गान्तोक, ३१ अगस्ट: सिक्किमकी साहित्यकार सुधा एम राईलाई असमको प्रतिष्ठित नीलिमकुमार राष्ट्रिय पुरस्कार २०२५ का लागि चयन गरिएको छ। सिक्किम सरकारको शिक्षा विभागको भाषा सङ्कायमा अधिकारीको रूपमा कार्यरत साहित्यकार राईलाई यो पुरस्कार काव्यध्वनि असमद्वारा प्रदान गर्ने भएको हो। काव्यध्वनि असमले स्थापित गरेको यो पुरस्कार प्रत्येक वर्ष साहित्य, संस्कृति र कविता क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने व्यक्तित्वलाई प्रदान गरिन्छ।
साहित्यकार सुधा एम राईले लामो समयदेखि सिक्किमबाट नेपाली साहित्यमा कविता, कथा र अनुवादको क्षेत्रमा कलम चलाउँदै आएकी छन्। उनले नयाँ दिल्लीस्थित साहित्य अकादमीको नेपाली भाषा समितिमा सदस्यका रूपमा पनि सेवा गरिसकेकी छन्। उनको अहिलेसम्म आठवटा कृति प्रकाशित छ, जसमा चार कविता सङ्ग्रह, एउटा कथा सङ्ग्रह र तीनवटा अनुवाद कृतिहरू समावेश छन्।
साहित्यकार सुधा एम राई अहिलेसम्म स्रष्टा पुरस्कार (सिक्किम), भाइचन्द प्रधान स्मृति पुरस्कार (कालेबुङ, पश्चिम बङ्गाल), कमला आँसु स्मृति पुरस्कार (सिक्किम), डा शोभाकान्ति थेगिम (लेप्चा) स्मृति पुरस्कार (सिक्किम) र कृष्ण भूषण बाल स्मृति सृजना सम्मान (विराटनगर, नेपाल) लगायत अन्य पुरस्कार र सम्मानहरूले सम्मानित भइसकेकी छन्।
उनका लेखनकृतिहरू अङ्ग्रेजी, हिन्दी र जर्मन भाषामा पनि अनुवाद भएका छन्। उनी निरन्तर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कविता समारोहहरूमा सहभागी हुँदै आएकी छन्।
काव्यध्वनि असमका सचिव लाखी फिलबरीले बताएअनुसार, यो पुरस्कार राईको साहित्य समृद्धि र सांस्कृतिक चेतना प्रवर्द्धनमा महत्वपूर्ण भूमिकाको कदर गर्दै प्रदान गरिएको हो। आगामी नोभेम्बर महिनामा एक भव्य कार्यक्रमबीच पुरस्कार प्रदान गरिने बताइएको छ।