपाध्यक्ष, मन्त्रिपरिषद्का सदस्यहरू, विधायकहरू, सरकारी अधिकारीहरू तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो। र्याली अन्ततः मानन केन्द्रमा पुगेर सम्पन्न भएको थियो।